बागमती प्रदेशमा यस वर्ष धान उत्पादन घटेको छ। गत बर्षको तुलनामा बागमती प्रदेशमा यस वर्ष झण्डै एक लाख मेक्ट्रिकटन धान उत्पादन घटेको हो।
यस बर्ष बागमती प्रदेशमा ४ लाख २३ हजार ५ सय ८५ मेक्ट्रिकटन मात्रै धान उत्पादन भएको प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ।
गत वर्ष बागमतीमा उत्पादन १.४५ प्रतिशतले घटेर ५ लाख ४ सय ४६ मेट्रिकटन धान फलेको थियो। हरेक वर्षका तथ्यांक हेर्दा बागमतीमा धान उत्पादनमा निरन्तर ह्रास आएको देखिन्छ।
यस बर्ष बागमती प्रदेशका १३ जिल्लामा गरेर कुल १ लाख ५ हजार १ सय ७४ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको थियो।
चितवनमा २० हजार ८१२ हेक्टर क्षेत्रफलमा रोपाइँ भएकोमा ८१ हजार १६६ मेक्ट्रिकटन धान उत्पादन भएको कृषि मन्त्रालय बागमती प्रदेशका सूचना अधिकृत अनुप अधिकारीले जानकारी दिए।
चितवन प्रदेशकै सबैभन्दा धेरै धान उत्पादन हुने जिल्ला हो। यस्तै सबैभन्दा कम धान उत्पादन रसुवामा भएको छ। रसुवामा ३ हजार ६२ मेक्ट्रिकटन धान उत्पादन भएको छ।
सिन्धुपाल्चोकमा २४ हजार ९ सय ९५ मेक्ट्रिकटन, काठमाण्डौंमा ३५ हजार ७ सय ९३ मेक्ट्रिकटन, भक्तपुरमा २२ हजार ३ सय ५१ मेक्ट्रिकटन, ललितपुरमा २५ हजार २० मेक्ट्रिकटन धान उत्पादन भएको कृषि मन्त्रालयका सूचना अधिकृत अधिकारीले जानकारी दिए।
त्यसैगरी काभ्रेपलाञ्चोकमा ३३ हजार ४ सय ९९ मेक्ट्रिकटन, रामेछापमा २४ हजार ३ सय ७७ मेक्ट्रिकटन, सिन्धुलीमा ३३ हजार १ सय ८८ मेक्ट्रिकटन र मकवानपुरमा ३९ हजार ३ सय ६१ मेक्ट्रिकटन धान उत्पादन भएको छ।
बागमती प्रदेशमा पछिल्ला केही वर्ष यता धान उत्पादन क्रमिक रूपमा घट्दै गएको छ। कृषि पेसाप्रति किसानको घट्दो आकर्षण र सरकारले किसानलाई खेतीमा प्रोत्साहन गर्ने कुनै पनि योजना नबनाउँदा धान उत्पादन घट्दै गएको देखिन्छ।
Shares

प्रतिक्रिया