नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले आगामी भदौमा हुने नाडा अटो शो उद्घाटन गरिदिन उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेललाई निम्तो दिएको छ।
यही १ गते अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले अर्थमन्त्री पौडेलसँग भेट गरी निम्तो दिएको हो।
नाडा अटो शो आगामी भदौ ३ देखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डप परिसरमा आयोजना हुँदै छ। यो १७औं संस्करणको नाडा अटो शो हो।
नाडाले पौडेललाई प्रमुख अतिथिको रुपमा उद्घाटन गरी दिन औपचारिक रुपमा आग्रह गरेको जनाएको छ।
उक्त भेटघाट तथा छलफलमा अध्यक्ष चौधरीले धेरै समयको अन्तरालपछि नेपालको अटोमोवाइल क्षेत्र लगायत समग्र निजी क्षेत्रमैत्री बजेट आएको बताए।
सोही छलफलको क्रममा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले नेपालमा पहिलो पटक सिमरामा सवारी साधन मेनुफेक्चरिङ्ग उद्योग खोल्ने तयारी भईरहेकोले त्यस्ता उद्योगलाई टेवा पुग्ने नीति आउनुपर्ने बताए। उनले यस्ता मेनुफेक्चरिङ्ग उद्योगलाई थप सुविधा उपलब्ध गराउनुपर्ने र नीतिमा स्थिरता ल्याउनका लागि आग्रह गरे।
छलफलको अन्त्यमा अर्थमन्त्री पौडेलले नाडाको राखेको उक्त आग्रहलाई सहर्ष स्वीकार गर्दै नेपालका अटोमोवाइल व्यवसायीहरुले धेरैभन्दा धेरै राजस्व उपलब्ध गराएर सरकारलाई सहयोग गर्नुपर्ने बताए।
उक्त छलफलमा नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेती, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल तथा एशोसिएशन सचिव सुरेन्द्र प्रधान समेतको उपस्थिति थियो।
Shares

प्रतिक्रिया