कारोबार


चीनमा उत्पादन हुने सबै गाडीको एलसी चिनियाँ युआनमै खोल्न दिन राष्ट्र बैंकसँग नाइमाको माग

चीनमा उत्पादन हुने सबै गाडीको एलसी चिनियाँ युआनमै खोल्न दिन राष्ट्र बैंकसँग नाइमाको माग

नेपालखबर
जेठ २३, २०८२ शुक्रबार १२:२२, काठमाडौँ

नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले चीनमा उत्पादन हुने सबै गाडीको लागि चिनियाँ युआनमा नै एलसी खोल्ने अनुमति दिन माग गरेको छ। 

अहिले नेपाल राष्ट्र बैंकले चिनियाँ कम्पनीहरुलाई मात्रै युआन (चिनियाँ मुद्रा) मा एलसी खोल्ने दिइरहेको छ। त्यसलाई सच्याउँदै अरु देशका कम्पनीले चीनमा उत्पादन गरेका गाडीमा पनि चिनियाँ मुद्रामै एलसी खोल्न पाउने व्यवस्था गर्न नाइमाले माग गरेको हो। 

नाइमाले नवनियुक्त गभर्नर विश्व पौडेलसँगको भेटमा आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा समेट्नुपर्ने विषयबारे सुझाव दिएको हो। 

हाल राष्ट्र बैंकको नियमअनुसार चिनियाँ उत्पादनका सवारी साधनका लागि चीनमा अवस्थित चिनियाँ कम्पनीहरूलाई मात्र चिनियाँ युआनमा एलसी खोल्न आयातकर्तालाई अनुमति छ। तर, यदि लाभग्राही कम्पनी चिनियाँ नभएमा युआनमा एलसी खोल्न पाइँदैन। 

‘वर्तमान विश्वव्यापी आर्थिक संरचनामा धेरै कम्पनीहरू त्रिपक्षीय सहमतिअन्तर्गत सञ्चालन हुन्छन्, जहाँ उत्पादक, ढुवानीकर्ता र लाभग्राही फरक–फरक देशका हुन सक्छन्’, नाइमाको सुझाव छ, ‘चीनमै उत्पादन भई चीनबाट नै ढुवानी हुने अवस्थामा लाभग्राही कम्पनी जुनसुकै देशको भए पनि आयातकर्तालाई चिनियाँ युआनमा एलसी खोल्न अनुमति दिन अनुरोध गर्छौँ।’

त्यसैगरी नाइमाले आगामी वर्षको मौद्रिक नीतिमा कर्जा अनुपात व्यवस्थालाई अन्तर्राष्ट्रिय मापदण्ड, सवारीको प्रकृति र बजारको मागअनुसार पुनरवलोकन गर्न पनि आग्रह गरेको छ। 

नाइमाले सबै प्रकारका सवारीका लागि ८०–२०  कर्जा अनुपात कायम गर्न नियामकसँग अनुरोध गरेको छ। कर्जाका लागि जोखिम भारित सम्पत्तिको दर अहिलेको १००  बाट ७५  मा घटाउन पनि सुझाव दिइएको छ। 

सवारीसाधनको मूल्य टिकाउ र पुनर्बिक्री सम्भावना राम्रो भएकाले यो परिवर्तनले कर्जा सजिलै उपलब्ध गराउन मद्दत गर्ने र यसले बजारलाई बढावा दिने तथा वित्तीय सुरक्षा पनि कायम राख्ने नाइमाले उल्लेख गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad