ad ad

कारोबार


पहिलो ईभी एक्स्पो सुरु, मुख्य आकर्षणमा टेस्लादेखि हुन्डाईसम्मका कार

पहिलो ईभी एक्स्पो सुरु, मुख्य आकर्षणमा टेस्लादेखि हुन्डाईसम्मका कार

नेपालखबर
असोज ६, २०७९ बिहिबार १७:४१, काठमाडौँ

नेपालको इतिहासमै पहिलोपटक नाडा ईभी एक्स्पो सुरु भएको छ।  

बिहीबार काठमाडौंको भृकुटीमण्डपमा ४ दिने नाडा ईभी एक्स्पो सुरु भएको हो। 

नाडा अटोमोबाइल्स एसोसिएसन नेपालको आयोजनामा भइरहेको अर्थमन्त्री जनार्दन शर्माले पहिलो नाडा ईभी एक्स्पोको शुभारम्भ गरेका छन्। 

‘नेपालमा पहिलोपटक भृकुटीमण्डपमा सुरुवात भएको छ’, नाडा अध्यक्ष ध्रुव थापाले भने, ‘नेपालमा विद्युतीय सवारीसाधनको अपरिहार्यतालाई महशुस गर्दै नाडा ईभी एक्स्पो शुभारम्भ भएको हो।’

कोभिड महामारीको कारण २०२० र २०२१ मा वर्षेनी गर्दै आएको नाडा अटो शो हुनसकेको थिएन। २०२२ मा नाडाले अटो शोको तयारी गरे पनि सरकारले गाडी आयात प्रतिबन्ध गरेसँगै ईभी एक्स्पो हुनलागेको हो।

नेपालमा विद्युतीय सवारीसाधनको महत्व बढ्दै गएको बताउँदै अध्यक्ष थापाले प्रदूषण कम गर्ने मात्र नभई विद्युत् खपतमा सहयोग पुग्ने बताए। 

वातावरणमैत्री विद्युतीय सवारीसाधनको प्रयोगले पेट्रोलियम पदार्थको खपत कम गर्ने भएकाले ग्रिन नेपालको अवधारणा साकार हुने नाडाको ठहर छ। 

सरकारले विद्युतीय सवारीसाधन प्रवर्द्धन गर्ने बताइरहँदा १०० किलोवाट माथिका गाडीमा कर बढाउनु उपयुक्त नभएको थापाले बताएका थिए। 

‘सरकारले १०० किलोवाट माथिका गाडीमा कर बढाउँदा प्रोत्साहनको सट्टा निरुत्साहन भएको छ’, अध्यक्ष थापाले अर्थमन्त्रीलाई इंगित गर्दै भने, ‘नेपालको भौगोलिक अवस्थाअनुसार २०० किलोवाट क्षमतासम्मका गाडीलाई पुरानै व्यवस्थाअनुसार कर कायम गरिदिन अनुरोध गर्दछु।’

सरकारले नेपालमै गाडी एसेम्बलिङ गर्न आग्रह गरे पनि त्यसको लागि स्थिर नीति आवश्यक रहेको नाडाले उल्लेख गरेको छ। अध्यक्ष थापाले सरकारले स्थिर नीति लिए व्यवसायी पार्टपुर्जाको उद्योग खोल्न समेत तयार रहेको बताए। 

नाडाले १९९८ देखि नै नाडा अटो शो गर्दै आएको छ। ईभी एक्स्पो पहिलो पटक हुनलागेको छ। ईभी एक्स्पोका सभापति अनुप बरालले एक्स्पोमा ५१ वटा स्टल रहेको जानकारी दिए। 

उनका अनुसार नाडा अटो शोमा ९ वटा ४ पांग्रे र १ वटा ३ पांग्रे रहेका छन्। १६ वटा २ पांग्रे सवारीका स्टल रहेका छन्। 

गाडी ब्रान्डमा टाटा, हुन्डाई, टेस्ला, नेटा, बीवाईडी, चांगन, ज्यागका चारपांग्रे विद्युतीय गाडीको सहभागिता छ। अग्नी ग्रुपले ३ पांग्रे टेरो ब्रान्ड सहभागिता हुनेछ।

दुईपांग्रे ब्रान्ड रहेका छन्। जसमा लेभ्निङ, एनआईयु, यडिया, ओला, सुपर सोको, हिरो इलेक्ट्रिक, दुहान, जोय, सेगवे, आईमा, टेलजी, पियोर, लेक्ट्रो, रेमोटर्स लगायतका ब्रान्डको उपस्थिति छ। 

नाडा ईभी एक्स्पो सञ्चालन अनुप बरालले नेपालको इतिहासमा पहिलो पटक नाडा अटो शो रहेको छ। आर्थिक चुनौतीकोबीचमा ईभी एक्स्पो  सुरू भएको छ

अर्थमन्त्री जनार्दन शर्माले ईभी एक्स्पो नाडाको मात्रै नभई देशकै भएको बताए। मन्त्री शर्माले नेपालमा विद्युतीय गाडी प्रवर्द्धन गर्ने सरकारको नीतिबाट पछि नहट्ने बताएका छन्। 

‘विद्युतीय गाडीलाई प्रवद्र्धन गर्दै आएका छौँ। त्यसबाट पछि हट्दैनौँ’, मन्त्री शर्माले भने, ‘अब कोइला, डिजेल, पेट्रोलको युग सकियो अब ईभी, हाइड्रोजनतर्फ गइरहेका छौँ।’

अर्थमन्त्री शर्माले सरकारले निश्चित अवधिपछि विद्युतीय सवारी चल्ने मात्रै व्यवस्था गर्न लागेको बताएका छन्। पेट्रोलियम पदार्थबाट चल्ने सवारी कहिले रोक्ने भन्ने विषयमा अध्ययन गरिरहेको जानकारी दिए। 

‘गाडी उत्पादन यहीँ गर्नुहोस्, विद्युत् र ब्याजमा थप सहुलियत दिनुपर्छ’, उनले भने, ‘एसेम्बल उद्योगमा भ्यालु एड कसरी गर्न सकिन्छ। त्यसमा ध्यान दिनुस्।’

उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारको सहुलियतका कारण ३०–३५ लाखमै गाडी पाउने अवस्था रहेको बताए। 

अध्यक्ष गोल्छाले सरकारको नीति स्थिर रहनुपर्ने बताउँदै अन्तःशुल्क र भन्सार महशुल बढाउन नहुने उल्लेख गरे। वातावरण संरक्षण गर्नको लागि विद्युतीय गाडीलाई प्रोत्साहन गर्नुपर्ने उनको भनाइ छ। 

नाडा अध्यक्ष थापाले सरकारले गाडी आयातमा प्रतिबन्ध लगाउँदा ९ महिनादेखि अटो व्यवसायी मारमा परेको जानकारी गराए। 

कार, जिप, भ्यान र १५० सीसीमाथिका मोटरसाइकल आयात खुल्ला गर्न अर्थमन्त्रीसँग माग गरेका थिए। 

अर्थमन्त्री शर्माले सवारी प्रतिबन्ध लामो समय नरहने बताए। उनले अर्थतन्त्र सुधारतर्फ गइरहेको बताउँदै निर्यात वृद्धि गरी आयात खोल्नुपर्ने उल्लेख गरे। 

चापको व्यवस्थापनको लागि नाडाले खल्ती एपमार्फत टिकट काट्न सकिने व्यवस्था गरेको छ। एक्स्पोमा प्रवेशको लागि विद्यार्थीलाई १५० रुपैयाँ र सर्वसाधारणको लागि २ सय रूपैयाँ व्यवस्था गरेको छ। 

सिएटद्वारा प्रायोजित नाडा साधन, पार्ट पूर्जा, वित्तिय सेवा उपलब्ध छन्। एक्स्पोको व्यवस्थापन ग्लोबल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेजले गरिरहेको छ।

नाडाले विद्युतीय गाडीले नेपालमा १० प्रतिशत बजार हिस्सा ओगटिसकेको जनाएको छ। अबको ५–६ वर्षमा ५० प्रतिशत बढी हिस्सा हुने आकलन गरिएको छ। 

अध्यक्ष थापाले अटो व्यवसाय पारदर्शी रहेको बताए। अटो मोबाइल क्षेत्रले प्रत्यक्ष रोजगारीमा १ लाख र अप्रत्यक्ष रोजगारीमा झण्डै १० लाख दिएको नाडाले जनाएको छ। 

अघिल्लो वर्ष ९९ अर्ब रुपैयाँबराबरको सवारीसाधन आयात हुँदा ९० अर्ब बढीको राजस्व सरकारलाई बुझाएको अध्यक्ष थापाले बताए। 

आयात बराबर राजस्व बुझाउनेमा अटो मोबाइल्स क्षेत्र मात्रै रहेको उनको भनाइ छ। 

३ दिने ईभी चौतारी
नेपाली चाड–पर्वहरुको पूर्वार्धमा आयोजना हुन गइरहेको यस एक्स्पोले नेपालमा विद्युतीय सवारी साधनबारे अत्याधिक जनचेतना अभिवृद्धि गर्न एवं सम्बन्धित सम्पर्ण अटो व्यवसायीहरुको समष्टिगत प्रवर्द्धनमा प्रत्यक्ष तथा सकारात्मक प्रभाव पार्ने नाडाको जनाएको छ। 

नाडाले विद्युतीय गाडीको एक्स्पो मात्रै नभई विद्युतीय गाडीको जानकारी दिन ३ दिन ईभी चौतारी आयोजना गर्दै छ। शुक्रबारको गोष्ठीमा प्रविधि र ईको सिस्टमको विषयमा छलफल हुँदै छ। 

जसमा वन तथा वातावरण सचिव प्रेम नारायण कडेल रहनेछन् भने यातायात व्यवस्था विभागका रामचन्द्र पौडेल, अनुसन्धान कर्ता शिर्पा श्रेष्ठ, अभियान्त्रिकी कर्मशालाका सीईओ अभिशेक कार्की, सिप्रदीका दिनेश पौडेल र नेपाल विद्युत् प्राधिकरणका सागर ज्ञवाली प्यानलिस्ट रहेका छन्। 

यूएसएड क्लिन एयरको सहयोगमा भइरहेको ईभी चौतारीमा भूषण तुलाधरले मोडरेट रहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .