ad ad

कारोबार


चिनियाँ राष्ट्रपतिको भ्रमण प्रभावः गुणस्तरीय पर्यटक नेपाल आउने

चिनियाँ राष्ट्रपतिको भ्रमण प्रभावः गुणस्तरीय पर्यटक नेपाल आउने

दीपक भट्ट
असोज २६, २०७६ आइतबार १३:२,

भुटानमा पर्यटकले प्रति दिन गर्ने खर्च २ सय डलर पुगिसक्दा नेपालमा आउने पर्यटकले गर्ने खर्च जम्मा ५४ डलर मात्रै रहेको छ। पर्यटन विभागले गत वर्षको पर्यटकहरुको आगमनलाई आधार मानेर तयार पारेको तथ्यांक अनुसार नेपालमा पर्यटकको बसाई सरदर १२ दशमलव ६ दिन रहेको र प्रति पर्यटकले एक दिनमा ५४ अमेरीकी डलर खर्च गरिरहेका छन्।

नेपालमा भ्रमण वर्ष २०२० मनाउने र २० लाख पर्यटक आगमन गराउने लक्ष्यसमेत प्रस्तुत भैरहेको छ। तर पर्यटन व्यवसायीहरुले भने गुणस्तरीय पर्यटक नभएकोमा गुनासो गर्दै आएका छन्। आएका पर्यटक खर्च गर्न नसक्ने खालका रहेको उनीहरुको भनाई छ। तर चीनका राष्ट्रपति सी चिनफिङले नेपालको भ्रमण गरे पछि चिनियाँ पर्यटक लगायत अन्य देशका पनि पर्यटकको आगमन बढ्ने र चीनको भने उच्च लेवलको पर्यटकको आगमन हुने विश्वास बढेको होटल एसोसिएसन अफ नेपालका उपाध्यक्ष विनय शाह बताउँछन्। उनी भन्छन् , ‘चिनियाँ राष्ट्रपतिको भ्रमणले नेपाल आउने पर्यटकको फ्लो बढाउन एकदमै ठूलो भूमिका खेल्छ, गुणस्तरीय पर्यटकको आगमन पनि हुन्छ, तर त्यसलाई 'मेन्टेन' गर्ने चाहिँ कसरी हो भन्ने कुरा महत्वपूर्ण रहेको छ।’

होटल व्यवसायको विस्तार राम्रो भए पनि अरु व्यवस्थापन भने पर्यटन क्षेत्र सुहाउँदो नभएको व्यवसयाीहरुको भनाई छ। शाह भन्छन्, ‘नेपालमा रहेको ट्राफिक अवस्थादेखि अन्य भौतिक पूर्वाधारहरुको समस्याको कारण नेपालमा गुणस्तरीय अर्थात खर्च गर्नसक्ने पर्यटकहरुको आगमन कम भएको हो। चिनियाँ पर्यटकहरुलाई नै हेर्ने हो भने खर्च गर्ने खालका पर्यटकहरु थाइल्याण्ड लगायत अन्य देश गैरहेका छन्। राष्ट्रपतिको भ्रमण पछि तिनीहरुको प्राथमिकता नेपाल हुन्छ नै तर नेपालमा आएका उच्च क्लासका पर्यटकलाई हामीले टिकाउन सक्छौँ कि सक्दैनौँ भन्ने कुरा महत्वपूर्ण हुन्छ।’

यसैगरी पाँच तारे होटल म्यारियटका सञ्चालक शशिकान्त अग्रवालका अनुसार चिनियाँ पर्यटकहरुको प्रभाव विशवमा नै देखिन थालेको छ। नेपाल चीनको छिमेकी देश पर्यटकको सम्भावना भएको मुलुक पनि हो। तर हामीले चाहे जसरी चिनियाँ पर्यटकहरु आएका छैनन्। राष्ट्रपतिको आगमनको प्रभाव अब देखिने छ, तर त्यसलाई सरकारले पनि प्राथमिकतामा राखेर पर्यटन मैत्री वातावरण निर्माण गरिदिन जरुरी रहेको उनी बताउँछन्।

चालू अंग्रेजी वर्षको हालसम्ममा मात्रै चिनियाँ पर्यटकको आगमन एक लाख भन्दा बढी भैसकेको पर्यटन विभागको तथ्यांक छ। सन् २०१८ मा भने नेपालमा कुल पर्यटकको आगमन १२ लाख रहेको थियो जसमा चीनबाट एक लाख ३४ हजार ३६२ पर्यटक नेपाल आएको तथ्यांक छ।

चिनियाँ पर्यटकको संख्या बढाउने हो भने कनेक्टिभिटिमा जोड गर्नु पर्ने होटल एशोसिएसन अफ नेपाल (हान) का उपाध्यक्ष शाहको भनाई छ। उनका अनुसार चिनियाँसँग रहेको एयर कनेक्टिभिटि पनि राम्रो छैन, साना जहाजहरु आउँछन्। चाहे जसरी टिकट पाउन नै मुस्किल रहको छ। त्यस्तै भू–संजालको अवस्था त अत्यन्तै कमजोर रहेको छ। त्यसमा सरकारले जोड गरे चिनियाँ पर्यटकहरुको आगमन आगामी दिनमा उच्च रहने उनको भनाई छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .