कारोबार


भारतबाट यात्रु ओसार्दै पर्यटन परमिटका बस

भारतबाट यात्रु ओसार्दै पर्यटन परमिटका बस

नेपालखबर
असोज १५, २०७६ बुधबार १५:२१,

पर्यटन परमिटको अनुमति पाएका नेपाली बसले भारतबाट दशैँ मनाउन घर फर्किने नेपाली यात्रु ओसार्न थालेका छन्। घर फर्किने नेपालीको सुविधाका लागि पर्यटन इजाजतका बसलाई समेत आगामी कात्तिक १५ गतेसम्मका लागि नेपालगञ्ज नाकाबाट भारतका शहरमा आउन जान रोक नलगाइएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए।

उनका अनुसार नेपाल–भारत मैत्री बसलाई मात्रै नेपालगञ्ज नाकाबाट भारततर्फ जान अनुमति भए पनि चाडपर्वलाई मध्यनजर गर्दै एक महीनाका लागि पर्यटन रुट परमिटको इजाजत पाएका बसलाई समेत अनुमति दिइएको हो।

प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय बुटवलको अनुरोधमा विगतमा लगाइएको रोक एक महीनाका लागि खुला गरिएको उनको भनाइ छ। पर्यटन रुट परमिटका बसले अवैधरूपमा यात्रु ओसार्न थालेपछि नेपालगञ्जका होटल तथा यातायात व्यवसायीले भने त्यसको विरोध गर्दै आएका छन्।

पर्यटकीय इजाजत लिएर भारतका विभिन्न शहरमा अवैधरूपमा यात्रु ओसारपसार गर्ने नेपाली बसलाई रोक्नका लागि सरोकारवाला निकायलाई पटकपटक अनुरोध गरेपछि रोकिए पनि अहिले फेरि चाडपर्वको नाममा चल्न दिनु दुःखद् भएको होटल व्यवसायी संघ बाँकेका अध्यक्ष भीम कँडेलले बताए। ‘पर्यटकका नाममा यात्रु ओसार्न पाइँदैन’, अध्यक्ष कँडेलले भने, ‘यी गाडी नेपालगञ्जमा रोक्दै नरोकी सिधै गन्तव्यमा जानाले यहाँका सबै व्यवसायीलाई मर्का परेको छ।’

पर्यटन सुविधाको इजाजत लिएर यात्रुवाहक बस सञ्चालन गरिँदा यातायात व्यवसायीका लागि मात्रै नभई सिङ्गो नेपालगञ्ज शहर प्रभावित भएको नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले बताए।

भेरी यातायात प्रालिका अध्यक्ष राजेन्द्र गिरीले अवैधरूपमा सञ्चालन हुने यात्रुवाहक बसका कारण वैधानिकरूपमा सरकारको अनुमति लिएर सञ्चालन हुने नेपाल–भारत मैत्री बसलाई समेत समस्या हुने गरेको बताए। उनले यो समस्या होटल व्यवसायीको एकछाक खाना एक रात बासको मात्र नभई समग्र व्यवसायसँग जोडिएको बताए।

यात्रु नेपालगञ्जमा होटलमा खाना खाने बास बस्नेदेखि अटो चढ्नेसम्मका सुविधाबाट वञ्चित भएको उनको भनाइ छ। नेपालगञ्ज बजार सुनसान हुँदै जाँदा यो अवैध कार्यले ठूलो नोक्सान पु¥याएको व्यवसायीको बुझाइ छ। व्यवसायीले प्रहरी प्रशासनको मिलेमतोमा अवैध कार्य भइरहेको भन्दै यसको विरोधमा सडकमै उत्रिने तयारी गरेको बताएका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad