कारोबार


बराह ज्वेलरीः ६० हजारमा धरानमा जन्मेको व्यवसायको लोभलाग्दो छलाङ

बराह ज्वेलरीः ६० हजारमा धरानमा जन्मेको व्यवसायको लोभलाग्दो छलाङ

नेपालखबर
असोज ११, २०७६ शनिबार १०:२३,

बराह ज्वेलरी इन्डष्ट्रिज सुनचाँदी व्यवसायको क्षेत्रमा नेपालको एउटा चर्चित नाम हो। २४ वर्षअघि इन्द्रकुमार लामिछाने विश्वकर्माले पूर्वेली सहर धरानमा सानो पसलबाट सुरु गरेको बराह ज्वेलरी इन्डष्ट्रिज अब ग्रुप अफ कम्पनी बन्दैछ।

३८ वर्षसम्म अरुले दिएको जागिर गरेपछि इन्द्रकुमारमा आफैँ केही गर्ने सोच पलायो। अन्ततः ६० हजार रुपैयाँ लगानीमा धरानमा बराह ज्वेलरी इन्डष्ट्रिज खुल्यो। यो वि.सं. २०५२ सालको कुरा थियो। तर अहिले इन्द्रकुमारले संसार छाडिसकेका छन् भने उनको व्यवसाय भाइ, छोरा तथा भतिजहरुले सम्हालेका छन्।

एउटा सानो सुन पसलबाट सुरु भएको यो व्यवसाय हाल ग्रुप अफ कम्पनी बन्दै छ। २५ वर्ष प्रवेशको अवसरमा बराह ज्वेलरी इन्डष्ट्रिज प्रालिलाई बराह ग्रुप अफ कम्पनीका रुपमा अगाडि बढाउने निर्णयमा सञ्चालकहरु पुगेका छन्। यो ग्रुपमा २५ भन्दा बढी कम्पनीहरु जोडिएका छन्। बराह ग्रुपको अध्यक्षका रुपमा कम्पनीको नेतृत्व संस्थापक स्वर्गीय इन्द्रकुमारका छोरा शिवकुमार लामिछानेले गरिरहेका छन्।

बुबाको योजनाअनुसार नै व्यवसाय अघि बढाइरहेको शिवकुमार बताउँछन्। २५औँ वार्षिकोत्सवको अवसरका असोज १३ गते सोमबार धरानमा विशेष कार्यक्रम गरी बराहलाई ग्रुप अफ कम्पनी बनाइने अध्यक्ष शिवकुमारले बताए।

barah2

इन्द्रकुमारका भाइ मानबहादुर विश्वकर्मा हुन्। इन्द्रबहादुरले व्यवसाय सुरु गरेदेखिनै साथमा रहेर काम गरिरहेका उनी पनि संस्थापक नै हुन्।

०५२ भदौ ५ मा पारिवारिक व्यवसायका रुपमा सुरु भएको सुन–चाँदी पसल ०६४ मा प्रालिमा दर्ता भयो। ०६० सालदेखि नै नुनदेखि सुनसम्मको व्यवसाय गर्ने अभियान कम्पनीले सुरु गरेको मानबहादुर बताउँछन्। त्यसै योजनाअनुसार धरानमा कम्पनीले बराह सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ सुरु गरेको थियो। त्यस्तै काठमाडौंमा ०६० सालमा नै भेडासिं र न्युरोडको पिपलबोटमा व्यवसाय सुरु गरेको थियो। २०६५ बाट न्युरोडमा केन्द्रीय कार्यालय, आफ्नै भवनमा राखि व्यवसाय अघि बढाइरहेको छ।

काठमाडौंमा सञ्चालित अभिमत सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ पनि बराह अन्तर्गत नै सञ्चालित छ। त्यस्तै २०६७ मा पोखरामा विस्तार गरिएको बराह ज्वेलरीको शाखा कार्यालयलाई पछि गोर्खा एण्ड बराह ज्वेलरी कम्पनीको रुपमा विकास गरिएको हो।

चितवनको नारायणघाटमा भने कम्पनीले नारायणी बराह ज्वेलरीको नामबाट सेवा दिइरहेको छ। कम्पनीले अहिले सुनचाँदी बाहेक आफ्नो व्यवसायलाई फराकिलो बनाउँदै लगेको छ। धरानको भानुचोकमा बराह सपिङ कम्प्लेक्स छ। त्यहाँबाट गरगहनादेखि कपडा तथा जुत्ता–चप्पल, खाद्य वस्तु र सजावटका सामाग्री समेत बिक्रि हुँदै आएको छ।

Shivkumar2

‘नुनदेखि सुनसम्म’ भन्ने आफ्नो नारा सार्थक बनाउन कम्पनीले व्यवसायको दायरा फराकिलो पार्दै लगेको हो। कम्पनीले इन्द्रबराह ट्राभल एण्ड टुर्स पनि खोलेको छ। माइक्रो, हायस, रात्रिबस समेत सञ्चालनमा ल्याएर कम्पनीले यातायातको क्षेत्रमा सेवा दिँदै आएको छ।

टाइम्स रेमिट कम्पनी स्थापना गरि रेमिट्यान्सको क्षेत्रमा काम गरिरहेको छ भने अन्य रेमिट्यान्स कम्पनीको एजेन्टका रुपमा पनि काम गरिरहेको छ। त्यस्तै भेडेटारमा रेस्टुरेन्टमा पनि लगानी गरेको छ। बराह समूहले पशुपालन तथा कृषि उपज प्रालि नामको कम्पनी स्थापना गरि कृषि क्षेत्रमा पनि काम गर्दै आएको छ। गत वैशाखबाट मोरङको ग्रामथानमा कृषि फार्म स्थापना गरि ८० वटा गाई, माछा, कुखुरा र बंगुरपालन सुरु भएको छ।

बराह समूहले व्यवसाय विस्तार गरेसँगै ६ सय ५० भन्दा बढीले प्रत्यक्ष र करिब तीन हजारले अप्रत्यक्ष रुपमा रोजगारी पाएको शिवकुमार बताउँछन्।

barah4

पाटनमा उत्पादन उद्योग
बराह समूहले ललितपुरको पाटन औद्योगिक क्षेत्रमा उत्पादन उद्योग स्थापना गरेको छ।

शिवकुमार भन्छन्, ‘अहिले जति स्थानबाट हामी आफ्नो सेवा दिइरहेका छौं, त्यो सबै उत्पादन पाटनबाट भइरहेको छ।’

आफ्नै उद्योगमा सुनचाँदीका गरगहना बनाएर व्यवसाय अझै विस्तार गर्ने योजना रहेको उनको भनाइ छ। त्यहाँ तीन सय जना कालिगढलाई रोजगारी दिने क्षमता रहेको छ।

Shivkumar3

इन्द्रकुमारको परिकल्पना सार्थक तुल्याउँदै शिवकुमार 
बराह ब्रान्डका रुपमा उद्यमशीलता विकासको परिकल्पनाकार संस्थापक उनै इन्द्रकुमार हुन्। जसलाई आज उनीपछिको पुस्ताले साकार बनाउँदै लगेको छ। छोराहरु इन्द्रकुमारलाई नै आफ्नो व्यवसायको मियो ठान्छन्।

३८ वर्षसम्म भौँतारिएका इन्द्रकुमारले भारतका विभिन्न स्थानमा पुगेर काम गरेका थिए। तर शिवकुमार चाहिँ बुबाको त्यो यात्रालाई अनुभव खोज्ने एउटा अभियान ठान्छन्।

‘उहाँ त्यतिबेला जागिरभन्दा पनि अनुभवको खोजीमा हिँडेजस्तो देखिन्छ’, त्यतिबेला पनि व्यवसाय बुबाको प्राथमिकता रहेको हुनसक्ने अनुमान गर्दै शिवकुमार भन्छन्।

barah1

आफ्नै ग्राहकबाट पूँजी जुटाउँथे इन्द्रकुमार
छोरा शिवकुमारको भनाइमा इन्द्रकुमार चलाख उद्यमी थिए। चाहेको व्यवसाय कुनै पनि हालतमा गरिछाड्ने उनको स्वभाव थियो।

व्यवसाय सुरु गर्दा पूँजीको अभाव सामना गर्नु परे पनि उनी आत्तिएनन्, आफ्नै ग्राहकबाट पूँजी जुटाएर व्यवसाय अघि बढाए। नाफालाई मुनाफामा विकास गर्ने इन्द्रकुमारको व्यावसायिक कुशलता भएकै कारण बराहले यस्तो सफलता हासिल गरेको उनका उत्तराधिकारीहरूको भनाइ छ।

बराह समूह अहिले ठूला करदाता कम्पनीमा आवद्ध छ र, यो समूहले वार्षिक एक करोड बढी कर बुझाउँदै आएको शिवकुमार बताउँछन्।

barah3

यसरी मनाइँदै छ २५ औं वर्षगाँठ
बराह समूहले कम्पनी स्थापना भएको पूर्वेली सहर धरानमा असोज १३ गते सोमबार भव्यरुपमा २५ औं वर्षगाँठ मनाउने तयारी गरेको छ। धरानमा जन्मेको बराहका लागि यो एउटा ठूलो उत्सव हो। यो उत्सवमा कम्पनीले २४ वर्षसम्म गरिएका सबै कामको झलक देखाउने गरी प्रदर्शनीको तयारी गरेको छ।

कम्पनीले एक दिनको यो कार्यक्रम विशेष हुने जनाएको छ।

‘त्यो दिन हामीले आभूषण र गरगहनाको झाँकीसहितको विशेष प्रस्तुतिको तयारी गरेका छौं’, अध्यक्ष शिवकुमार भन्छन्, ‘कार्यक्रममा सर्वसाधारण, सरकारी र कूटनीतिक अधिकारी तथा व्यवसायीहरू सहभागी हुनेछन्।’

त्यस्तै कम्पनीले २५ औं वर्षगाँठको अवसरमा आफ्ना ज्वेलरी आउडलेटहरु– न्यूरोड, पिपलबोट, पोखरा, चितवन, धरानमा विशेष अफर दिने जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad