ad ad

कारोबार


राष्ट्र बैंक भन्छ– मूल्यवृद्धि ७ प्रतिशतले बढ्यो

राष्ट्र बैंक भन्छ– मूल्यवृद्धि ७ प्रतिशतले बढ्यो

नेपालखबर
असोज ७, २०७६ मंगलबार १२:४३,

चालू आर्थिक वर्षको पहिलो महिनामा वार्षिक विन्दुगत आधारमा उपभोक्ता मुद्रास्फीति ६.९५ प्रतिशत रहेको राष्ट्र बैंकको नयाँ तथ्यांकले देखाएको छ। मुद्रास्फीति हुनु भनेको महँगी बढ्नु हो। मूल्य वृद्धिदरको सूचकाङ्क मानिने मुद्रास्फीति अघिल्लो वर्षको सोही महिनामा ४.१९ प्रतिशत रहेको थियो।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ८.०२ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ६.१२ प्रतिशत रहेको छ। समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मुख्यतः तरकारी, फलफूल, मसला र मासु तथा माछा उपसमूहको मूल्यवृद्धि उच्च रहेको छ।

त्यसैगरी, गैर–खाद्य तथा सेवा समूहअन्तर्गत मुख्यतः घरायसी उपयोगिताका वस्तु तथा सेवा, लुगा तथा जुत्ता र शिक्षा उपसमूहको मूल्यवृद्धि उच्च रहेको छ। काठमाडौं उपत्यकामा ८.६३ प्रतिशत, तराईमा ६.४६ प्रतिशत, पहाडमा ५.९२ प्रतिशत र हिमालमा ५.५७ प्रतिशत मुद्रास्फीति रहेको छ। २०७५ साउनमा यी क्षेत्रहरुमा क्रमशः ३.४९ प्रतिशत, ४.१४ प्रतिशत, ५.२६ प्रतिशत र २.७४ प्रतिशत मुद्रास्फीति रहेको थियो।

समीक्षा महिनामा नेपालको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ६.९५ प्रतिशत रहेकोमा भारतमा अगष्ट महिनामा यस्तो मुद्रास्फीति ३.२१ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा नेपालको मुद्रास्फीति ४.१९ प्रतिशत र भारतको ३.६९ प्रतिशत रहेको थियो । साउनमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ७.०२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त मुद्रास्फीति ६.४० प्रतिशत रहेको थियो ।

समीक्षा महिनामा प्राथमिक वस्तु, इन्धन तथा ऊर्जा र उत्पादित वस्तु समूहको थोक मुद्रास्फीति क्रमशः १३.१० प्रतिशत, ६.५९ प्रतिशत र ३.४५ प्रतिशत रहेको छ । समीक्षा महिनामा प्राथमिक खाद्य वस्तु, इन्धन, लत्ताकपडा, यातायात उपकरण तथा पार्ट्स उपसमूहको थोक मूल्य वृद्धि उच्च रहेको छ।

बृहत् आर्थिक वर्गीकरणको आधारमा हेर्दा, समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ११.८३ प्रतिशत, ५.११ प्रतिशत र २.२० प्रतिशत रहेको छ। तलब तथा ज्यालादर सूचकाङ्क २०७६ साउनमा वार्षिक विन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क १३.४४ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही महिनामा उक्त सूचकाङ्क ७.४ प्रतिशतले बढेको थियो। समीक्षा महिनामा तलब सूचकाङ्क १२.४१ प्रतिशत र ज्यालादर सूचकाङ्क १३.७२ प्रतिशतले बढेको छ।

वैदेशिक निर्यात आठ अर्ब नाघ्यो
आर्थिक वर्ष २०७६/७७ को पहिलो महिनामा कुल वस्तु निर्यात २७.७ प्रतिशतले वृद्धि भई ८ अर्ब ४ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ३.२ प्रतिशतले वृद्धि भएको थियो। गन्तव्यका आधारमा भारततर्फ ५१ प्रतिशत र चीनतर्फ १३२.९ प्रतिशतले निर्यात वृद्धि भएको छ भने अन्य मुलुकतर्फको निर्यातमा ९.२ प्रतिशतले कमी आएको छ।

वस्तुगत आधारमा पाम तेल, अलैंची, दन्त मन्जन, जुटका सामान, पोलिष्टर यार्न, लगायतका वस्तुको निर्यात बढेको छ भने जस्ता पाता, जुस, तयारी पोशाक, पश्मिना, ऊनी गलैंचा लगायतका वस्तुहरुको निर्यात घटेको छ। आर्थिक वर्ष २०७६/७७ को पहिलो महिनामा कुल वस्तु आयात ११.५ प्रतिशतले घटेर १ खर्ब ६ अर्ब ७३ करोड कायम भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ५४.३ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ४.५ प्रतिशत र ४१.२ प्रतिशतले घटेको छ भने चीनबाट भएको आयात २४.० प्रतिशतले बढेको छ । वस्तुगत आधारमा हटरोल सिट, कच्चा पाम तेल, तयारी पोशाक, सोलार प्यानल, अन्य मेसिनरी तथा पाटपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने हवाईजहाज तथा पार्टपुर्जा, एम.एस. बिलेट, सुन, पेट्रोलियम पदार्थ, सिमेन्ट लगायतका वस्तुहरुको आयात घटेको छ ।

भन्सार नाकाका आधारमा निर्याततर्फ सुख्खा बन्दरगाह भन्सार कार्यालय, भैरहवा भन्सार कार्यालय, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालय, नेपालगन्ज भन्सार कार्यालय र कृष्णनगर भन्सार कार्यालय बाहेकका मुख्य भन्सार नाकाहरुबाट गरिएको निर्यातमा वृद्धि भएको छ ।

आयाततर्फ भने सुख्खा बन्दरगाह भन्सार कार्यालय, मेची भन्सार कार्यालय, रसुवा भन्सार कार्यालय बाहेकका मुख्य भन्सार नाकाहरुबाट भएको आयातमा ह्रास आएको छ । आर्थिक वर्ष २०७६/७७ को पहिलो महिनामा कुल वस्तु व्यापार घाटा १३.९ प्रतिशतले संकुचन भई ९७ अर्ब ८९ करोड कायम भएको छ । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ८.३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा सो अनुपात ५.७ प्रतिशत रहेको थियो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .