कारोबार


नौ सयले घट्दा पनि सुनको मूल्य तोलाकै ७२ हजार ६ सय रुपैयाँ

नौ सयले घट्दा पनि सुनको मूल्य तोलाकै ७२ हजार ६ सय रुपैयाँ

नेपालखबर
भदौ १०, २०७६ मंगलबार ८:३,

पछिल्लो डेढ महिनादेखि निकै उतारचढावका बीच कारोबार हुँदै आएको सुनको मूल्य स्थानीय बजारमा सामान्य गिरावट आएको छ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्यमा नौ सय रुपैयाँले गिरावट आई प्रतितोला ७२ हजार ६ सय रुपैयाँ कायम भएको छ। सोमबार छापावाल सुन प्रतितोला ७३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। सो मूल्य नेपालको इतिहासमा अहिलेसम्मकै उच्च हो ।

यस्तै तेजाबी सुनको मूल्य पनि प्रतितोला नौ सय रुपैयाँका दरले घटेको छ। तेजाबी सुनको मूल्य प्रतितोला ७२ हजार ३ सय रुपैयाँ कायम भएको छ। सोमबार तेजाबी सुनको मूल्य प्रतितोला ७३ हजार २ सय रुपैयाँ पुगेको थियो। सुनको मूल्य केही घटे पनि चाँदीको मूल्य भने यथावत् छ । स्थानीय बजारमा चाँदी प्रतितोला ८ सय ६० रुपैयाँमा कारोवार भइरहेको महासङ्घले जनाएको छ ।

गत साउनको सुरुदेखि नै सुनको मूल्य तीव्र गतिमा उकालो लाग्न थालेको हो। साउन महिनामा सुनको मूल्य प्रतितोला सात हजार र चाँदीको मूल्य प्रतितोला ९५ ले वृद्धि भएको थियो। भदौ महिना लागेपछि पनि लगातार सुनको मूल्यमा उच्च वृद्धि भइरहेको छ । भदौमा छापावला र तेजाबी सुन प्रतितोला दुई हजार ५ सय रुपैयाँले वृद्धि भएको छ। तीव्र वृद्धिका बीचमा सुनको मूल्य आज प्रतितोला रु ९०० ले घटेको हो।

साउन १ गते छापावाला सुन प्रतितोला ६४ हजार ५ सय, तेजाबी सुन ६४ हजार २ सय र चाँदी प्रतितोला ७ सय ४५ रुपैयाँमा कारोवार भएको थियो। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य बढ्ने क्रम रोकिएको छैन्। विश्व बजारमा आज सुनको मूल्य सोमबारको तुलनामा केही घटेको छ। मङ्गलबार सुनको मूल्य प्रतिऔँस एक हजार ५३०.३५ अमेरिकी डलर कायम भएको छ। सोमबार सुनको मूल्य प्रतिऔँस एक हजार ५३२.७५ अमेरिकी डलर पुगेको थियो।

अन्तर्राष्ट्रिय बजारमा बढ्दो क्रममा रहेको सुनको मूल्यले स्थानीय बजारलाई दबाबमा राखेको हो। अमेरिकी डलरको सटही दर बढेसँगै सुनको मूल्य पनि प्रभावित भएको हो। चीन–अमेरिका व्यापार टकराव, इरान–अमेरिका विवादले पनि सुनको भाउ बढाउन सहयोग गरेको बताइन्छ।

सुनको मूल्यमा उतारचढाव देखिएपछि सुनको खपत भने ह्वात्तै घटेको छ । दैनिक २०/२५ किलो सुन खपत हुने नेपाली बजारमा पछिल्लो समय बिक्री ह्वात्तै खुम्चिएको महासङ्घले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad