नेपाल राष्ट्र बैंकले भ्रामक सूचनामा विश्वास नगर्न आग्रह गरेको छ।
बैंकले पछिल्लो समय आफ्नो नाममा फेसबुक पेज बनाएर भ्रामक जानकारी तथा सूचना पोष्ट भइरहेकामा गम्भीर ध्यानकर्षण भएको जनाएको छ।
बैंकले आज विज्ञप्ति जारी गर्दै ती सूचनामा विश्वास नगर्न आग्रह गरेको हो।
हालसम्म नेपाल राष्ट्र बैंकको कुनै पनि आधिकारिक फेसबुक पेज नरहेको र कुनै पनि प्रकारको सूचना जानकारी तथा आव्हान फेसबुक पेजमार्फत नगरिएको राष्ट्र बैंकले जनाएको छ।
‘हालसम्म राष्ट्र बैंकको कुनै पनि आधिकारिक फेसबुक पेज नरहेको र यसबाट बैंकको कुनै पनि सूचना तथा जानकारी नगरिएको व्यहोरा सबैलाई जानकारी गर्न चाहान्छौं’, विज्ञप्तिमा भनिएको छ। अनाधिकृत रुपमा राष्ट्र बैंकको फेसबुक पेज सिर्जना गरी भ्रामक जानकारी पोष्ट गराउनेलाई साइबर अबराधसम्बन्धी कानुन बमोजिम कारबाही गरिने बैंकले जनाएको छ।
यसअघि बुधबार नेपाल बैंकर्स संघले आफ्नो बैंक खातासँग सम्बन्धित विवरण अपरिचित व्यक्तिलाई नदिन आग्रह गरेको थियो। पछिल्लो समय विभिन्न सामाजिक सञ्जालमार्फत् अनाधिकृत व्यक्तिले विवरण माग गरेर पैसा माग्ने वा पठाउन लगाउने क्रियाकलाप भइरहेको भन्दै संघले आफ्नो व्यक्तिगत/गोप्य विवरण कुनै पनि व्यक्तिसँग आदान–प्रदान नगर्न आग्रह गरेको हो।
पछिल्लो समय विभिन्न पुरस्कार दिने तथा कोरोना बीमाको रकम आयो भन्दै बैंक खाता नम्बर माग गर्ने तथा सहयोग गर्ने बहानामा खाताको गोप्य विवरण माग भइरहेको छ। रासस
प्रतिक्रिया