ad ad

कारोबार


मेयर विद्यासुन्दरको अन्तिम बजेटः के थियो घोषणा, के–के गरे?

मेयर विद्यासुन्दरको अन्तिम बजेटः के थियो घोषणा, के–के गरे?

नेपालखबर
असार १०, २०७८ बिहिबार १३:१५,

काठमाडौं महानगर पालिकाका मेयर विद्या सुन्दर शाक्यले आफ्नो कार्यकालको अन्तिम बजेट सार्वजनिक गरेका छन्।

२ वर्षमै महानगरको मुहार फेर्छु भन्दै मेयरमा निर्वाचित भएका शाक्यले प्रशासनिक काममै आफ्नो ४ वर्ष बिताएका छन्।

उनले प्रस्तुत गरेको अन्तिम बजेटमा पुराना कार्यक्रमलाई नै निरन्तरता दिएका छन्। आगामी आर्थिक वर्षको बजेट १८ अर्ब ९५ करोड प्रस्ताव गरिएको छ ।

बजेटमा कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ ३ अर्ब ७५ करोड ७७ लाख, आर्थिक विकास क्षेत्रतर्फ ५५ करोड, सामाजिक विकासतर्फ २ अर्ब ७० करोड, पूर्वाधार विकासतर्फ १० अर्ब ८० करोड र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ १ अर्ब १५ करोड प्रस्ताव गरिएको छ ।

आगामी वर्षको बजेटमा महानगरका महत्वपूर्ण योजनाहरु काठमाडौँ महानगरपालिकाको कार्यालय भवनको निर्माण, भर्टिकल पार्किंग भवन निर्माण, पर्यटन पदमार्ग बिकास, कोटेश्वर तीनकुनेमा बुद्ध पार्क निर्माणलाई अघि बढाएको छ।

त्यस्तै मेगा हल निर्माण, सार्बजनिक जग्गा संरक्षण, पार्क निर्माण तथा हरियाली प्रवर्द्धन, नदी नियन्त्रण तथा कोरिडोर निर्माण, शहरी यातायात व्यवस्थापनजस्ता कार्यक्रमहरु समेत अगाडि बढाइएको बताइएको छ ।

यो विद्यासुन्दरको अन्तिम बजेट हो। अर्को बजेटअघि नै पाँच वर्ष पुगेर चुनाव हुने भएकाले यो उनको अन्तिम बजेट हो।

के थियो विद्याका घोषणा ? के गरे
विद्यासुन्दर शाक्यले काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिँदा दुई वर्षभित्रै कायपलट गर्ने घोषणा गरेका थिए।

उनले मेयरमा निर्वाचित भएको २ वर्षमै मेट्रो ट्रेनका लागि डीपीआर तयार गरी दुई वर्षभित्र कार्य शुरु हुने बताएका थिए। तर हालसम्म मेट्रोरेल चुनावी घोषणा पत्रमै सिमित भएको छ।

उनले काठमाडौंको अस्तव्यस्त यातायातलाई व्यवस्थित तथा आधुनिकीकरण गर्न प्रविधियुक्त यातायात पद्धति स्थापना गरी केवलकार, मोनोरेल, अत्याधुनिक बस सेवा तथा विद्युतीय गाडी सञ्चालन गर्ने योजना सुनाएका थिए।

विद्यासुन्दर शाक्यले तीन वर्षभित्र काठमाडौं महानगरको चक्रपथमा क्षेत्रमा मोनो रेल सञ्चालन गर्ने दाबी गरेका थिए। उनले सुनाएका यातायातसम्बन्धी मोनोरेलको डीपीआर अध्ययन शुरु भएपनि अरु प्रगति शून्यजस्तै रहेको छ।

उनले काठमाडौंको सार्वजनिक यातायातलाई दिनको २० घण्टा सिटी बस सेवा सञ्चालन गर्ने र कुनै पनि स्थानबाट ५ मिनेटभन्दा बढी हिँड्न नपर्ने गरी सार्वजनिक यातायातको व्यवस्था गर्ने बताएका थिए।

यातायात क्षेत्रको व्यवस्थापनको लागि भन्दै स्मार्ट सिटी यातायात कार्डको व्यवस्था गर्ने, उक्त कार्ड मोनो रेल, मेट्रो रेल, सिटी बस, केवलकार सबैका लागि प्रयोग गर्न मिल्ने बनाउने सपना देखाएका थिए।

शाक्यले महानगरभित्र स्मार्ट पार्किङ सिस्टमको व्यवस्थापन गर्ने, विभिन्न ठाउँमा स्वचालित भर्टिकल कार पार्किङ र अन्डरग्राउन्ड पार्किङको व्यवस्था गर्ने बताएकोमा दरबारमार्ग, न्यु रोडमा पार्किङलाई व्यवस्थित गर्न प्रयास गरे पनि अरु भाषणमै सिमित रहे।

साइकल प्रेमीको लागि मेयर विद्या सुन्दरले साइकल लेनको निर्माण गरी साइकल चढ्नेलाई विशेष सुविधा उपलब्ध गराउनुका साथै ठाउँ–ठाउँमा साइकल पार्किङ स्टेसन निर्माण गर्ने बाचा गरेका थिए।
अहिले माइतीघरदेखि तीनकुनेसम्म साइकल लेनको व्यवस्था भए पनि अन्यत्र साइकल लेन बनाउन सकेनन्।

काठमाडौंको कला, संस्कृति सुहाउँदो डिजाइनमा आवासीय कम्प्लेक्सहरु निर्माण गर्ने बताएका थिए। नयाँ तथा व्यवसायिक भवनहरुमा अनिवार्य रुपमा शौय उर्जाको प्रयोग गर्ने बताएपनि कागजमै सीमित रहेको छ।

अव्यवस्थित भृकुटीमण्डपलाई अत्याधुनिक रोलर कोस्टर सहितको एम्युजमेन्ट पार्क र वाटर पार्कका रुपमा विकास गर्ने योजना महानगरबासीलाई सुनाएका थिए। भृकुटीमन्डपमा अहिलेसम्म कुनै परिवर्तन गरिएको छैन।

महानगरलाई २४ सै घण्टा खुल्ला जिवन्त सहरको रुपमा विकास गर्ने दाबी गरेका थिए।

महानगरको सडक छेउछाउमा अलपत्र रहेका तारहरुको सञ्जाललाई केबल र मोबाइल टावरहरुलाई एकीकृत ढंगबाट सञ्चालन गर्न व्यवस्था मिलाउने, विद्युतीय तारलाई जमिनमुनि बिछ्याउने योजना शुरु गरेका थिए।

हाल विद्युतीय तारलाई जमिनमुनी बिछ्याउने कार्य विद्युत् प्राधिकरणले सुरु गरे पनि अरु तार पूरै अव्यवस्थित नै रहेको छ।

महानगरवासीका लागि स्मार्ट सिटिजन कार्डको व्यवस्था गर्ने चुनावी घोषणापत्रमा उल्लेख रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .