ad ad

कारोबार


वाग्मती प्रदेशको बजेट ५७ अर्ब ७२ करोड, कोरोना खोप कार्यक्रमलाई २ अर्ब विनियोजन

वाग्मती प्रदेशको बजेट ५७ अर्ब ७२ करोड, कोरोना खोप कार्यक्रमलाई २ अर्ब विनियोजन

नेपालखबर
असार १, २०७८ मंगलबार १२:३९,

वाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँ विनियोजन गरेको छ।

प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैशाल प्रसाद ढुंगेलले आगामी आर्थिक वर्षको क्षेत्रगत नीति तथा कार्यक्रमहरु कार्यान्वयन गर्न उक्त बजेट विनियोजन गरेका हुन्।

मन्त्री कैशाल प्रसाद ढुंगेलले आज प्रदेश संसदमा प्रस्तुत गरेको बजेट गत वर्षभन्दा ६ अर्बभन्दा बढी हो।

चालू आवमा वाग्मती प्रदेशको बजेट ५१ अर्ब ४२ करोड ७४ लाख ९४ करोड रुपैयाँ विनियोजन भएको थियो।

आगामी आर्थिक वर्षको लागि विनियोजन भएको रकममध्ये चालूतर्फ २६ अर्ब १ करोड, पुँजीगत २९ अर्ब ७० करोड र वित्तीय व्यवस्थापनमा २ अर्ब रुपैयाँ विनियोजन भएको छ।

त्यसको स्रोतको लागि आन्तरिक राजस्वबाट २३ अर्ब ८२ करोड र अन्य राजस्वबाट ६ अर्ब, संघीय सरकारबाट प्राप्त हुने वित्तीय हस्तान्तरण १६ अर्ब र विविध प्राप्ति १ अर्ब रहेको आर्थिक मामिला मन्त्री ढुंगेलले जानकारी दिए।

वाग्मती प्रदेशले कोभिड प्रभावितलाई करका दरमा समायोजन तथा कर छुटको व्यवस्था मिलाएको जानकारी गराएको छ। करका संसचना तथा दायरलाई समयसापेक्ष बनाइने जनाएको छ।

त्यस्तै, आगामी आर्थिक वर्षमा हेटौंडा चितवन मेट्रो रेलको अध्धयन गर्ने बताएको छ। त्यस्तै चितवनमा चकलेट उत्पादनसहितको दुग्ध प्रशोधन कार्यक्रम सञ्चालन गर्ने र हेटौंडामा दुग्ध प्रशोधन केन्द्र स्थापना गरिसक्ने बताएको छ।

खोप कार्यक्रमलाई २ अर्ब
त्यस्तै, प्रदेश सरकारले ‘प्रदेश प्रमुख कोभिड १९ खोप कार्यक्रम’मार्फत नेपाल सरकारसँगको समन्वय र सहकार्यमा प्रदेशभित्रका सबै नागरिकहरुलाई कोरोना भाइरसविरुद्धको खोप प्रदान गर्न २ अर्ब बजेट व्यवस्था गरेको छ।

त्यस्तै, साबिक ‘प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रमलाई’ खारेजी गरी कोभिड १९ को प्रभाव न्यूनीकरण गर्दै जनताको स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘प्रदेश पूर्वाधार, स्वास्थ्य प्रवर्द्धन तथा कोभिड पुनर्स्थापना साझेदारी कार्यक्रम’का लागि २ अर्ब ४२ करोड बजेट विनियोजन गरिएको छ।

उत्पादन तथा रोजगारी सिर्जनाका लागि सहुलियतपूर्ण ऋण प्रवाह गर्ने कार्यक्रमलाई आगामी आर्थिक वर्षमा समेत निरन्तरता दिन २ अर्ब बजेट विनियोजन गरिएको छ।

‘मेरो गाउँ : उद्यमसहित जिउँ ठाउँ’ भन्‍ने अभियानमार्फत स्थानीयस्तरमा नै रोजगारी सिर्जनाका लागि साझेदारीमा क्षमता विकास, प्राविधिक सीप प्रदानसम्बन्धी कार्यक्रम सञ्‍चालन गर्न आवश्यक बजेट व्यवस्था गरिएको छ।

कोभिड १९ महामारीले उद्योग, वाणिज्य तथा पर्यटन क्षेत्रमा पारेको असरलाई सम्बोधन गर्न ‘जहाँ प्रविधि, पुँजी र सीप, त्यहाँ युवाको हित’ भन्‍ने सोचसहित युवाहरुमा उद्यमशीलता र स्वरोजगार विकास गर्न प्रविधि हस्तान्तरण, सहुलियतपूर्ण कर्जा, सीपमूलक तालिमलगायत युवालाई प्रोत्साहन गर्ने कार्यक्रम प्रस्ताव गरिएको छ।

कोरोनाले आमाबाबु गुमाउने बालबालिकालाई मासिक ३ हजार
कोरोनाका कारण आमाबाबु दुवै गुमाएका बालबालिकाहरूलाई स्थानीय तहसँगको सहकार्यमा मासिक ३ हजारको दरले शैक्षिक तथा सामाजिक भत्ता, अन्य कारणबाट आमाबाबु दुवै गुमाएका बालबालिकाहरूलाई मासिक २ हजारका दरले सामाजिक सुरक्षा भत्ता दिइने गरी बजेट विनियोजन गरिएको छ।

‘मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम’लाई नसर्ने रोगको रोकथाम, नियन्त्रण र उपचारमा केन्द्रित गरी सञ्‍चालन गर्न २२ करोड बजेट विनियोजन गरिएको छ भने यस कार्यक्रममार्फत क्‍यान्सर रोग लागेका र मस्तिष्काघात भएका विपन्‍न नागरिकलाई सहयोग गर्ने, महिलामा हुने पाठेघर एवम् स्तन क्‍यान्सर उपचारमा सहयोग गर्ने, अब्स्ट्रेटिक फिष्टुलाको निःशुल्क परीक्षण गर्ने, हृदयघात उपचारमा सहयोग गर्ने र लक्षित वर्गलाई निःशुल्क स्वास्थ्य परीक्षण गर्ने लगायतका कार्यक्रम कार्यान्वयन गरिने बजेटमा उल्लेख छ।

सरकारले प्रदेश विश्‍वविद्यालयको स्थापनासम्बन्धी प्रारम्भिक कार्य गर्न बजेट विनियोजन गरेको छ।

‘वाग्मती प्रदेशको इच्छा, समृद्धिको लागि प्राविधिक शिक्षा’ अभियानलाई साकार पार्न सामुदायिक विद्यालय एवम् शिक्षालयहरूको भौतिक तथा शैक्षिक पूर्वाधारको विकास गरी गुणस्तरीय प्राविधिक शिक्षामा पहुँच अभिवृद्धि गर्न बजेटको व्यवस्था गरिएको छ।

यता निर्माणाधीन खेलकुद पूर्वाधारको निर्माण कार्य दुई वर्षभित्र सम्पन्‍न गर्न २९ करोड बजेट विनियोजन गरिएको छ।

त्यस्तै, ‘किसानका गह्राः सधैँ हराभरा’ हुने गरी ‘सुख्खाटार लिफ्ट सिँचाइ क्षेत्र विशेष कार्यक्रम’लाई निरन्तरता दिँदै २५ वटा लिफ्ट सिँचाइ योजना निर्माण कार्य अघि बढाउन र निर्माणाधीन तथा सम्पन्‍न भइसकेका भूमिगत स्यालो तथा डिप ट्‍युवेल सिँचाइ आयोजनाहरुमा सोलार प्रणाली जडान कार्यको लागि बजेट व्यवस्था गरिएको छ।

भीमफेदी–कुलेखानी सुरुङमार्गलाई ७५ करोड
प्रदेश गौरवको आयोजनाको रुपमा रहेको पोष्ट बहादुर बोगटी (भीमफेदी–कुलेखानी) सुरुङमार्गको निर्माणकार्य संघीय सरकारको समेत सहलगानीमा निर्माण गर्ने गरी ७५ करोड बजेट विनियोजन गरिएको छ।

त्यस्तै, प्रदेश राजधानी हेटौंडा–भरतपुर–मेघौली जोड्न मेट्रो रेल, ट्रामजस्ता यातायात सञ्‍चालनको पूर्वसम्भाव्यता अध्ययनको लागि बजेटको प्रबन्ध गरिएको छ।

मुख्यमन्त्री प्रादेशिक सडक कार्यक्रमअन्तर्गत प्रदेशको मुख्य आर्थिक तथा बजार केन्द्र, धार्मिक, ऐतिहासिक, पर्यटकीय, औद्योगिक तथा अन्य महत्त्वका स्थलहरु जोड्ने रणनीतिक सडक वा उपमार्ग (बाइपास) जस्ता आयोजनाहरुका लागि ३ अर्ब २५ करोड बजेट विनियोजन गरिएको छ।

प्रदेश राजधानी पूर्वाधार विकास विशेष आयोजनामार्फत वाग्मती प्रदेशको राजधानी हेटौंडालाई सुविधासम्पन्‍न बनाउन सरकारी कार्यालय भवन, शिक्षा, स्वास्थ्य, सडक लगायतका विकासका पूर्वाधारहरुको निर्माण गर्न ९७ करोड बजेट विनियोजन
गरिएको छ।

विद्युतीय बसलाई ५० करोड
यसबाहेक वातावरणमैत्री ‘विद्युतीय बस’ र ठूला सार्वजनिक यातायात सञ्चालन तथा व्यवस्थापन गरी यातायात सेवालाई सर्वसुलभ, विश्‍वसनीय र मितव्ययी बनाउन प्रदेश यातायात सञ्‍चालन तथा व्यवस्थापन बोर्डमार्फत कार्यान्वयन गर्ने गरी नेपाल सरकारको सहलगानीमा आवश्‍यक पूर्वाधारसहितको विद्युतीय बस सेवा सञ्‍चालन गर्न ५० करोड बजेट विनियोजन गरिएको छ।

कर्मचारीलाई १० दिनको भत्तासहित घुम्न जाने बजेट
त्यस्तै, प्रदेश सरकारी कर्मचारीलाई भत्तासहित घुम्न जाने अवसर दिइने भएको छ। १० दिनको लागि सुविधासहित कर्मचारीहरुलाई पर्यटकीय स्थल पठाइने भएको हो। आन्तरिक पर्यटक प्रवर्द्धनको लागि उच्च पहाडी र हिमाली भेगमा पर्यटकीय स्थलमा पठाइनेछ। त्यसको लागि आवश्यक बजेट विनियोजन भएको ढुंगेलले बजेट भाषणमा बताए।

पूर्णपाठ ः 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .