चर्चित जापानी सवारीसाधन कम्पनी निसानका पूर्वमालिकलाई जापानबाट भगाउन आफूहरुले भूमिका खेलेको अमेरिकी बाबुछोराले स्वीकारेका छन्।
सन् २०१९ मा जापानबाट निसानका पूर्वमालिक कार्लोस गोसन नाटकीय रुपमा देश छोड्न सफल भएका थिए। बीबीसीका अनुसार पूर्वसुरक्षा अधिकारी रहेका ६० वर्षीय माइकेल टेलर र उनका २८ वर्षीय छोराले गोसनलाई लगेज बक्समा हालेर निजी विमानमार्फत जापान छोडाएको स्वीकारेका हुन्।
दुवै बाबुछोरालाई यही मुद्दामा अमेरिकाबाट जापान प्रत्यर्पित गरिएको थियो। टोक्योस्थित एक अदालतमा आफूहरुविरुद्धको सरकारी आरोपको उनीहरुले खण्डन नगरेको बताइएको छ। उनीहरुले तीन वर्षसम्म जेलसजाय भोग्नुपर्ने हुनसक्छ।
टोक्योका सरकारी अधिकारीले अदालतमा दायर गरेको मुद्दा केही गलत छ कि भनेर सोध्दा बाबुछोराले ‘नो’ भन्ने जवाफ दिएको रोयटर्सले जनाएको छ।
गोसन जापानबाट एकाएक लेबनान पुगेका थिए। यो मुद्दामा सरकारी अभियोजनकर्ताले दुवैविरुद्ध गोसनलाई भगाउन भूमिका खेलेको आरोप लगाएका छन्। गोसन पश्चिम जापानको कान्साई एयरपोर्टबाट सन् २०१९ को डिसेम्बरमा भागेका थिए। सरकारी अधिकारीले यी दुई जनाले गोसनलाई भगाउन १३ लाख अमेरिकी डलर लिएको आरोप लगाएका छन्।
लेबनान र जापानबीच सुपुर्दगी सन्धि भएको छैन। गोसनविरुद्ध जापानी अदालतमा मुद्दा चलिरहेको थियो। सोही क्रममा उनी भागेका थिए।
गोसनलाई भगाउन सहयोग गरेको भन्दै टर्कीको एउटा अदालतले टर्किश जेट कम्पनी एमएनजीका कार्यकारीसहित दुई पाइलटलाई दण्डित गरेको थियो। गोसन सन् २०१८ मा वित्तीय अपचलनमा पहिलोपटक पक्राउ परेका थिए।

प्रतिक्रिया