कारोबार


उदयपुर सिमेन्टले गर्‍यो एकैपटक १४ वार्षिक साधारणसभा, चुक्ता पुँजी ७ अर्ब पुर्‍याइने

उदयपुर सिमेन्टले गर्‍यो एकैपटक १४ वार्षिक साधारणसभा, चुक्ता पुँजी ७ अर्ब पुर्‍याइने

नेपालखबर
जेठ ३१, २०७८ सोमबार ७:१,

उदयपुर सिमेन्ट उद्योग लिमिटेडको १४ वटा साधारणसभा एकै पटक सकिएको छ।

सिमेन्ट उद्योगको २०औँदेखि ३३औँ वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको हो।

उद्योगले महामारीको बीच धेरै साधारण सदस्य भर्चुअल रुपमा जोडिएका थिए भने केही भौतिक रुपमै उपस्थित रहेको कम्पनीका प्रवक्ता लक्ष्मण प्रसाद पोखरेलले बताए।

उदयपुर सिमेन्ट उद्योग नेपाल सरकारको पूर्ण स्वामित्वमा सञ्चालित उद्योग हो।

लामो समयदेखि विविध कारणवश कम्पनी ऐनबमोजिम यस उद्योगको साधारणसभा हुनसकेको थिएन।

उद्योग सञ्चालक समितिका अध्यक्ष बलराम रिज्यालले साधारणसभामा पेश गरेको अधिकृत पुँजी १० अर्ब पुर्‍याउने र जारी तथा चुक्ता पुँजी ७ अर्ब ३ करोड बनाउने प्रस्ताव पारित भएको छ।

यसअघि अधिकृत पुँजी ४ अर्ब र जारी तथा चुक्ता पुँजी ३ अर्ब ६४ करोड रहेको थियो।

ओर्इसीएफ जापानद्वारा नेपाल सरकारलाई उदयपुर सिमेन्ट उद्योग स्थापनार्थ १८ अर्ब ७७ करोड जापानी येन सहुलियत दरमा ऋण उपलब्ध गराएको थियो।

हाल उक्त ऋण जापान सरकारले अनुदानमा परिणत गरिसकेको छ।

नेपाल सरकारको लगानी ऋण नै कायम रहेको छ। उद्योगले नेपाल सरकारलाई भुक्तानी गर्न बाँकी सावाँ तथा सोको ब्याज समेत ३ अर्ब ३८ करोड रहेको छ।

उद्योगले ऋणको सावाँ तथा सोको ब्याजलाई साधारण सेयरमा परिणत गर्नका लागि नेपाल सरकारलाई अनुरोध गर्ने प्रस्ताव पारित गरेको छ।

साधरणसभाले उक्त ऋणको ब्याजको कारण सिमेन्टको लागतमा प्रतिबोरा ५७ रुपैयाँ ४३ पैसा महङ्गो भई बजारमा प्रतिस्पर्धा गर्न कठिन भएको जनाएको छ।

गत आर्थिक वर्ष ३३ करोड ३६ लाख नोक्सान
उद्योगले आर्थिक वर्ष २०७६/०७७ मा सिमेन्ट बिक्रीबाट १ अर्ब ९ करोड ५ लाख ९३ हजार ५० रुपैयाँ आम्दानी गरेको छ भने उत्पादन लागत, प्रशासनिक खर्च तथा बिक्री प्रवर्द्धन खर्च घटाउँदा आयकर व्यवस्था अगाडि ३३ करोड ३६ लाख २५ हजार २ सय ४९ रुपैया नोक्सान हुन गएको उल्लेख गरिएको छ।

आर्थिक वर्षमा कुल क्षमताको ५० प्रतिशत मात्र क्षमता उपयोग गरी उद्योगले २७ लाख ७२ हजार बोरा सिमेन्ट बिक्री गर्ने लक्ष्य लिएको थियो ।कोभिड लगाएतको कारण उद्योगले १६ लाख ४१ हजार ४७ बोरा मात्रै सिमेन्ट बिक्री गरेको छ। यो परिमाण आर्थिक वर्ष २०७५/७६ को भन्दा ६ लाख ३ हजार ६ सय ४२ बोराले घटी हो।

उपकरणहरु पुरानो भएकोले छिटो छिटो बिग्रिरहने समस्याका कारण पनि मिलको क्षमता अनुसार उत्पादन हुन नसकेको दाबी गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad