संसारकै धनी जेफ बेजोस आफ्नो कम्पनी ब्लु ओरिजिनले निर्माण गरेको रकेट न्यु शेपर्डको पहिलो अन्तरिक्ष यात्री हुने भएका छन्।
उक्त अन्तरिक्ष उडानको मिति जुलाई २० तोकिएको छ। यो भनेको अमेजनको सीईओबाट राजीनामा दिएको ठीक १५ दिनपछि हो।
जेफ बेजोससँगै उनका भाइ मार्क बेजोसले पनि सँगै अन्तरिक्ष यात्रा गर्ने ब्लु ओरिजिनले जनाएको सीएनएनले उल्लेख गरेको छ।
‘जब म ५ वर्षको थिएँ, अन्तरिक्ष यात्रा गर्ने सपना देख्थेँ’, ५७ वर्षीय बेजोसले सोमबार इन्स्टाग्राममा पोस्ट गर्दै भनेका छन्, ‘जुलाई २० तारिखका दिन म भाइसँगै यात्रामा सरिक हुनेछु– ठूलो यात्रा, मेरो असल साथीसँगै।’

योजनाअनुसार काम भए उनी रकेट प्रविधिबाट अन्तरिक्ष यात्रा गर्ने पहिलो अर्बपति हुनेछन्।
बेजोस संसारकै धनी व्यक्ति हुन्। उनीसँग एक खर्ब ८७ अर्ब अमेरिकी डलर सम्पत्ति छ।
उनी आफैँले दशौँ लाख डलर खर्चेर विकास गरेको रकेट प्रविधिबाट अन्तरिक्षको सयरमा निस्किन लागेका हुन्।
अर्का अर्बपति एलन मस्कको स्पेस एक्सले अहिले धमाधम पृथ्वीको कक्षमा मानवसहितको रकेट पठाइरहेको छ। तर पनि मस्कले यस्तो योजना घोषणा गरेका छ्रैनन्।
अर्का बेलायती अर्बपति रिचार्ड ब्रान्सनको भर्जिन गालाक्टिक कम्पनीले पनि धनीहरुलाई अन्तरिक्षमा लैजाने योजना बनाइरहेको छ। त्यसका लागि परीक्षण उडानको तयारी गरिरहेको छ। ब्रान्सनले पनि भर्जिन गालाक्टिकको रकेट पावर विमानको पहिलो यात्री बन्ने बताएका छन् तर उक्त उडान २०२१ पछि मात्रै हुनेछ।
ब्लु ओरिजिनको उडान सदस्यहरु कम्पनीको छसिटे क्याप्सुलमा सयर गर्नेछन्। ५९ फुटे रकेट ११ मिनेटमा पृथ्वीबाट ६० माइलमाथि पुग्नेछ।
६ वर्षयता कम्पनीले रकेट र क्याप्सुलको गोप्य परीक्षण गर्दै आएको छ। यसको नाम न्यु शेपर्ड राखिएको छ। गत मे महिनामा ब्लु ओरिजिनले क्याप्सुलमा पहिलो अन्तरिक्ष यात्री राख्ने तयारी भइरहेको जनाएको थियो।
ब्लु ओरिजिनले एउटा सिटमा अक्सन गरेर विजेतालाई यात्रामा सहभागी गराउनेछ। सोमबारसम्म अक्सन मूल्य २८ लाख डलर नाघिसकेको छ।
ब्लु ओरिजिन बेजोसले सन् २००० मा स्थापना गरेका थिए। यसले दर्जन बढी परीक्षण उडान गरिसकेको छ। बेजोसले अमेजन सन् १९९४ मा स्थापना गरेका थिए। सुरुमा यो किताब बिक्रेता थियो। बेजोस अहिले अमेजनका प्रमुख कार्यकारी हुन्।

प्रतिक्रिया