कारोबार


२५औँ वर्षमा क्लब हिमालय रिसोर्टः नगरकोटमा लगानी भित्र्याउने र पूर्वाधार निर्माण गर्ने पहिलो गेट

२५औँ वर्षमा क्लब हिमालय रिसोर्टः नगरकोटमा लगानी भित्र्याउने र पूर्वाधार निर्माण गर्ने पहिलो गेट

नेपालखबर
जेठ १२, २०७८ बुधबार १२:०,

भक्तपुरको नगरकोटमा रहेको क्लब हिमालय रिसोर्टले २५ वर्ष पार गरेको छ।

नगरकोट पर्यटकीय गन्तव्यका रूपमा विकास हुनथालेको सुरु दिनदेखिकै साक्षीका रुपमा रहेको यो होटल एस होटल समूहले सञ्चालन गर्दै आएको छ।

नगरकोट भन्नेबित्तिकै क्लब हिमालयको नाम आइहाल्छ। यी दुई नाम त्यहाँका लागि पर्याय नै भइसकेको छ।

आन्तरिक एवं बाह्य पर्यटकहरूको रोजाइमा पर्ने नगरकोटलाई नगरकोटका रूपमा विस्तार गर्ने तथा डेस्टिनेसन विकासमा समेत मुख्य भूमिका क्लब हिमालयको रहेको छ।

होटल व्यवसायी योगेन्द्र शाक्य भन्छन्, ‘भोलि यस्तो समय पनि आउला जब पर्यटकहरु नगरकोटमै बस्ने गरी आउने र साइट सिइङका लागि काठमाडौं जानेछन्, यसको सम्भावना देखिएको छ।’

शाक्यको सम्झनामा सन् १९६०÷०७० मा अधिकांश हिप्पीहरु सूर्योदय हेर्नकै लागि अघिल्लो दिन नै टेन्ट, ह्यासिस (गाँजा) लिएर अनकन्टार र नांगेडाँडा ‘बतासेडाँडा’ पुग्ने गर्दथे।

club himalaya5

रातभर गीत गाउँदै, नाच्दै समय कटाइसकेपछि उनीहरु बिहान सूर्योदयको दृश्यावलोकन गर्थे।

काठमाडौंको द रोयल होटल, सोल्टी, अन्नपूर्ण लगायतका होटलमा बस्ने पर्यटकहरू बिहान ३ बजे गाडीमार्फत डेढ घण्टाको कच्ची बाटो हुँदै ५ बज्नुअघि नै बतासेडाँडा पुर्याइन्थ्यो।

त्यतिबेला ब्रेकफास्ट बक्स समेत काठमाडौंबाट लिएर जानुपर्ने बाध्यता थियो।

नगरकोटप्रति पर्यटकको झुकाव देखेर एस होटलले सन् १९८० मा बतासेडाँडामा सुविधा सम्पन्न रिसोर्ट सञ्चालनमा ल्याउने योजना बनाएको थियो।

तर तत्कालीन शाही नेपाली सेनाको गुरिल्ला वेलफेयर ट्रेनिङका लागि बतासेडाँडादेखि महांकालडाँडा सुटिङ अभ्यास रेन्जका रूपमा प्रयोगका लागि लिने योजना बनाएको थियो।

यसैले नगरकोटलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नमात्र नभएर बतासेडाँडामा रिसोर्ट स्थापना तथा सञ्चालनमा ल्याउन सहज थिएन।

‘नगरकोटलाई पर्यटकीय गन्तव्यमा रुपान्तरणका गर्नका लागि तात्कालिन श्री ५ को सरकारलाई विश्वस्त पारेर सहयोग लिनका लागि धेरै मिहिनेत गर्नुपरेको थियो’, उनी सम्झिन्छन्, ‘तत्कालीन श्री ५ को सरकार र शाही नेपाली सेनाले विश्वासका आधारमा क्लब हिमालय सञ्चालनका लागि म लगायत हङकङका लगानीकर्ता स्टानले केसी वङ, नेपाल माउन्टेनरिङ एसोसिएसनका तत्कालीन अध्यक्ष कुमार खड्गविक्रम शाहलाई अनुमति दिएको थियो।’

क्लब हिमालय निर्माणका लागि विदेशी साझेदारी र दरबारका ज्वाइँसमेतको साझेदारीमा रहेकाले होटल निर्माणका लागि सेनाले ढिलै भए पनि सहमति दिएको उनको भनाइ छ।

होटल निर्माणका लागि शाक्यसहितको समूहले सन् १९८८ मै जग्गा खरिद गरेका थिए। ५२ रोपनी क्षेत्रफलको डाँडा खरिद गर्न त्यो बेला शाक्यले प्रतिरोपनी ४२ हजार रुपैयाँ तिरेका थिए।

शाक्य भन्छन्, ‘त्यो बेला हामीले ४२ हजार प्रतिआना किन्दा त्यहाँका मान्छेहरू हामीलाई पैसा धेरै भएर यता आएछन् भन्थे, किनभने त्यो बेला त्यस आसपासमा १ हजारदेखि १० हजारसम्ममा एक रोपनी जग्गा पाइन्थ्यो।’

त्यो बेला त्यहाँ चारतारे होटल बनाउने भन्ने चानचुने चुनौती थिएन। किनभने बिजुली, टेलिफोन थिएन भने सडकको अवस्था पनि नाजुक थियो।

नगरकोटका स्थानीयहरूको आयस्रोत भनेकै जंगलमा गएर दाउरा खोज्ने र भक्तपुरमा लगेर बेच्ने थियो। अहिले त्यहाँका मानिसहरूको आर्थिक अवस्था नै उथलपुथल भएको छ।

ती चुनौतीहरूलाई पार लगाउँदै उनले होटल निर्माण गरी छाडे र नगरकोटको परिचय नै बदल्न सम्भव भयो।

जग्गाको मूल्य ह्वात्तै बढेको छ भने पूर्वाधार विकास पनि राम्रो भएको छ। अहिले नगरकोटमा सुविधासम्पन्न होटल तथा रिसोर्टहरू सञ्चालनमा आएका छन्।

त्यहाँ अर्बौं रुपैयाँ लगानी भित्रिएको छ। एस होटल समूहद्वारा सञ्चालन तथा व्यवस्थापनका साथ अघि बढेको क्लब हिमालयलाई नगरकोटमा लगानी भित्र्याउने र पूर्वाधार निर्माण गर्ने पहिलो गेटका रूपमा लिने गरिन्छ।

‘म अहिले पनि दाबी गर्छु कि क्लब हिमालय प्रवेश नगरेको भए नगरकोट अहिले सेनाको कब्जामै हुन्थ्यो, पर्यटकीय गन्तव्य बन्न पाउँदैन थियो’, सञ्चालक शाक्यले भने ।

अहिले जहाँ क्लब हिमालय छ, त्यहाँ सुरुमा शाक्यको समूहले १९९३ मा टी हाउस सञ्चालनमा ल्याएका थिए।

club himalaya2

जग्गा विवादले होटल सञ्चालन गर्न तत्कालै नमिल्ने र अन्योल छाएपछि टी हाउसलाई पहिलो इन्ट्रीको माध्यम बनाएको थियो। जसले गर्दा नगरकोटमा जाने पर्यटकहरूलाई खाजा र खानाका लागि सहज बनाएको थियो।

जग्गा खरिद गरेको करिब ६ वर्षपछि मात्र होटलको उद्घाटन गरिएको थियो। उनका दुवै साझेदारहरू भने माओवादी द्वन्द्वपछि बाहिरिसकेका छन् ।

२५ वर्ष पार गरेसँगै रिसोर्टले पर्यटकलक्षित सेवा सुविधालाई ध्यानमा राखेर आफ्नो क्षमता विस्तार गर्दै जाने योजना बनाएको यसका सञ्चालक योगेन्द्र शाक्यले बताए।

क्लब हिमालयको विस्तारसँगै समग्र नगरकोटलाई नै काठमाडौं आउने पर्यटकका लागि दोस्रो विकल्पका रूपमा रुपान्तरण गर्ने योजना रहेको उनले जानकारी दिए।

यो रिसोर्ट सन् १९९६ मे १४ मा ‘बुद्ध जयन्तीको दिन’ पारेर सञ्चालनमा आएको थियो।

त्यतिखेर रिसोर्टको उद्घाटन तत्कालीन पर्यटनमन्त्री चक्र बाँस्तोलाले गरेका थिए।

समुद्र सतहदेखि सात हजार दुई सय फिटको उचाइमा रहेको रिसोर्ट काठमाडौंदेखि ३२ किलोमिटर दूरीमा छ।

रिसोर्टमा स्ट्याण्डर्ड, डिलक्स र डिलक्स प्रिमियम लगायत तीन प्रकारका प्राइभेट बाल्कोनीसहितका ६८ कोठा छन्।

रिसोर्टमा इन्डोर हिटेड पुल, ज्याकुजी, अन्तर्राष्ट्रिय शैलीको बार तथा डाइनिङ, मल्टिपल सेमिनार हल लगायतका सेवा सुविधा छ।

हरेक कोठाबाट सूर्योदय र सूर्यास्तको दृश्यावलोकन सहजै गर्न सकिने रिसोर्टले जनाएको छ। सुरुमा होटलमा ४० वटा कोठा मात्र थियो । पछि लगानी विस्तार गर्दै कोठाको संख्या थपेको उनको भनाइ छ।

club himalaya3

क्लब हिमालय नगरकोटकै हब रहन सफल भएको दाबी उनको छ।

बिहानी झुल्के घाम होस् या हिमालय पर्वतको मनोरम दृश्य नियाल्न सकिने यस होटलमा कोरोना महामारीका बेला पनि उच्च सुरक्षा सतर्कता अपनाएर ग्राहकलाई सेवा दिइरहेको थियो।

‘क्लब हिमालयमा सुरक्षा मापदण्ड सधै उच्च प्राथमिकतामा रहेको छ, विश्व स्वास्थ्य संगठन र नेपाल पर्यटन बोर्डले तोकेका दिशानिर्देशहरु सबै पालना हुने गरी सेवाहरु वृद्धि गरेका छौँ’, बुधबार जारी विज्ञप्तिमा भनिएको छ, ‘पाहुनाका लागि दिनुपर्ने सुविधाहरुमा हामी कुनै कमी राख्दैनौँ, पाहुनाहरुको सुविधाको लागि हामीले सेवाहरु बढाउँदै लल्कजरी भिलाज र कोठाहरु थप परिष्कृत बनाउने योजना बनाएका छौँ।’

साथै यतिखेर नगरकोटको पर्यटकीय विकास तथा विस्तारका लागि एस होटल, सीई समूह र बैंकिङ तथा पर्यटन व्यवसायी पृथ्वीबहादुर पाँडेको सहकार्यमा ‘द हब नगरकोट’ नाममा मल्टि प्रोपर्टीको अवधारणामा एकीकृत पर्यटकीय आयोजना अगाडि बढाइएको छ।

यो मेगा प्रोजेक्टका लागि यतिखेर गृहकार्य भइरहेको बताउँदै शाक्यले भने, ‘यो हबमा पसल, सिनेमा हल, होटल तथा थुप्रै रेष्टुरेण्टहरु लगायतका परियोजनाहरु रहनेछन्। पर्यटकहरु एयरपोर्टमा ल्याण्ड हुने बित्तिकै नगरकोट जान सक्नेछन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad