ad ad

कारोबार


साढे दुई करोड जनसंख्याको पहुँचमा इन्टरनेट

साढे दुई करोड जनसंख्याको पहुँचमा इन्टरनेट

नेपालखबर
जेठ १२, २०७८ बुधबार ८:४३,

नेपालमा साढे दुई करोड जनसंख्याको पहुँचमा इन्टरनेट सेवाको पहुँच पुुगेको छ। नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७७/७८ को आठ महिना (गत साउनदेखि फागुन मसान्तसम्म) को तथ्यांकअनुसार नेपालमा दुई करोड ६३ लाख ५६ हजारभन्दा बढी जनसंख्याको पहुँचमा इन्टरनेट सेवा पुगेको हो।

प्राधिकरणको तथ्यांकअनुसार गत माघको तुलनामा फागुनमा नौ लाख ३६ हजारभन्दा बढी प्रयोगकर्ता थपिएका छन्। गत माघमा कूल दुई करोड ५४ लाख १९ हजार जनाको पहुँचमा इन्टरनेट सेवा पुगेको थियो।

नेपालमा कूल जनसंख्यामध्ये फागुन मसान्तसम्म ८७ दशमलव १९ प्रतिशत जनसंख्यामा इन्टरनेटको पहुँच पुगेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ। प्राधिकरणले जनसंख्या प्रक्षेपण (२०११–२०३०) लाई आधार मानेर प्रतिवेदन तयार पारेको हो। प्रतिवेदनमा प्राधिकरणले नेपालको कूल जनसंख्या दुई करोड ९८ लाख ७६ हजार ५३१ लाई आधार बनाएको छ।

प्राधिकरणको तथ्यांकअनुसार सबैभन्दा धेरै योगदान मोबाइल इन्टरनेटको रहेको छ। फागुनसम्म मोबाइल इन्टरनेटको हिस्सा ६४ दशमलव ८ प्रतिशत छ। एक करोड १५ लाख ६५ हजारभन्दा बढीको पहुँचमा थ्रिजी इन्टरनेट पुगेको छ। जसमा सबैभन्दा धेरै नेपाल टेलिकमको ९० लाख ९४ हजार र एनसेलको २४ लाख ७० हजार रहेको जनाइएको छ। गत माघमा एक करोड १३ लाख ५१ हजार प्रयोगकता रहेकामा फागुनमा दुई लाखभन्दा बढी थ्रिजीका प्रयोेगकर्ता थपिएका छन्।

त्यस्तै, फोरजीका प्रयोगकर्ता ७६ लाख ६८ हजार १८१ पुगेको छ। नेपालमा तीन दूरसञ्चार सेवा कम्पनीले फोरजी सेवा सञ्चालन गरेका छन्। तीन कम्पनी मध्येमा सबैभन्दा धेरै ग्राहक एनसेलको रहेको छ।

आठ महिनामा एनसेल कम्पनीका फोरजीका ग्राहक ४८ लाख ५६ हजार ७४२ जना पुगेको छ। गत माघको तुलनामा फागुनमा पाँच लाख ३० हजार ८०६ जना बढेका छन्। गत माघमा फोरजीका ग्राहक ४३ लाख २५ हजार ९३६ जना रहेका थिए।

प्राधिकरणको तथ्यांकअनुसार सरकारी स्वामित्वमा सञ्चालित नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को फोरजीका ग्राहक २५ लाख ८९ हजार २९४ जना पुगेका छन्। गत माघको तुलनामा फागुनमा ४४ हजार ५७० जनाले वृद्धि भएको छ। गत माघमा फोरजीका ग्राहक २५ लाख ४४ हजार रहेका थिए।

यसैगरी, स्मार्ट टेलिकमका फोरजी प्रयोगकर्ता दुई लाख २३ हजार १४५ जना पुगेको छ। गत माघको तुलनामा फोरजीका ग्राहक एक हजारले मात्र बढेका छन् । स्मार्ट टेलिकमका फोरजीका मात्र ग्राहक रहेका छन्। फिक्स ब्रोडब्यान्डको हिस्सा २२ दशमलव ३५ प्रतिशत रहेको छ। यसमा एडिएसएलका आठ लाख १२ हजार र एफटिटिएच इन्टरनेट ५९ लाख ४२ हजारभन्दा बढी छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .