श्री एयरलाइन्सले बम्बार्डियरको टर्बोजेट नयाँ जहाज आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराएको छ। एयरलाइन्सले आइतबार साँझ ८० सिट क्षमता भएको जहाज भित्र्याएको हो।
आन्तरिक उडानमा रहेका एयरलाइन्सले उडाइरहेकामध्ये यो जहाज सबैभन्दा ठूलो रहेको कम्पनीले जनाएको छ। यो टर्बो जेट इन्जिनयुक्त जहाज हो।
यही महिनाको दोस्रो साता अर्को जहाज पनि सोही कम्पनीबाट ल्याउने कम्पनीले जनाएको छ।
अन्तर्राष्ट्रिय उडानका साथै आन्तरिक उडानका लागि एयरलाइन्सले नयाँ गन्तव्यहरुमा उडान भर्न थप जहाजहरु ल्याएको हो। नयाँजहाजले पोखरा, सिमरा र जनकपुर उडान गर्ने जनाइएको छ।
श्रीसँग हाल बम्बार्डिएरको ५० सिट क्षमताका २ वटा र ७० सिट क्षमताका २ वटा जहाज छन्। यो जहाजसँगै श्रीसँग ५ वटा जहाज भएका छन्।
श्रीले हाल भैरहवा, नेपालगन्ज, विराटनगर, भद्रपुर र धनगढीमा हवाइ सेवा दिँदै आएको छ। श्रीले भारत र बंगलादेशका लागि पर्यटन मन्त्रालयबाट उडान सञ्चालन अनुमति पाइसकेको छ। भारतकै बनारसमा चार्टर्ड परीक्षण उडानसमेत गरिसकेको छ।
Shares
प्रतिक्रिया