कारोबार


ऊर्जामन्त्रीको घोषणाः चालू आवमा प्राधिकरणको नाफा साढे ८ अर्ब पुर्‍याउँछौँ

ऊर्जामन्त्रीको घोषणाः चालू आवमा प्राधिकरणको नाफा साढे ८ अर्ब पुर्‍याउँछौँ

नेपालखबर
भदौ १, २०७६ आइतबार ११:३१,

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपाल विद्युत प्राधिकरणलाई सरकारी संस्थानहरुमध्ये सबैभन्दा उत्कृष्ट बनाउने घोषणा गरेका छन्। प्राधिकरणको ३४औं वार्षिकोत्सवको अवसरमा आइतबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पुनले चालू आवमा प्राधिकरणलाई साढे ८ अर्ब रुपैयाँभन्दा बढी नाफामा लैजाने घोषणा गरेका हुन्।

मन्त्री पुनले गत आर्थिक वर्ष नेपाल विद्युत प्राधिकरणको उपलब्धि र गौरवको वर्ष भएको बताए। ‘कार्यकारी निर्देशकको व्यवस्थापकीय क्षमता, कर्मचारीको मिहिनेत, राजनीतिक नेतृत्वको निरन्तरको सहयोग लगायतले प्राधिकरण इतिहासकै उत्कृष्ट बन्न सफल भएको छ’, प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत रहेका पुनले भने, ‘अधिकांश संस्थाहरु घाटामा चलिरहँदा प्राधिकरण खुद नाफा कमाउने अवस्थामा पुगेको छ, अब यसलाई एक नम्बर संस्थान बनाउनेछौं।’

तीन वर्षअघि आठ अर्ब ८९ करोड रुपैयाँ खुद घाटामा रहेको प्राधिकरणले त्यसपछि निरन्तर नाफा कमाउँदै आएको छ। आव २०७५/०७६ मा प्राधिकरण सात अर्ब २० करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। सञ्चित नोक्सानी करिब १५ अर्बमा झरेको छ ।

गत आर्थिक वर्षमा विद्युत चुहावटलाई १५.३२ प्रतिशतमा झार्न प्राधिकरण सफल भएको छ। आव ०७४/०७५ मा २०.४५ प्रतिशत रहेको चुहावटलाई गत आवमा ५.१३ प्रतिशत विन्दुलाई घटाएर १५.३२ प्रतिशतमा झारिएको हो। नियमित विद्युत आपूर्ति हुन थालेपछि मुलुकको अर्थतन्त्रमा सकारात्मक प्रभाव परेको उल्लेख गर्दै मन्त्री पुनले आगामी दिनमा मुलुकमा पर्याप्त विद्युत उत्पादन भई भारत र बंगलादेशसँग विद्युत् व्यापारका लागि सौदाबाजी गर्न सक्ने अवस्थामा पुग्ने दाबी गरे।

मिटर नदिने, ट्रान्सफर्मर परिवर्तन नगर्नेजस्ता ग्राहकसँग प्रत्यक्ष जोडिएका विषयमा गुनासो आउने गरेको बताउँदै मन्त्री पुनले सेवा सुधार गरी ग्राहकमैत्री बन्न कर्मचारीलाई निर्देशन दिए। ‘उत्पादन, प्रसारण र वितरणको लागत घटाउने, प्रशासनिक खर्चलाई नियन्त्रण गर्नेजस्ता क्रियाकलापबाट लागतलाई कम गराई उपभोक्तालाई सस्तो बिजुली दिनुपर्छ’, उनले भने। ‘विगतमा उज्यालो दिन चुनौतीपूर्ण थियो, अब भरपर्दो र गुणस्तरीय सेवा दिनुपर्ने चुनौती छ।’

ऊर्जा सचिव एवं प्राधिकरण सञ्चालक समितिका सदस्य दिनेश कुमार घिमिरेले विद्युतको खपत बढाउनु अब चुनौतीपूर्ण रहेको बताए। कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चार्जिङ्ग स्टेसनहरु निर्माण गरी विद्युतीय सवारीसाधनको प्रवर्द्धन गर्ने, खाना पकाउने ग्यासलाई विद्युतीय चुलोले प्रतिस्थापन गर्ने लगायतका कार्यक्रम कार्यान्वयन गरी स्वदेशमा विद्युतको आन्तरिक खपत वृद्धि गर्नेतर्फ विशेष जोड दिइने बताए।

‘उत्कृष्ट सेवा प्रवाहको माध्यमबाट आर्थिक अवस्थामा सुधार ल्याउन सके प्राधिकरणप्रति सबैको विश्वास अभिवृद्धि हुने र यसबाट संस्थाको विकास र सुदृढीकरणका लागि पर्याप्त अवसरहरु सृजना हुनेमा विश्वस्त छौं’, उनले भने, ‘आगामी दिनमा मुलुकभरका जनतालाई पर्याप्त, नियमित, भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्ति गर्न हरसम्भव प्रयास गरिने प्रतिबद्धतासमेत व्यक्त गर्दछौं।’

कार्यक्रममा गत वर्ष उत्कृष्ट कार्यसम्पादन गर्ने १५ जना कर्मचारी, कार्यालयलगायतलाई सम्मान गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad