पछिल्लो १० दिनयता कोरोनाको नयाँ भेरियन्टले आक्रान्त भारतमा अक्सिजन कन्सन्ट्रेटर, अक्सिमिटर र नेबुलाइजर्सको मूल्य ५० देखि शतप्रतिशतसम्मले वृद्धि भएको भारतीय मिडियाले बताएका छन् ।
मागको तुलनामा आपूर्ति कम हुँदा यी चीजको मूल्यमा अत्यधिक वृद्धि भएको हो । अनलाइन खुद्रा बिक्रेता कम्पनी अमेजनले तोकिएको मूल्यबाहेक अधिक मूल्य लिने बिक्रेतालाई कारबाही गर्न सुरु गरेको बताएको छ।
अर्गनाइज्ड मेडिकल डिभाइसेज इन्डस्ट्री, कानुनी जानकार र उपभोक्ताले मूल्य नियन्त्रण गर्न सरकारसँग माग गरेको बताइएको छ ।
अक्सिजन कन्सन्ट्रेटरले हावाबाट अक्सिजन जेनरेट गर्छ । पछिल्लो हप्ता यसको मूल्य दुई गुणा बढी भएको छ । त्यस्तै अक्सिमिटरको मूल्य पनि एक हजार भारुबाट दुई हजारसम्म पुगेको छ । अफलाइन र अनलाइन दुवै बजारमा यसको मूल्य अत्यधिक दरमा बढेको बताइएको छ ।
भारत सरकारले पछिल्ले वर्ष यी वस्तुको मूल्य निर्धारण गरेको थियो तर केही बिक्रेता कम्पनपी र आयातकर्ताले यसको पालना नगरेको बताइएको छ । अमेजन इन्डियाका एक प्रवक्ताले मूल्यवृद्धि रोक्न कम्पनीले तत्काल कदम चालेको दाबी गरे । अमेजनले संकटको बेला यसरी मूल्यवृद्धि गर्नेविरुद्ध कडा कदम चाल्ने जनाउँदै कम्पनीको सेलर्स लिस्टिङबाट हटाइरहेको बताए ।
यसरी मूल्यवृद्धि गर्नु भारतीय कानुनको विपरीत हुने पनि उनले बताए । प्रायः एउटा अक्सिजन कन्सन्ट्रेटर खरिद गर्न ४५ हजार भारु पर्ने भए पनि कतिपय उपभोक्ताले लाखभन्दा धेरै रकम खर्च गर्नुपरेको गुनासो गरिरहेका छन् । यो डिभाइसको मासिक भाडा नै ५ हजारबाट बढेर १० देखि २० हजार भारुसम्म पुगेको बताइएको छ । नवभारत टाइम्सबाट

प्रतिक्रिया