कारोबार


बेला–बेला किन ह्वात्तै बढ्छ पठाओको भाडादर?

बेला–बेला किन ह्वात्तै बढ्छ पठाओको भाडादर?

नेपालखबर
बैशाख १०, २०७८ शुक्रबार ९:४३,

धादिङका रमेश शर्मा डेढ/दुई महिनायता पछिल्लो समय छोटो दूरीको यातायातमा लोकप्रियता कमाइरहेको पठाओ प्रयोग गर्छन्।

ज्ञानेश्वर बस्दै आएका उनको कार्यालय थापाथलीमा छ। सजिलो हुने भएकोले पठाओ रोजेका उनले निवासदेखि कार्यालयसम्मको पठाओ एपमा उठेको ८४ रुपैयाँ तिर्थे।

तर यो अवधिमा तेस्रोचोटि उनले फरक दरमा भाडा तिर्नुपर्‍यो। दुई महिने आवतजावतमा उनले एकपटक ९० रुपैयाँ, एकपटक सय र एकपटक १०३ रुपैयाँ तिर्नुपरेको गुनासो गरे।

उनले भने, ‘सधैँ ८४ रुपैयाँमा आउने गरेको थिएँ, तर बिहीबार बिहान साढे १० बजे पठाओ चढ्दा १०३ रुपैयाँ देखायो। त्यसमा अझै २ रुपैयाँ बढी अर्थात् १०५ रुपैयाँ तिरेँ।’

के कारणले पठाओको भाडा ह्वात्तै बढ्छ भन्ने कारण उनले अहिलेसम्म थाहा पाउनसकेका छैनन्। उनका अनुसार बिहीबार पठाओले ज्ञानेश्वर–कालिकास्थान–सिंहदरबार–माइतीघर हुँदै थापाथली आएको भाडादर झण्डै २२ प्रतिशतले बढायो। यसलाई निकै अस्वाभाविक मान्छन् उनी।

त्यसो त पछिल्लो समय पठाओले बेला–बेला ह्वात्तै भाडा बढाएको गुनासो बढ्नथालेको छ। भाडामात्र नभई कहिलेकाहीँ आकस्मिक रुपमा कहीँ जानखोज्दा राइडरले ‘रिक्वेस्ट एक्सेप्ट’ गर्ने तर लगत्तै ‘क्यान्सिल’ गर्ने गरेको गुनासो पनि बढिरहेको छ। सबैभन्दा बढी गुनासो भने भाडामै छ।

कहिलेकाहीँ त यात्रु कुरेर बसेका पठाओ राइडरले एपविनै उही गन्तव्य, उही रुटमा सदाझैँ तिर्ने गरेको भाडामा जान नमान्ने गरेको गुनासो पनि छ।

शर्माले भने, ‘एकपटक ज्ञानेश्वर उकालोमा एक जना राइडर भेटिए। राइडर नै भेटिएपछि मैले पनि एप खोलेर सर्च गर्ने झञ्झठ गरिनँ तर उनले लाग्ने भाडाभन्दा दोब्बर बढी मागे। मैले मानिनँ त्यसपछि उनले पनि जान मानेनन्।’

शर्माजस्ता ग्राहकले अहिले सामान्य अवस्थामै पनि राइडरले २० देखि २५ प्रतिशतसम्म बढी भाडा लिने गरेको गुनासो गरिरहेका छन्।

यसबारे सम्पर्क गर्दा पठाओकी बजार प्रबन्धक सुरक्षा हमालले भने डिमान्ड सप्लाईले गर्दा कहिलेकाहीँ भाडा बढ्नसक्ने बताउँछिन्।

सडकमा राइडर कम भएको अवस्थामा बढी राइडरको उपस्थितिको लागि भाडा बढाउने गरेको उनको भनाइ छ।

‘दिउँसोको तुलनामा राति भाडा बढेको हुनसक्छ। राति राइडर कम हुन्छ, त्यसैले भाडा बढाएर राइडरलाई प्रोत्साहन गर्ने गरेका हौँ’, हमालले भनिन्, ‘त्यसबाहेक मौसमअनुकूल नरहेको समयमा राइडर कम हुनसक्छन्। त्यस्तो अवस्थामा पनि बढ्नसक्छ।’

उनले असामान्य अवस्थामा बाहेक पठाओको भाडा नबढ्ने दाबी गरिन्।

‘अहिले हामीले भाडा बढाएको छैनौँ। हाम्रो भाडा निर्धारित नै हुन्छ’, उनले भाडा बढेको गुनासोबारे भनिन्, ‘दिउँसो पानी आएको समयमा बढेको हुनसक्छ। नियमित भाडा बढाएका छैनौँ।’

तर हमालले त्यसो भनिरहँदा पठाओ एपबाट आवतजावत गर्ने खोटाङका बस्नेत थर भएका एक यात्रु पनि पठाओको भाडा बेलाबखत उही दूरीमा पनि परिवर्तन हुने गरेको बताउँछन्।

उनले भने, ‘म नियमित पठाओ त चढ्दिनँ तर कहिलेकाहीँ आवश्यक पर्दा चढ्छु। भाडादर परिवर्तन भएको मेरो पनि अनुभव छ।’

पठाओ ट्याक्सीमा ललितपुरको कुपण्डोलदेखि काठमाडौंको घट्टेकुलो हुँदै मैतिदेवी चोकसम्म पुग्दा भाडादर फरक परेको उनले बताए।

नेपालमा पछिल्लो समय पठाओसँगै टुटल चढ्नेहरुको संख्या बढ्दै गएको छ। भनेको ठाउँमा समयमै पुग्न सकिने भएकाले माइक्रो, बस र ट्याम्पो छोडेर मानिसहरु राइड सेयरिङको सेवा लिइरहेका छन्।

यस्तो सेवा लिनेहरुको गुनासो चाहिँ एउटै ठाउँ पुग्न पठाओले लिने भाडा र टुटलले लिने भाडादर फरक भएको भन्ने छ।

केहि दिनयता टुटलको भाडादरमा देखिएको वेथितिबारे लक्ष्मण कार्कीले ट्विटरमा लेखेका छन्, ‘बेलुका ७ः१५ तिर, घट्टेकुलो–कौशलटारको लागि यस्तो भाडादर आयो...पठाओ १६०। टूटल १२०। किन यति फरक भएको होला?’ 

कार्कीकै ट्विटरमा अन्य प्रयोगकर्ताले पनि अन्तरक्रिया गर्दै त्यस्तै वेथिति आफूहरुले पनि भोगेको बताएका छन्।

त्यस्तै कतिपय ग्राहक भने ट्याक्सीको मिटरले उठ्ने भाडा र पठाओ एपले देखाउने भाडामा ठूलो अन्तर भएको गुनासो गर्छन्।

पठाओकी बजार प्रबन्धक सुरक्षा हमाल भने सामान्य अवस्थामा बढी भाडा लिएको खण्डमा ग्राहकले पाठाओको एपमार्फत वा फोन गरेरै गुनासो गर्नसक्ने बताउँछिन्। यसरी गुनासो आए बढी लिएको भाडा फिर्ता गर्ने नउले बताइन्।

उनले नेपालखबरसँग भनिन्, ‘बढी भाडा लिएको देखिएमा गुनासोपछि फिर्ता गर्न सकिन्छ।’

नेपालमा पठाओ सेवा सन् २०१८ सेप्टेम्बर २५ देखि आधिकारिक रुपमा सुरु भएको थियो। बंगलादेशमा सर्वप्रथम यो सेवा सन् २०१५ मा सुरु गरिएको थियो।

पठाओ नेपालमा कति लोकप्रिय बनेको छ भन्ने कुरा त ३५ लाखभन्दा बढी डाउनलोड भएको यसको एपले पनि देखाउँछ। पठाओ नेपाल प्रालिको वेबसाइटमा उल्लेख भएअनुसार नेपालमा डेढ लाख बढी ‘डेली राइड्स र डेलिभरी’ हुने गरेको छ। यसबाट ५० लाख बढी जनसंख्या प्रभावित भएको पठाओ नेपालले जनाएको छ।

तर भाडाका कुरामा गुनासा बढ्नु स्वयं पठाओकै लागि राम्रो कुरा होइन। भाडाबारे पठाओले आफ्नो वेबसाइटमा समेत यसका सेवा प्रयोगबापतको भाडादर देखिने गरी राखेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad