देशको अर्थतन्त्र बलियो बनाउन सरकारले युवा उद्यमशीलतामा लगानी बढाउनुपर्ने निकर्षसहित दुई दिने नेपाल युवा उद्यमशीलता सम्मेलन २०१९ सम्पन्न भएको छ। ४३ जिल्लाका ५ सय युवा प्रतिनिधिहरुले उठाएका मागहरुलाई समेटेर ११ बुँदे घोषणापत्र जारी गरिएको हो।
उद्यम गर्न चाहने युवालाई सरकारले पहिचान गरी निसर्त लगानी गर्नुपर्ने, आइडिया बैंक स्थापना गर्नुपर्ने, विनो धितो ऋण र ब्याज अनुदानको झन्झटिलो प्रक्रिया अन्त्य गर्नुपर्ने, सरकारले युवा उद्यमशीलताको विकासका लागि सञ्चालन गरेका कार्यक्रमहरु एकद्वार प्रणालीबाट हुनुपर्ने र सेवा, सुविधा र अनुदानको कार्यक्रम पारदर्शी हुनुपर्नेमा सम्मेलनले निष्कर्ष निकालेको छ।
प्रदेश ३ सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र विशाल मिडिया ग्रुपको आयोजना तथा आईएमई फाउण्डेसनको सहआयोजना रहेको सम्मेलनबाट प्राप्त उपलब्धिबारे समापन सत्रमा बोल्दै सम्मेलन मूल आयोजक समितिका संयोजक विशाल गैरेले उद्यम गर्न चाहने युवाहरुको बिजनेस प्लानमाथि सरकार र निजी क्षेत्र लगानी गर्न तयार हुनुले युवाहरुमा उत्साह थपेको र आगामी दिनमा नयाँ स्टार्टअप कम्पनी खोल्न यसले सहयोग पुर्याउने बताए।
समापनसत्रमा संघीय सरकारका कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनाल बलदेवले विगतका कमीकमजोरी र गलत प्रवृत्तिका कारण युवाहरुले विदेश पलायन हुनुपरेको चर्चा गर्दै दुई तिहाइ प्राप्त यो सरकारले व्यवस्थित योजनाका साथ युवाहरुको आइडियामाथि लगानी गर्ने प्रतिबद्धता व्यक्त गरे। समापनसत्रमा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं आईएमई गु्रपका अध्यक्ष चन्द्र ढकालले नयाँ युवाहरुको सोच माथि लगानी बढाउने र सरकारले उद्यम गर्न चाहने युवालाई सहजीकरण गर्नुपर्नेमा जोड दिए।
सम्मेलनमा पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल, अर्थमन्त्री डा. युवराज खतिवडा, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा, योजना आयोगका उपाध्यक्ष डा. पुष्प कँडेल, पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, शंकरप्रसाद कोइराला, प्रदेश ३ का उद्योगमन्त्री अरुण नेपाल, पूर्वउद्योगमन्त्री महेश बस्नेत, उद्योग सचिव यामकुमारी खतिवडा, वरिष्ठ उद्यमी हरीभक्त शर्मा, चन्द्र ढकाल, युवा उद्यमी हेमराज ढकाल, लक्ष्मण के.सी, दिलिप अग्रवाल, बैंकर अनिलकेशरी शाह, अनुपमा खुन्जेली, प्रविन बस्नेतलगायत ४० भन्दा बढी स्पिकरले आफ्नो प्रस्तुति दिएका थिए।
सम्मेलनमा उद्यम गर्न चाहने युवाहरुलाई लक्षित गरी विशाल फाउन्डेशनले प्रकाशन गरेको युवा उद्यमशीलता पुस्तकको विमोचन समेत गरिएको थियो ।
Shares

प्रतिक्रिया