कारोबार


नाइहरुको व्यवसायिक विकासमा प्राइम कमर्सियल बैंकको साथ

नाइहरुको व्यवसायिक विकासमा प्राइम कमर्सियल बैंकको साथ

नेपालखबर
चैत २५, २०७७ बुधबार १४:३२,

प्राइम कमर्सियल बैंक लिमिटेड र नाइहरुको छाता संगठन नेपाल नाई ट्रेड युनियनबीच समझदारी पत्रमा हस्ताक्षर गरेको छ।

समझदारी पत्रमा युनियनको तर्फबाट केन्द्रीय समितिका अध्यक्ष गजेन्द्र ठाकुर र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरले हस्ताक्षर गरेका हुन्।

हातमा सिप भएका तथा पुर्खाैंदेखि कपाल काट्ने व्यवसाय अँगालेका व्यक्तिहरुलाई स्वावलम्बी बनाई उनीहरुको पेशालाई व्यबसायीकरण गर्ने उद्देश्यले उक्त छाता संगठनका सम्पूर्ण बैंकिङ सेवा सुविधा एकै ढोकाबाट उपलव्ध गराउने लक्ष्य बैंकले राखेको छ। साथै, बैंकले सदस्यहरुलाई सामाजिक सुरक्षाको व्यवस्था गर्दै दुर्घटना एवम् अस्पताल भर्ना बीमा लगायतका सुविधाहरु पनि प्रदान गर्नेछ।

समझदारी अनुसार बैंकले युनियनका केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहमा शाखा रहेका ४१ जिल्लाका करिब ३१ हजार नाई तथा युनियनका कर्मचारीहरुको प्राइम बैंकमा संस्थागत, व्यवसायिक तथा व्यक्तिगत बैंक खाता खोल्ने व्यवस्था गर्नेछ। व्यक्तिगत खाता सञ्चालन गरेका सदस्यहरुलाई बैंकले पहिलो वर्ष निशुल्क सेवासहित मोबाइल बैंकिङ, भिसा डेविट कार्ड, परिवारका २ जनासम्मको डिम्याट खाता खोल्ने सेवा उपलब्ध गराउनेछ।

सामाजिक सुरक्षातर्फ सम्झौता भएको मितिले २ वर्षभित्र व्यक्तिगत खाता खोल्ने सदस्यका लागि ५ लाख बराबरको दुर्घटना बीमा र २५ हजार बराबरको अस्पताल भर्ना बीमा उपलब्ध गराउनेछ। डिजिटल बैंकिङतर्फ व्यवसाय खाता सञ्चालन गरेका सदस्यका लागि क्यूआर कोडको व्यवस्था गर्नेछ र यस मार्फत कारोबार गरे वापत यो सम्झौता मितिले पहिलो ३ महिनासम्मका लागि कारोबारमा प्रोत्साहन स्वरुप बैंकले प्रति कारोवार रु. ५ थप गरिदिनेछ।

यसैगरी कर्जा सेवातर्फ एक धितोमा प्रति ऋणी रु. ५० हजारदेखि २ लाखसम्म सरल प्रक्रियाबाट सामुहिक लगानी गर्नेछ। साथै, आवश्यक्ताको आधारमा उपकरण कर्जा, अतिरिक्त उपभोग कर्जा आदि थप गर्न सक्नेछ। ठूला कर्जा लगानी सम्बन्धमा सम्भाव्यताको प्राविधिक सहजीकरणसहित कर्जा प्रवाह गर्नेछ।

दीर्घकालीन लक्ष्य अन्तर्गत चालु आ.व. २०७७-०७८ को अन्तिम चौमासिकभित्र व्यक्तिगत, व्यवसायिक तथा युनियनको संस्थागत गरी कम्तीमा २००० सदस्यको खाता खोल्ने, देशभरका ५००० सदस्यहरुमा बैंकिङ तथा वीमा साक्षरता पुर्‍याउने र कम्तीमा ३०० जना व्यवसायीलाई कोरोना प्रभावित व्यवसाय पुनःउत्थान सहुलियत कर्जा प्रवाह गर्ने लक्ष्य रहेको छ।

नाई व्यवसायिक विकास अभियान नामाकरण गरिएको उक्त समझदारीअनुसार युनियनले नाई व्यवसायलाई कानुनी रुपमा सुरक्षित, व्यवसायिक रुपमा व्यवस्थित र मर्यादित बनाउँदै आफ्ना सदस्य र समुदायको बृहत्तर विकासका लागि नाई सहकारी, नाई उद्योग, नाई तालीम केन्द्र, नाई कल्याण कोषलगायतका सेवा विस्तार गर्ने लक्ष्य लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad