कारोबार


संसारभर २७ सय ५५ अर्बपति, यी हुन् १० सर्वाधिक धनाढ्य

संसारभर २७ सय ५५ अर्बपति, यी हुन् १० सर्वाधिक धनाढ्य

नेपालखबर
चैत २५, २०७७ बुधबार ९:५,

चर्चित म्यागजिन फोर्ब्सको ३५औँ वार्षिक अर्बपति सूचीमा यो वर्ष अमेजनका जेफ बेजोसले बाजी मारेका छन्।

संसारकै धनाढ्य उनको सम्पत्ति १ खर्ब ७७ अर्ब अमेरिकी डलर पुगेको छ। एक वर्षअघिको तुलनामा उनको सम्पत्ति ६४ अर्ब डलर बढी हो। अमेजनको सेयर मूल्य बढ्दा बेजोस सर्वाधिक धनी बन्न पुगेका हुन्।

दोस्रो स्थानमा भने टेस्लाका प्रमुख एलन मस्कले ओगटेका छन्। उनको सम्पत्ति १ खर्ब ५१ अर्ब डलर छ। एक वर्षअघि उनको सम्पत्ति १ खर्ब २६ अर्ब डलर थियो। तर उनी छोटो समयमा धेरै धनार्जन गर्ने अर्बपति हुन्। गत वर्ष उनी ३१औँ नम्बरमा थिए। तर यो वर्ष टेस्लाको सेयर ७०५ प्रतिशतले बढेपछि उनी संसारकै दोस्रो ठूलो धनी बनेका हुन्।

तेस्रो स्थान फ्रेन्च लक्जरी सामान व्यापारी बर्नार्ड आर्नल्ट बनेका छन्। उनको सम्पत्ति १ खर्ब ५० अर्ब डलर छ। चौथो स्थानमा माइक्रोसफ्टका मालिक बिल गेट्स छन्। उनको सम्पत्ति १ खर्ब २४ अर्ब डलर छ। पाँचौँ स्थानमा रहेका फेसबुकका मार्क जुकरबर्गको सम्पत्ति ९७ अर्ब डलर छ। छैठौँ स्थानमा भने बर्कशाइर हाथावेका वारेन बफेट छन्। उनको सम्पत्ति ९६ अर्ब डलर छ।

सातौँ स्थानमा सफ्टवेयरका मालिक ल्यारी एलिसन छन्। उनी ९३ अर्ब डलर सम्पत्तिका मालिक हुन्। गुगल प्रमुख ल्यारी पेज ९१ अर्ब ५० करोड डलरसहित आठौँ स्थानमा रहँदा गुगलकै सर्जे ब्रिन ८९ अर्ब डलरसहित नवौँ स्थानमा छन्।

यो पनि –
नेपालका एक्ला डलर अर्बपति चौधरी फोर्ब्सको सूचीमा २१४१औँ नम्बरमा, कति पुग्यो सम्पत्ति?

यता भारतीय अर्बपति पनि उच्च १० धनीभित्र अटाएका छन्। उनी ८४ अर्ब ५० करोड डलरसहित दशौँ स्थानमा पुगेका हुन्।

संसारभर २७ सय ५५ अर्बपति, १ सय ३१ खर्ब डलर सम्पत्ति
यसैबीच, फोर्ब्सको ताजा सूचीअनुसार संसारभर दुई हजार सात सय ५५ जना अर्बपति रहेका छन्। एक वर्षअघिभन्दा यो ६ सय ६० जना बढी हो। यी सबैको कुल सम्पत्ति नै १ सय ३१ खर्ब अमेरिकी डलर पुग्ने फोर्ब्सले जनाएको छ।

यीमध्ये ४ सय ९३ जना नयाँ अर्बपति बनेका छन्। हरेक १७ घण्टामा एक जना नयाँ अर्बपति बनेको फोर्ब्सले जनाएको छ। तिनमा पनि २ सय १० जना चीन र हङकङका छन् भने ९८ जना अमेरिकाका छन्।

नयाँ अर्बपतिमध्ये सबैभन्दा धनी भने अमेरिकी राज्य नेवाडाकी मिरियम एडेल्सन छिन्। उनको सम्पत्ति ३८ अर्ब २० करोड डलर छ। जनवरीमा क्यासिनो बादशाहका रुपमा परिचित उनका पति शेल्डन एडेल्सनको मृत्यु भएपछि सम्पत्ति उनको नाममा आएको हो।

संसार कोरोनाको चपेटामा रहँदा पनि ८६ प्रतिशत अर्बपतिको सम्पत्ति एक वर्षअघिको तुलनामा बढेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad