नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले आर्थिक वर्ष २०७६-०७७ को नाफाबाट सेयरधनीलाई प्रतिसेयर ४० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।
टेलिकमको शुक्रबार बसेको १३ औं वार्षिक साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरेको ४० प्रतिशत नगद लाभांश पारित गरेको हो।
यस्तै साधारणसभाले वार्षिक प्रतिवेदन पास गर्ने, अनुसूचीहरु पारित गर्ने र आर्थिक वर्ष २०७७-०७८ को लागि महालेखापरीक्षकको कार्यालयको परामर्श तथा कम्पनीको लेखा परीक्षण समितिको सिफारिसमा लेखापरीक्षक नियुक्त गरेको टेलिकमका प्रवक्ता राजेश जोशीले बताए। साधारणसभाले सर्वसाधारण सेयरधनीको प्रतिनिधिमा अम्बिकाप्रसाद पौडेललाई निर्विरोध निर्वाचित गरेको पनि प्रवक्ता जोशीले बताए।
साधारणसभामा सेयरधनीहरुले राखेको जिज्ञासाको जवाफ कम्पनीका अध्यक्ष र कार्यकारी प्रमुखले दिएको पनि प्रवक्ता जोशीले बताए। टेलिकमले गत आर्थिक वर्षमा ९ अर्ब ७४ करोड ८९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।
यस्तै कम्पनीको प्रतिसेयर आम्दानी ६४ रुपैयाँ ९९ पैसा रहेको छ। गत आर्थिक वर्षमा टेलिकमको कुल ग्राहक संख्या २ करोड पुगेको वार्षिक प्रतिवेदनमा उल्लेख छ।

प्रतिक्रिया