कोभिड संक्रमण जोखिमको रोकथाम तथा नियन्त्रणका लागि सार्वजनिक यातायात क्षेत्रमा कडाइ गरिने भएको छ।
काठमाडौं उपत्यकामा सबैभन्दा धेरै कोरोना संक्रमित फेला पर्नथालेपछि काठमाडौं जिल्ला प्रशासनले सक्रियता देखाएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार काठमाडौंमा कुल ४१ नयाँ संक्रमित फेला परेका थिए। भक्तपुरमा १९ जना र ललितपुरमा पाँच जना गरी काठमाडौं उपत्यकामा एकै दिन ६५ जना संक्रमित फेला परेका थिए। बिहीबार देशभर एक सय २० जना मात्र संक्रमित फेला परेका थिए । मन्त्रालयका अनुसार दुई हजार आठ सय ९१ जनाको परीक्षण गर्दा एक सय २० जनामा कोरोना पोजेटिभ देखिएको हो ।
कोरोनाको उच्च जोखिम देखिएपछि शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रमुख जिल्ला अधिकारी, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, यातायात व्यवसायी र यातायात मजदूरहरुबीच भएको छलफलमा कोभिड संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सार्वजनिक यातायात क्षेत्रलाई कडाइ गर्ने निर्णय भएको हो।
प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले सार्वजनिक यातायात क्षेत्रमा स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउने निर्णय भएको बताए।
सार्वजनिक यातायात क्षेत्रमा आजैदेखि लागू हुनेगरी अनिवार्य मास्क लगाउने, सिट क्षमता अनुसार यात्रुहरु राख्ने, भौतिक दूरीलाई व्यवस्थित गर्ने र बसपार्कमा साबुनपानीको व्यवस्था गरी हात धुने व्यवस्था गर्ने, माइकिङ गर्ने, चनचेतना फैलाउने र अनुगमनलाई प्रभावकारी बनाउने निर्णय भएको पनि प्र.जि.अ. पराजुलीले बताए।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष विजयबहादुर स्वारले भारतमा कोरोनाको संक्रमण दर बढ्दै गएको र नेपालमा पनि बढ्दै जाने देखिएकाले पूर्व सावधानी अपनाउने सम्बन्धमा छलफल भएको बताए।
सार्वजनिक यातायात क्षेत्रलाई कसरी जोखिमबाट बचाउन सकिन्छ भन्ने विषयमा छलफल भएको बताए।
कोभिड संक्रमणको दोस्रो लहर आउनसक्ने सम्भावना देखिएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निकायसँग छलफल गरिरहेको छ।
शुक्रबारको बैठकमा सार्वजनिक यातायातमा मास्क नलगाई यात्रा गर्ने यात्रुलाई कारबाही गर्ने निर्णय भएको पनि जिल्ला प्रशासन कार्यालय काठमाडौंले बताएको छ।

प्रतिक्रिया