पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सरसफाइलाई एक साताभित्र सुधार्न अल्टिमेटम दिएका छन् ।
विमानस्थलको आकस्मिक निरीक्षणमा पुगेका मन्त्री ढकालले सरसफाइको अवस्था दयनीय भएको भन्दै सुधार्नका लागि समय तोकेका हुन्।
‘सरसफाइको हिसाबले हेर्दा विमानस्थलमा अवस्था दयनीय रहेको छ। विमानस्थलमा करिब तीन सय सफाइ मजदूर साथीहरु कार्यरत हुनुहुन्छ। आठ घण्टाको हिसाबले काम गर्दा एक पटकमा एक सय मानिस लाग्नु भनेको ठूलो कुरा हो’ ढकालले भने, ‘विमानस्थल जुन प्रकारले सौन्दर्य र आकर्षण हुनुपर्ने थियो त्यस्तो हुनसकेको छैन।’
सचिव यादव कोइराला, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल र विमानस्थलका प्रमुख प्रतापबाबु तिवारीसहितको टोलीले निरीक्षण गरेको थियो।
प्रमुख तिवारीले विमानस्थलको निर्माण कार्य सञ्चालन भैरहेको कारण सरसफाइमा समस्या देखिएको बताएका छन्।
‘कन्ट्रक्सनको कामको गर्दा केही समस्याहरु रहेका छन्। कार्ययोजना बनाएर सुधारको काम अघि बढ्ने छ’ तिवारीले भने।
मन्त्री ढकालले सात दिनपछि पुनः विमानस्थलको अनुमगनमा आउने जानकारी गराएका थिए। सो क्रममा मन्त्री ढकालले विमानस्थलभित्र सम्झौताअनुसार अन्य व्यापारिक संघसंस्थाहरुले काम गरेको वा नगरेको विषयमा पनि चासो राखेका थिए।
‘विमानस्थलमा क्षेत्रमा सम्झौतामा अनुसार काम भएको छ कि छैन। सम्झौताअनुसार नभएको भए त्यसलाई त्यसैअनुसार गर्नुहोला’ मन्त्री ढकालले भने, ‘सञ्चालन गर्दा भएका सम्झौतामा सहमतिमा र अन्तर्राष्ट्रिय विमानस्थलभित्र छौँ भन्ने विषयमा उच्च आचारणमा प्रदर्शन गर्नुहोला।’

प्रतिक्रिया