नेपाल आयल निगम (धनुषा) अन्तर्गत सखुवा महेन्द्रनगरस्थित डिपोबाट सञ्चालन हुने ट्यांकरका चालक आन्दोलित भएका छन्।
भारत बिहारको बरौनीबाट ढुवानी गर्ने ट्यांकरबाट पेट्रोल चुहावट भएको पाइएपछि चालक संघका अध्यक्ष जोगी यादवलाई प्रहरीले पक्राउ गरको छ।
त्यसैको विरोधमा मंगलबार दिउँसोदेखि ढुवानी बन्द गर्दे ट्यांकर चालक आन्दोलनमा उत्रेका हुन्।
डिपो प्रमुख मनोज साहले अनावश्यक रूपमा अनुगमन गरी चालकलाई दुःख दिएको र संघका अध्यक्षलाई फसाइएको आरोप लगाए।
आयल निगमले अनुगमन गर्दा केही ट्यांकरबाट ५० लिटरसम्म तेल कम पाइएपछि चारवटा ट्यांकरलाई कारबाही गरिएको जनाएको छ।
कार्यालय स्रोतका अनुसार तेल चुहावट भएका ट्यांकरका चालकले त्यसको दोब्बर तेल तिर्नुपर्ने तथा चार दिनसम्म लोड तथा अनलोड गर्न नपाउनेजस्ता कारबाही गर्ने गरिएको छ।
भारतमै अनुगमन गर्ने क्रममा पेट्रोल चुहावट भएको पाइएका चारवटा ट्यांकरलाई आयल निगमले भिठ्ठामोड बोर्डरमै रोकेको एक व्यवसायीले बताए। त्यस क्रममा ट्यांकर ल्याउन खोज्दा चालक संघका अध्यक्ष यादवलाई आयल निगमले पक्राउ गर्न लगाएको चालकहरूले बताएका छन्।
नेपाल आयल निगम (धनुषा) को सखुवा महेन्द्रनगरको डिपोअन्तर्गत धनुषा, महोत्तरी र सिन्धुलीमा पेट्रोल, डिजेल र मट्टितेल आयात/निर्यात हुने गरको छ।
पेट्रोल बरौनीबाट ल्याउने गरिएको छ भने डिजेल अमलेखगन्जबाट। डिपोअन्तर्गत झन्डै सय ट्यांकर ढुवानीमा संलग्न छन्।
पटकपटक कार्यालय र चालकबीच विवाद हुनुको मुख्य कारण सेन्टिग्रेड (आलोपालो) प्रणालीबाट ढुवानी हुनु रहेको व्यवसायीको दाबी छ।

प्रतिक्रिया