कारोबार


आफन्तसँग ढाँटेर लिएको १ लाख ऋणबाट जाे बने ११ होटलको मालिक

आफन्तसँग ढाँटेर लिएको १ लाख ऋणबाट जाे बने ११ होटलको मालिक

नारायण अधिकारी
फागुन २४, २०७७ सोमबार ६:२५,

आफन्तसँग ढाँटेर एक लाख ऋण लिएर व्यवसाय सुरु गरेका एक युवा १५ वर्षमा ११ होटल र रेष्टुराँको मालिक बनेका छन्।

नेपालमै व्यवसाय गर्छुभन्दा ऋण नपत्याइएपछि विदेश जान भन्दै ऋण लिएका गुल्मीका शङ्कर भण्डारीको नेतृत्वमा अहिले ११ होटल र रेष्टुराँ छन्।

वि.सं. २०३९ मा गुल्मीको तत्कालीन रुपकोटमा जन्मिएका भण्डारीले वि.सं. २०५९ मा आफन्तसँग एक लाख ऋण लिएर साझेदारीमा काठमाडौँको सुन्धारामा होटल सुरु गरे।

मान्यजन आफन्तसँग काम गर्दा आफू होचिएको महसुस गरेसँगै उनले नजिकै परिवारले हेर्ने गरी किराना पसल थप गरे। पसल सञ्चालनका लागि थोरै पैसा ऋण पाएपछि सोही पैसाले किराना पसल सुरु गरे। पसलमा सामान राख्ने ठाउँ खुल्ला देखिएपछि अन्यत्रबाट खाली कार्टुन ल्याएर ¥याक भरेको उनले स्मरण गरे।

उनले भने, ‘पसल सुरु गर्दा ५० हजार मात्रै थियो, त्यसले सामान धेरै आएन, अन्यत्रबाट कार्टुन ल्याएर पसल भरेँ।’

८० हजार ऋण खोजेर ३० हजारको र्‍याक बनाएपछि ५० हजारको सामानबाट उनले पसल सुरु गरे।

सो पसल सुरु भएको दिनदेखि नै निकै राम्रो व्यापार भएको स्मरण गर्दै उनले भने, ‘दैनिक एक लाख ५० हजारसम्मको व्यापार भयो।’

आफूलाई भने होटलमै लगाव भएकाले साझेदारीको होटल छाडेर वि.सं. २०६३ मा सुन्धारामै एउटा घर भाडामा लिएर उनले प्रेसिडेन्ट होटल सुरु गरे।

होटल सुरुवाती अवस्थाको दुःख सम्झँदै उनले भने, ‘पैसा नभएपछि २० कोठे घरको चार कोठा मात्रै तयार पारेर होटल सुरु गरेँ।’ क्रमशः किराना र होटलको कमाइले उक्त होटल एक वर्ष लगाएर पूर्ण क्षमतामा सञ्चालन गरेको उनले बताए।

त्यतिबेला उनीसँग एक साझेदार पनि थिए।

निरन्तरको मिहिनेतसँगै होटलले व्यवसायमा फड्को मार्दै गयो। वि.सं. २०६५ मा सुन्धारामै ४० कोठाको अर्को घर लिएर उनले होटल सुरु गरे।

दुवै होटलको सफलताले उनलाई त्यतिकैमा रोकिन मन लागेन। उनले वि.सं. २०६९ मा रुपन्देहीको लुम्बिनीमा १५ कोठाको होटल सुरु गरे। वि.सं. २०७२ सालमा बालाजुमा २० कोठाको होटल सुरु गरे।

होटलको व्यवसाय फस्टाउँदै गएपछि उनलाई रेष्टुराँमा हात हाल्ने हौसला मिल्यो। त्यससँगै वि.सं. २०७३ मा सुन्धारामा पे्रसिडेन्ट सेकुवा सुरु गरे। सेकुवाको स्वादले धेरैको मन लोभ्याएपछि उनलाई थप रेष्टुराँ खोल्ने चाहना बढेर गयो।

क्रमशः कलङ्कीको रविभवन, महाराजगञ्ज, माछापोखरी र चितवनको भरतपुरमा प्रेसिडेन्ट सेकुवा सुरु भयो।

भरतपुरमा सेकुवाको व्यापार सुरुसँगै उनलाई चितवनको ताससँग खेल्न रहर जाग्यो। यही रहरले नारायणगढको पुलचोकमा आजबाट प्रेसिडेन्ट तास बजार सुरु गरेका छन्।

चितवनमा प्रख्यात खसीको मासुबाट बनाइने तासलाई विविधीकरण गर्दै उनले कुखुरा, अण्डा र आलुको समेत तासको मेनु ग्राहकसामु ल्याएका छन्।

उनले भने, ‘हामीकहाँ चितवनमा नपाइने धेरै प्रकारका तास पाइन्छ।’

उनको व्यवसायमा एकपछि अर्को गर्दै फड्को मार्ने क्रम भने अझै रोकिएको छैन। उनले बालाजुमा आगामी चैतबाट बेकरी सुरु गर्दै छन् भने चितवनकै कुरिनटारमा साझेदारीमा ३० कोठाको रिसोर्ट निर्माणको प्रक्रिया सुरु गरेका छन्।

रिसोर्टबाहेक अन्यमा ७० प्रतिशत उनको आफ्नै लगानी छ भने ३० प्रतिशत स्थानीय र कर्मचारीलाई सेयर दिएका छन्।

व्यापारमा गरेको आम्दानीले अर्को होटल र रेष्टुराँ खोल्दै चेनको विकास उनले गरिरहेका छन्। देशका प्रमुख सहरहरुमा रेष्टुराँ खोल्ने उनको चाहना छ।

उनले भने, ‘काठमाडौँमा मात्रै २० वटा रेष्टुरेण्टका आउटलेट खोल्ने तयारी गर्दै छु।’

होटल रेष्टुराँबाट कमाएको रकम घरजग्गा किन्न खर्च नगरेको भन्दै उनले भने, ‘अहिले पनि म भाडामा बस्छु, बस्ने घरभन्दा एउटा थप होटल वा रेष्टुरेण्ट खोल्ने मेरो चाहना छ।’

२५० जना हाराहारीलाई रोजगारी दिलाएको बताउँदै उनले भने, ‘धेरैलाई साहु बनाउने र रोजगारी दिलाउने अभियानमा म लागिरहेको छु।’

‘न्यून दरमा सेवा र गुणस्तर तारे होटलसरह’ भन्ने नाराका साथ लागेका उनले स्वच्छ वातावरण, सरल ठेगानास्तरीय सेवा र स्वादिष्ट खानामा नै ध्यान पुर्‍याएका कारण सफलता मिलेको बताए।

एउटा होटल वा रेष्टुराँ सञ्चालन गर्न ५० लाखदेखि दुई करोडसम्म खर्च भएको उनको भनाइ छ।

कम खर्चमा बनेको सुन्धाराको होटलमा ५० लाख लगानी भएको बताउँदै उनले भरतपुरको सेकुवामा दुई करोड खर्च भएको जानकारी दिए।

व्यवसायसँगै उनले सामाजिक क्षेत्रमा पनि सहयोग गर्दै आएका छन्। उनले गुल्मीमा आफूले अध्ययन गरेको विद्यालयमा अध्ययनरत १५ विद्यार्थीको अभिभावकत्व लिएर सम्पूर्ण खर्च गर्दै आएका छन्।

चितवनको रङ्गशालादेखि चेपाङ बालबालिकालाई समेत उनले समय समय सहयोग दिँदै आएको बताए। व्यवसायमा उनलाई भाइ कृष्ण भण्डारीसहित परिवारको साथ र सहयोग छ। सेवाग्राहीको मायाकै कारण सफलता मिलेको बताउने उनले स्वदेशमै मिहिनेत गर्‍यो भने सफल हुने बताउँछन्।

आफूले मलेसिया जाने भनेर ढाँटेर ऋण लिएर व्यवसाय सुरु गरेको स्मरण गर्दै उनले अहिले व्यवसाय गर्नलाई सानो रकम जुटाउन आफूलाई जस्तो कठिन नपर्ने भएकाले विदेश जान छोडेर स्वदेशमै व्यवसाय गर्न युवालाई आग्रह गर्छन्।

उनको सुझाव छ - क्षमता, दक्षता, विज्ञताअनुसारको मिहिनेत गर्‍यो भने सफलता मिल्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad