मुलुककै अग्रणी डिजिटल वित्तीय सेवा कम्पनी एफवान सफ्ट इन्टरनेसनल १८ औँ वर्षमा प्रवेश गरेको छ।
सन् २००४ को मार्च ६ मा सुरु भएको कम्पनी १७ वर्षमा नेपालको ठूलो आइटी कम्पनीका रूपमा स्थापित भएको छ। कम्पनीले वित्तीय क्षेत्रमा आवश्यक पर्ने सबैखाले प्रविधिको निर्माण गरेको छ।
एसएमएस बैंकिङबाट आफ्नो सेवा स्थापना गरेको कम्पनीले हाल वित्तीय क्षेत्रलाई अवश्यक पर्ने ईन्टरनेट बैंकिङ, मोबाईल बैंकिङ, भाइबर बैंकिङ, फोनलोन जस्ता निकै रूचाइएका प्रविधिहरू निर्माण गरिसकेको छ।
यस्तै एफवान सफ्टले इसेवा र फोनपेजस्ता विद्युतीय भुक्तानी भुक्तानी सेवाको विकास गरेको छ।
तीन जना युवाको परिकल्पनाबाट सुरू भएको एफवान सफ्ट ग्रुपमा अहिले एक हजारभन्दा बढी दक्ष जनशक्तिलाई रोजगारी प्रदान गरेको कम्पनीले जनाएको छ।
१७ औँ वार्षिक उत्सवका अवसरमा एफवान सफ्ट इन्टरनेसनलका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले एफवान सफ्टले निर्माण गर्ने प्रविधिले आम मानिसको दैनिकी सहज बनाओस् र त्यसको फाइदा मुलुकलाई पुगोस् भन्ने दृष्टिकोण राखेर प्रविधि निर्माण गरेको बताए।
‘हामीले डिजिटल नेपाल बनाएर देशको जीडीपीमा पनि ठूलो योगदान दिन सकौँ भन्ने उदेश्य राखेका छौँ,’ उनले भने, ‘यसका लागि आगामी दिनमा हामी अझ मिहिनेतका साथ लाग्नेछौँ।’
एफवान सफ्ट गु्रपअन्तर्गत ईसेवा, फोनपे, इसेवा मनि ट्रान्स्फर, दियालो टेक्नोलोजी, कोजेन्ट हेल्थ, लोजिका, सिरानटेकजस्ता एक दर्जन बढी कम्पनी सञ्चालनमा छन्। यी कम्पनीले वित्तीय क्षेत्र बाहेक स्वास्थ्य, शिक्षा तथा अन्य विभिन्न क्षेत्रलाई डिजिटलाइज गर्ने उदेश्यले सफ्टवेयर निर्माण गर्ने गर्छन्।
नेपालका अधिकांश बैंंक तथा वित्तीय संस्थाले एफवान सफ्टले विकास गरेका प्रविधि प्रयोग गर्दै सेवा दिइरहेका छन्। कम्पनीले विकास गरेको मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङका प्रयोगकर्ता नेपालमा एक करोड १० लाख भन्दा धेरै रहेका छन्। कम्पनीले आफ्नो सामाजिक उत्तर दायित्व अन्तरगत हरेक वर्ष विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ।

प्रतिक्रिया