कारोबार


जुरिच पछि हटेपछि निजगढ विमानस्थल निर्माणमा चिनियाँ कम्पनीको चासो, छिटो शिलान्यास गर्न सरकारको ताकेता

जुरिच पछि हटेपछि निजगढ विमानस्थल निर्माणमा चिनियाँ कम्पनीको चासो, छिटो शिलान्यास गर्न सरकारको ताकेता

नेपालखबर
फागुन १८, २०७७ मंगलबार १२:२२,

स्विट्जरल्यान्डको जुरिच एयरपोर्टले हात झिकेपछि निजगढ विमानस्थल बनाउन चाइना कम्युनिकेसन कन्सट्रक्सन कम्पनी (सीसीसीसी)ले चासो देखाएको छ।

डेढ वर्षअघि लगानी सम्मेलनका क्रममा ७ कम्पनीले निजगढ बनाउन प्रस्ताव गरे पनि लगानी बोर्डले जुरिच इन्टरनेशनल एयरपोर्टलाई मात्रै छनोट गरेको थियो।

जुरिचलाई प्रस्ताव पेस गर्न गत असोजसम्मको समय दिइएको थियो। तर उसले प्रस्ताव पेस नगरेपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अर्थ मन्त्रालयमा नेपाल सरकारले नै विमानस्थल बनाउन सक्ने वा नसक्ने विषयमा राय माग गरेको छ।

निजगढ विमानस्थल कसरी बनाउने भन्ने विषयमा अन्योल भइरहेको बेला विश्वकै ठूलो डाक्सिङ एयरपोर्ट बनाएको चिनियाँ कम्पनीले अर्थ मन्त्रालयमा प्रस्ताव पेश गरेको छ।

चिनियाँ सरकारकै बहुमत लगानी भएको सीसीसीसीले ४ खर्ब लगानीमा विमानस्थल बनाउने प्रस्ताव पेश गरेको छ। ईपीसीएफ मोडलअन्तर्गत इन्जिनियरिङ, पूर्वाधार निर्माण र स्रोत व्यवस्थापनको काम कम्पनीले नै गर्छ।

कम्पनीले निर्माणसँगै सञ्चालन आफैँ गर्छ। विमानस्थल सञ्चालनको ३५ वर्षपछि नेपाल सरकारलाई हस्तान्तरण गर्ने प्रस्तावमा उल्लेख गरेको छ।

केही समयअघि सिंगापुर विमानस्थलको टर्मिनल भवनको जिम्मा पाउको सीसीसीसीले दक्षिण एसियाकै हब विमानस्थलको रुपमा अगाडि बढाउन सकिने उल्लेख गरेको छ।

‘नेपाल सरकार आफैँले निर्माण गर्न वर्षेनी बजेट छुट्टयाउँदा रकमको अभाव त हुँदैन’, अर्थमन्त्रीका आर्थिक सल्लाहकार प्रकाश कुमार श्रेष्ठले भने, ‘विमानस्थल निर्माणमा बजेटलाई ठूलो समस्या नभए पनि हामीसँग प्राविधिक ज्ञानको कमी छ।’

उनले विमानस्थल कसरी निर्माण हुने भन्ने विषयमा मन्त्रालयमा छलफलमै रहेको बताए।

निजगढ विमानस्थल निर्माण हुने १९ सय हेक्टर क्षेत्रमा रुख गणनाको काम भइरहेको छ। ट्याङ्ला बस्ती, काठ बस्तीलाई स्थानान्तरणको प्रक्रिया पनि अघि बढेको छ। विमानस्थलमा जग्गा तारबार, तटबन्ध लगाउने काम भएको छ।

यता परियोजना हेर्ने राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुँयालले अहिले नै त्यसको कुनै परिपक्व निर्णय नभइसकेको बताए।

उनले भने, ‘यो राष्ट्रिय गौरवको आयोजना हो। निर्माणको लागि प्रस्ताव आएको छ। मैले त्यो प्रस्ताव हेरेर अघि समेत बढाएको छु। अब योजना आयोले त्यसमा छलफल गर्नचाहि बाँकी छ। सरकारले त्यस आयोजनालाई अघि बढाउन ताकेता भने गरिरहेको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad