सुनकोसी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना :
लागत : ४६ अर्ब
सुरुङमार्ग निर्माण : १३.३ किमि (२७ महिना)
विद्युत : ३१ मेगावाट
सिँचाइ : १ लाख २२ हजार हेक्टर
आयोजना सम्पन्नः २०८२/८३
राष्ट्रिय गौरवको आयोजना सुनकोसी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ निर्माण सुरु हुँदैछ।
यो आयोजनाबाट जलविद्युत उत्पादन मात्र हुनेछैन, प्रदेश २ का ५ जिल्लामा सिँचाइ सुविधा पनि उपलब्ध हुने छ।
आयोजनाको महत्वपूर्ण पूर्वधार १३.३ किमिको सुरुङमार्ग निर्माणको लागि ठेक्का लागिसकेको छ। यो सुरुङमार्ग महाभारत पहाड छेडेर बनाइन लागेको हो।
सिन्धुलीको खुर्कोट बजारदेखि करिब २ किलोमिटर माथि र सुनकोशी–तामाकोशीको दोभानदेखि करिब ९५० मिटर तल बाँध निर्माण गरिने छ।
१३ किमि सुरुङबाट सुनकोसी नदीको ६७ क्युमेक (क्युबिक मिटर पर सेकेन्ड) पानी मरिन खोलामा खसालिने छ। जहाँ विद्युत उत्पादनका लागि पावरहाउस निर्माण हुने छ। त्यहाँबाट करिब ३१ मेगावट विद्युत उत्पादन हुनेछ।
त्यस्तै, सुरुङमार्फत बागमती बाँधसम्म पानी पु¥याएर तराईका जिल्लामा सिँचाइ सुविधा उपलब्ध गराइनेछ।
सुनकोसी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाआयोजनाले प्रदेश २ का बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा जिल्लाहरुका थप क्षेत्रसमेत कुल १ लाख २२ हजार हेक्टर जमिनमा वर्षैभरी सिँचाइ उपलब्ध गराउने छ। सिँचाइको काम ३ चरणमा सम्पन्न हुने छ।

हाल बागमती आयोजनाबाट सर्लाही र रौतहट जिल्लाका ४२ हजार हेक्टर जमिनमा मात्र सिँचाइ हुँदै आएको छ। सुनकोसी–मरिन डाइभर्सनपछि थप ८० हजार हेक्टर जमिनमा सिचाइ सुविधा पुग्ने छ।
सुनकोसी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङमार्गको जिम्मा पाएको चाइना ओभरसिजले हालै भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजना लक्ष्यभन्दा एक वर्षअगाडि नै पुरा गरेको थियो। निर्माण कम्पनीले नेपालमै पहिलोपटक टनेल बोरिङ मेसिनको माध्यमबाट सुरुङ बनाएको थियो।
‘टीबीएम प्रविधिबाट चिनियाँ कम्पनीले १३.३ किलोमिटर सुरुङमार्ग बनाउँछ,’ सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाका प्रमुख सुशील आचार्य भन्छन्, ‘चिनियाँ कम्पनीले २७ महिनाभित्रै सुरुङ निर्माण कार्य सम्पन्न गर्ने विश्वास छ।’
उनले सुनकोसी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना शिलान्यासको तयारी भइरहेपनि मिति टुंगो नलागेको बताए। चिनियाँ कम्पनीले सुरुङमार्गसहित उक्त क्षेत्रमा पर्ने ८२० मिटर मदन भण्डारी राजमार्ग पनि बनाउनेछ। २ किलोमिटर रिभर ड्रेनिङ र बहुउद्देश्यीय आयोजनाको भवन पनि बनाइने उनले बताए।
सिन्धुली जिल्लाको कमलामाई नगरपालिका १ डाँडी पुलनजिकै मरिन नदीमा पावरहाउस निर्माण गरी पानी झार्ने तयारी गरिएको छ।
खुर्कोटदेखि लगभग २ किमिमाथि सुनकोसी नदीमा १५८ मिटर लामो बाँध, १५० मिटर लामो डिसेन्डिङ बेसिन र टनेल इन्ट्री पोर्टल बन्नेछ।
आयोजनाको विद्युतगृह र स्विचयार्ड कमलामाई नगरपालिका २ मा बन्नेछ।

स्थानीयलाई लाभ
कमलामाई नगरपालिका वडा नम्बर १ का बासिन्दा अच्युतम ढकालले आयोजनाले मरिन खोलाको बाढीलाई नियन्त्रण गरियो भने स्थानीयलाई धेरै फाइदा हुने बताए।
‘बर्खामा खोलाले कटान गर्ने समस्या छ। अहिले नम्बरी जग्गामा खोला हिँडेको छ। खोलाको जग्गामा खेतीपाती भइरहेको छ,’ उनले भने ‘अहिलेपनि हामीले मरिन खोलाको पानीले नै सिँचाइ गर्छौँ। हाम्रा पुराना कुलोहरुलाई व्यवस्थित गर्दै लैजाँदा सुनकोसी मरिन डाइभर्सनले स्थानीयलाई फाइदा नै हुन्छ।’
आयोजना सञ्चालनपछि सुनकोसी र तामाकोसी क्षेत्रमा बसोबास गर्ने मानिसले माछा पालनदेखि आन्तरिक तथा बाह्य पर्यटनबाट लाभ लिन सक्नेछन्।
वर्षमान पुनको प्रस्तावमा गौरवको आयोजना
सुनकोशी मरिन डाइभर्सन बहुउदेश्यीय अयोजनालाई राष्ट्रिय योजना आयोगले २०७३ मा अगाडि बढाउने निर्णय गरेको थियो।
२०७५ मंसिरमा आयोजनास्थलको अवलोकन गर्दै तत्कालीन उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले विकास र पूर्वाधारको माध्यमबाट सुनकोसी मरिन डाईभर्सन परियोजनाले हिमाल र पहाडलाई जोड्नुका साथै राष्ट्रिय एकता निर्माण गर्ने माध्यमको रुपमा समेत उपयोगी हुने बताएका थिए।
‘सुनकोसी मरिन डाईभर्सन परियोजना तराई मधेसको कोर दुई नम्बर प्रदेश र पहाडको १ लाख २२ हजार हेक्टरमा सिँचाई सुविधा पुग्दा तरक्की नै हुन्छ,’ उनले भनेका थिए।
उनकै प्रस्तावमा २०७६ माघ ६ गते मन्त्रिपरिषदले यो आयोजनालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरेको थियो। सरकारको १५ औं पञ्चवर्षीय योजनामा समेत यसलाई रुपान्तरणकारी आयोजना भनिएको छ।
राष्ट्रिय योजना आयोगका अनुसार आयोजनाको कुल लागत ४६ अर्ब १९ करोड रुपैयाँ छ।
आयोजनाले डीपीआर अध्ययनलगायतको काममा आर्थिक वर्ष २०७६/७७ सम्मको २४ करोड ८३ लाख खर्च भएको छ। चालु आर्थिक वर्षमा भौतिक निर्माणको लक्ष्य राख्दै २ अर्ब ४५ करोड ८५ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो। जसमा पुससम्म मात्र ५ करोड १० लाख खर्च भएको छ।
‘आयोजनाको ठेक्का भर्खरै लागेकाले भौतिक पूर्वधारको निर्माणसँगै खर्च पनि बढ्छ,’ आयोजना प्रमुख आचार्यले भने।
आयोजनाका अनुसार हालसम्म पावरहाउस र टीबीएम इन्टेल पोर्टलको जग्गा प्राप्ति भइसकेको छ। हेडवर्क्स, पावरहाउस, सर्जसफ्ट आदिको डिटेल इन्जिनियरिङ डिजाइनको ड्राफ्ट रिभ्यु पनि सम्पन्न भएको छ।
आयोजनाको २०८२/८३ सम्ममा डाइभर्सन कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको छ। आयोजनाले मरिन नदी नियन्त्रण तथा मरिन नदी किनारस्थित कृषक कुलो पुनःस्थापना गर्ने गुरुयोजना समेत तयार गरेको छ।
सरकारले आयोजनालाई महत्वकांक्षी बहुउद्देश्यीय आयोजनाको रुपमा उच्च प्राथमिकतामा राखेर काम थालेको आयोजना प्रमुख आचार्यले बताए।
Shares

प्रतिक्रिया