नेपाल आयल निगमको वाग्मती प्रदेश कार्यालय प्रमुखमा प्रदीपकुमार यादव आएसँगै थानकोट डिपोमा उल्लेखनीय सुधार आएको छ।
यादवलाई निगमले अघिल्लो चैत ७ गते थानकोट डिपोको प्रमुख भएर पठाएको हो। उनी आउँदा यो डिपोमा समस्यै समस्या थियो। इन्धनको लोड अनलोडको काम भइरहेकै थियो। तर, त्यसको व्यवस्थापन निकै जर्जर थियो।
मुख्य सडकबाट डिपोमा छिर्ने बाटोभरी ट्यांकरको अव्यवस्थित पार्किङ थियो। डिपोमा जाने बाटो धुलाम्मे थियो। ट्यांकरको अव्यवस्थित पार्किङले त्यतिबेला स्थानीयवासी समेत डिपोलाई बोझको रुपमा लिन्थे।
समस्या पार्किङको मात्रै थिएन। लोड अनलोडको पनि थियो। यादव भन्छन्, ‘अति प्रज्वलनशील पदार्थ भएकोले पेट्रोल डिजेलको ढुवानी दिउँसो मात्रै गर्नुपर्छ भन्ने मान्यता राखिन्छ। त्यसैले सकेसम्म ३ बजेभित्रै ट्यांकर छुट्यो भने ५ बजेभित्रै पम्पमा तेल पुग्छ। तर, त्यतिबेला ६ बजेसम्म पनि ट्यांकर छुट्ने नसक्ने अवस्था थियो। त्यसो हुँदा पम्पमा गएर तेल भर्दा रात पथ्र्यो।’

समस्या त्यतिमात्रै थिएन। डिपोको आन्तरिक सुरक्षाको पनि थियो। दैनिक करिब ६ सय किलोलिटर पेट्रोल र ८ सय किलोलिटर डिजेलको सप्लाई हुने त्यो डिपोलाई सामान्य तारबारले घेरिएको थियो। जुन असाध्यै असुरक्षित मानिन्छ। डिपोमा तेल लिन जानेलाई बैंकमा पैसा तिर्ने, भौचर बुझाउने लगायतका काम गर्न दिनभर लाइन बस्नुपर्ने अवस्था थियो। कार्यालयका कर्मचारीको कार्यकक्ष समेत व्यवस्थित थिएन। ट्यांकर चालक र कर्मचारीका लागि राम्रो ट्वाइलेट र बाथरुपको व्यवस्था पनि थिएन।
ती सबै समस्यालाई सुधार गर्नु यादवले यहाँको प्रमुख जिम्मेवारी माने। आएको दोस्रो दिनदेखि नै सुधारको कामलाई अघि बढाए। अहिले यी सबैजसो समस्या समाधान भइसकेका छन्। केही कामहरु अघि बढिरहेका छन्, त्यो सकिनेबित्तिकै यहाँको सुधारको काम एक हदले पूरा हुन्छ।
खासगरी, यहाँ सबैभन्दा ठूलो समस्या रहेको पार्किङलाई व्यवस्थित गरिएको छ। निगमको स्वामित्वमा डिपोकै तल्लोपट्टि रहेको ३९ रोपनी जग्गालाई प्रयोग गरेर ३ सय ट्यांकर अट्नसक्ने पार्किङ बनाइएको छ। पार्किङसँगै व्यवस्थित ट्वाइलेट बाथरुमको व्यवस्था गरिएको छ। यसले गर्दा अव्यवस्थित पार्किङको समस्या हल भएको छ।
तेलको आपूर्तिमा भइरहको ढिलाई अन्त्य गर्न ट्यांकरमा तेल भर्ने प्वाइन्टको संख्यालाई बढाएर दोब्बर पुर्याइएको डिपो प्रमुख यादवले बताए। पहिले २ वटा पेट्रोल र २ वटा डिजेल प्वाइन्ट रहेकोमा अहिले २ वटा पेट्रोल र ६ वटा डिजेल प्वाइन्ट रहेको उनको भनाई छ। यादवले भने, ‘अहिले बिहान १० बजेदेखि लोडिङ सुरु हुन्छ। साढे २ देखि ३ बजेसम्म सकिइसक्छ। यसो हुँदा ५ बजेसम्म सम्बन्धित पम्पसम्म पुगेर तेल खन्याइसक्ने अवस्था हुन्छ। राती हुँदैन।’ भुकम्पपछि क्षतिग्रस्त रहेको एउटा भर्टिकल ट्यांकीको मर्मत पनि उनैले गरेका थिए।

सुरक्षा थ्रेटको सम्भावनालाई घटाउन यो अवधिमा सो डिपोलाई घेर्ने पक्की पर्खाल बनाइएको छ। यो पर्खाल ३ सय ७० मिटर लम्बाई र ११ फिट अग्लो रहेको उनले बताए। सो पर्खालमाथि सुरक्षाको लागि फलामे काँडेतार लगाइएको छ। उता डिपोको सुरक्षामा खटिने सेनाको आवासका लागि पनि निगमले छुट्टै क्वार्टर बनाउँदैछ। यो बनेपछि बाह्य सुरक्षा जोखिम समेत धेरै हदसम्म कम हुने यादवको विश्वास छ।
त्यसो त, गेटदेखि मूल सडकसम्मको बाटोलाई निगमले आफ्नै खर्चमा कालोपत्रे गरिदिएको छ। डिपोको गेटनजिक रहेको सार्वजनक बाटो र निगमको बाटोलाई एउटै बनाएर विस्तार गरिएको छ। डिपोदेखि नवनिर्मित पार्किङसम्म जाने भागलाई समेत आफ्नै खर्चमा व्यवस्थित गरिएको निगमले जनाएको छ।
कार्यालयभित्रको आन्तरिक अवस्था सुधारमा पनि यो अवधिमा निकै प्रगति भएको डिपो प्रमुख यादवले दाबी गरे। संरचना अभावकै कारण पहिले डिपोका अफिसरहरु एउटै कोठामा कोचिएर बस्नुपर्ने अवस्था थियो। अहिले सबैका लागि सहज रुपमा काम गर्नेगरी संरचना बनाइएको छ। सेवाग्राहीले लाइन बस्न नपरोस् भनेर क्यु—मेसिन राखिएको छ। वरपरको वातावरणलाई स्वच्छ राख्न खाली ठाउँमा दुबो र रुख रोप्ने काम समेत गरिएको उनको भनाई छ।
कति भयो खर्च ?
यी सबै सुधारको काम हुन ६ करोडदेखि ७ करोड रुपैयाँ हाराहारीमा खर्च भएको बताइएको छ। कार्यालय संरचना निर्माण गर्न, बाउन्डिङ वाल लगाउन, पार्किङको क्षेत्रफल पिच गर्न, आवास तथा शौचालय बनाउन यी रकम खर्च गरिएको थियो।
आफूहरुले थोरै खर्चमा नै धेरै सुधारका काम गर्न सकेको दाबी गर्दै यादवले आफ्नै साधन र स्रोतको प्रयोग गरेकोले यो सम्भव भएको बताए। पार्किङका लागि २०५९ सालमै निगमले किनेको ३९ रोपनी जग्गा भएकोले पनि यो सम्भव भएको हो।

२०५५ सालमा निर्माण भएको यो डिपो २०५७ सालदेखि सञ्चालनमा आएको हो। सो डिपोमा अहिले १५ हजार किलोलिटर तेल भण्डारण गर्ने क्षमता छ। ९ वटा भर्टिकल ट्यांकी र ५ वटा अन्डरग्राउन्ड ट्यांकीमा सो परिमाणमा भण्डारण क्षमता रहको हो। त्यसमध्ये यो डिपोबाट अहिले दैनिक ३ हजार किलोलिटर तेलको खपत हुन्छ।
यी सबै सुधारका काम गर्न निगमको नेतृत्वले पनि उत्तिकै साथ दिएको यादवको भनाइ छ। सबै सुधार तपाइँ आएरै सम्भव भएको हो त ?
यादव भन्छन्, ‘बजेट त पहिले पनि थियो। काम चाहिँ भइरहेको थिएन। म आउने बित्तिकै खरिद प्रक्रिया सुरु गरेँ। काम अघि बढेपछि चालु आर्थिक वर्षमा बजेट पनि बढेर आयो। अरु प्राविधिक कामका लागि पनि नेतृत्वबाट निरन्तर सहयोग पाइयो। सबैको सहयोगले नै यो सम्भव भएको हो।’
Shares

प्रतिक्रिया