कोरोना महामारीको प्रभाव विस्तारै कम हुँदै गर्दा घरजग्गा कारोबारमा तीव्रता आएको छ।
विगतका वर्षको तुलनामा चालू आवमा घरजग्गा कारोबार दोब्बरले बढेको तथ्यांकले देखाएको छ।
कोभिडको समयमा ह्वात्तै घटेको घरजग्गा कारोबार पुसपछि बढेको छ। व्यवसायीहरुका अनुसार बैंकको ब्याजदर घटेको तथा अन्य क्षेत्रमा लगानीको वातावरण नहुँदा कारोबार बढेको हो।
भूमि व्यवस्थापन तथा अभिलेख विभागले घरजग्गा कारोबारबाट यो माघ महिनामा मात्रै ६ अर्ब ७३ करोड रुपैयाँ राजस्व उठाएको छ।
जब कि अघिल्लो वर्ष अर्थात् २०७६ माघमा विभागले ३ अर्ब ७४ करोड रुपैयाँ मात्रै राजस्व उठाएको थियो। यस्तै, २०७५ माघमा पनि ३ अर्ब १६ करोड राजस्व उठेको थियो।
यसकारण बढ्यो घरजग्गा कारोबार
पछिल्लो समय घरजग्गा कारोबार बढ्नुमा व्यवसायीहरु बैंकमा घटेको ब्याजदरलाई कारण मान्छन्। थोरै मात्र ब्याज आम्दानी हुने हुँदा बैंकमा पैसा राख्नुभन्दा घरजग्गामा लगानी गर्दा बढी प्रतिफल आउने देखेर मानिसहरुले लगानी गरेको उनीहरुको भनाइ छ।
यसबाहेक कम ब्याजदर हुँदा बैंकबाट ऋण लिएर घरजग्गामा लगानी समेत भएको कारण कारोबार बढेको हो। आफूसँग पर्याप्त रकम नभएकाले पनि बैंकबाटै थोरै ब्याजदरमा ऋण लिएर घरजग्गामा लगानी गरेका हुन्।
‘कोभिडपछि मानिसमा लगानी गर्ने ठाउँ देखिएको छैन’, नेपाल जग्गा विकास तथा आवास संघका महासचिव पुरुषोत्तम पौडेलले नेपालखबरसँग भने, ‘बैंकमा निक्षेप राख्नुको सट्टा घरजग्गा खरिद गर्दा बढी नाफा हुने देखेर कारोबार बढेको हो।’
उनले बैंकको ब्याजदर घट्नु नै घरजग्गाको कारोबार बढ्नुको मुख्य कारण भएको बताए। त्यसो त घरजग्गा कारोबार वर्षेनी बढ्दै गइरहेको पौडेल बताउँछन्।
घट्दो ब्याजदरको भूमिका
राष्ट्र बैंकको आर्थिक वर्ष २०७५/०७६ को अर्धवार्षिक मौद्रिक नीति समीक्षाअनुसार औसत बचत (निक्षेप) ब्याजदर ६.७२ प्रतिशत रहेको थियो भने सबैखाले ऋणको औसत ब्याजदर १२.२९ प्रतिशत रहेको थियो।
गत आर्थिक वर्ष अर्थात् २०७६/०७७ को पहिलो ६ महिनामा औसत बचत ब्याजदर (निक्षेप) ७.७९ प्रतिशत रहेको थियो भने सबैजसो ऋणको औसत ब्याजदर ११.९४ प्रतिशत रहेको थियो।
चालू आर्थिक वर्षमा भने उक्त दुवै ब्याजदर घटेको छ।
अर्धवार्षिक समीक्षासम्म अर्थात् साउनदेखि पुससम्म चालू आवमा बैंकमा निक्षेप राख्नेले ५ प्रतिशत दरसम्म ब्याज आम्दानी गरेका छन् भने बैंकबाट ऋण लिनेले ९.९ प्रतिशतसम्म ब्याज तिरेका छन्।
यो भनेको गत आर्थिक वर्षको तुलनामा करिब २ प्रतिशतले ऋणको ब्याजदर घटेको हो। त्यस्तै निक्षेपको ब्याजदर आम्दानी पनि सोही हाराहारीमा घटेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।
‘घरजग्गा कारोबार हरेक वर्ष बढेको बढ्यै छ’, संघका महासचिव पौडेलले भने, ‘कोभिडको समयमा आर्थिक क्रियाकलाप कमी हुँदा कारोबार घटे पनि विस्तारै बढ्दै गएको छ।’
कुन महिनामा कति कारोबार?
भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकअनुसार चालू आवको साउनमा ९६ हजार वटा घरजग्गासम्बन्धी कारोबार भएको थियो। त्यस्तै, भदौमा ५५ हजार, असोजमा १ लाख ४ हजार, मंसिरमा १ लाख ६८ हजार, पुसमा २ लाख १४ हजार र माघमा २ लाख ११ हजार वटा कारोबार भएको छ।
कुल कारोबारमा लिखित पारित, नामसारी, संशोधन, रोक्का, फुकुवा, अपार्टमेन्ट लिखित पारित, जग्गा दर्ता, दाखिल खारेज, मोही हकसम्बन्धी, जग्गा बाँडफाँट, गुठी अधीनस्थ जग्गाको लिखित पारितलगायतका कारोबार समावेश गरिएको विभागको भनाइ छ।
उक्त कारोबारबाट साउनमा २ अर्ब ७४ करोड ५५ लाख रुपैयाँ राजस्व उठाएको विभागले भदौमा १ अर्ब ३१ करोड, असोजमा ५ अर्ब २७ करोड, मंसिरमा ५ अर्ब १४ करोड, पुसमा ६ अर्ब ६५ करोड राजस्व उठाएको छ।
‘विभागले पछिल्लो समयमा अनलाइनमार्फत नै धेरै काम गर्दै आएको छ। यसले घरजग्गा कारोबार बढाउन मद्दत पु¥याएको छ’, विभागका सूचना अधिकारी विष्णु कुमार महतले नेपालखबरसँग भने, ‘हाम्रा कार्यालयमा पहिले ३ दिन लाग्ने काम अहिले १ दिनमै हुन्छ।’
विभागले देशभरका १२६ मालपोत कार्यालयमध्ये १०८ वटामा अनलाइन प्रणाली लागू भइसकेको जनाएको छ। बाँकी १८ मालपोत कार्यालयमा पनि चालू आवभित्रै उक्त प्रणाली राख्ने लक्ष्य रहेको उसको भनाइ छ। अनलाइन जडान नभएका १८ मालपोतमा घरजग्गा खरिदबिक्री निकै न्यून रहेको विभागले जनाएको छ।
‘माघसम्मको तथ्यांक अनलाइन कारोबार भएका १०८ मालपोत कार्यालयको मात्रै हो’, महतले भने।
४ प्रतिशतले बढ्यो घरजग्गा कर्जा
राष्ट्र बैंकले चालू आर्थिक वर्षको ६ महिनाको मौद्रिक नीति समीक्षा गर्दै रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ४.० प्रतिशतले बढेको उल्लेख गरेको छ।
कोभिडको कारण ६ महिनाको ऋण लगानी घटे पनि पछिल्लो दुई महिनामा राम्रो कारोबार भएको यशोदा डेभलपर्सका सञ्चालक दिपक खनालले बताए।
‘हरेक वर्ष चैत–वैशाखमा सबैभन्दा बढी घरजग्गा कारोबार हुन्छ’, खनालले भने, ‘यो वर्ष पुस–माघमै राम्रो कारोबार भएको छ।’
यस्तै अवस्था रहे चैत वैशाखमा घरजग्गा कारोबार झन् बढ्ने उनको अनुमान छ।
चालू आवको ६ महिनामा बैंक तथा वित्तीय संस्थाहरुले घरजग्गामा १६ अर्ब ४८ करोड ऋण प्रवाह गरेका छन्। योसँगै पुस मसान्तसम्म बैंकहरुको घरजग्गामा कुल लगानी ४ खर्ब ३२ अर्ब ५० करोड रुपैयाँ पुगेको छ।
कुन क्षेत्रमा सबैभन्दा बढी कारोबार?
भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकअनुसार माघमा काठमाडौं उपत्यकासहित काभ्रे र तराईको झापा, मोरङ, धनुषाको जनकपुरधाम, रुपन्देही, दाङमा सबैभन्दा बढी कारोबार भएको छ।
भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुर झापामा ८ हजार ५ सय कारोबार भएको छ भने झापाकै दमकमा ४ हजार १२८ कारोबार भएको छ।
मोरङको विराटनगरमा ५ हजार २१२ र बेलवारीमा ७ हजार ४ सय कारोबार भएको त्यहाँका मालपोत कार्यालयले उल्लेख गरेका छन्।
सुनसरीको इनरुवा मालपोतबाट ८ हजार ६ सय, जनकपुरधाम धनुषाबाट ५ हजार १ सय, ललितपुरको लगनखेल कार्यालयमार्फत ६ हजार, भक्तपुर मालपोतबाट ५ हजार ९ सय, नेपालगञ्ज बाँकेबाट ५ हजार ६ सय, काठमाडौं कलंकी मालपोत कार्यालयबाट ४ हजार ७ सय कारोबार भएको छ। माघमा कुल २ लाख ११ हजार ९०८ वटा घरजग्गा कारोबार भएको छ।

प्रतिक्रिया