ad ad

कारोबार


विदेशी इन्भेस्टमेन्ट कम्पनीलाई नेपाल आउने बाटो खोल्दै लगानी प्रवर्द्धन बोर्ड

विदेशी इन्भेस्टमेन्ट कम्पनीलाई नेपाल आउने बाटो खोल्दै लगानी प्रवर्द्धन बोर्ड

नेपालखबर
फागुन ६, २०७७ बिहिबार १३:४५,

औद्योगिक तथा लगानी प्रवर्द्धन बोर्डले नेपालमा इन्भेस्टमेन्ट कम्पनी खोल्न चाहने विदेशीलाई बाटो खुला गरिदिने भएको छ।

बोर्डको आगामी अर्थात् २३४औँ बैठकले औद्योगिक व्यवसाय ऐनमै प्रावधान राखेर नेपालमा विदेशी इन्भेस्टमेन्ट कम्पनी स्थापना गर्न दिने तयारी गरेको हो।

यसअघि बोर्डको गत माघमा बसेको २३३औँ बैठकमा नै विदेशी इन्भेस्टमेन्ट कम्पनीलाई नेपाल आउन दिनेबारे छलफल भएको थियो।

तर उद्योग विभागले बैठकमा लगेको उक्त एजेन्डा सहमतिनजिक पुगे पनि थप अध्ययनको लागि भन्दै अर्को बैठकमा अध्ययन प्रतिवेदनसहित पेस गर्ने निर्णय गरिएको थियो।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीको नेतृत्वमा रहने बोर्डमा अर्थ मन्त्रालयको सचिव, उद्योग मन्त्रालयको सचिव, राष्ट्र बैंकको गभर्नरदेखि निजी क्षेत्रको प्रतिनिधि समेत रहने व्यवस्था छ।

यो बोर्डको बैठक गत माघ १२ गते बसेको थियो। बैंठकमा विदेशी इन्भेस्टमेन्ट कम्पनी दर्ता गर्ने प्रावधान राख्नेसम्बन्धी प्रमुख एजेन्डा थियो।

त्यसको लागि बैठकमा सकारात्मक कुरा भए पनि निर्णय भने हुनसकेको थिएन। इन्भेस्टमेन्ट कम्पनीलाई निश्चित क्षेत्रमा मात्रै लगानी भित्र्याउन दिनसक्ने कुरा उठेपछि त्यसको अध्ययन गरेर आगामी बैठकमा पेस गर्ने र आगामी बैठकले निर्णय गर्ने सहमति भएको थियो।

सोअनुसार आगामी बैठकले नेपालमा विदेशी इन्भेस्टमेन्ट कम्पनीलाई अनुमति दिने प्रावधान राख्न लागेको हो। आगामी बैठकको मिति भने तोकिएको छैन।

आवेदन नै परेपछि बोर्डमाथि दबाब
नेपालमा विदेशी इन्भेस्टमेन्ट कम्पनीको दुईवटा आवेदन समेत परिसकेको छ। चीनको ठूलो सिमेन्ट कम्पनीले नै नेपालमा इन्भेष्टमेन्ट कम्पनी खोल्नको लागि आवेदन दिइसकेको छ।

होङ्सी (हङकङ रेडलाइन)ले नै नेपालमा इन्भेस्टमेन्ट कम्पनीका लागि आवेदन दिएको हो। यसले एचएस इन्भेष्टमेन्ट कम्पनी दर्ताको लागि आवेदन दिएको छ।

यही इन्भेस्टमेन्ट कम्पनीबाट उसले दाङ सिमेन्ट उद्योगमा लगानी ल्याउने समेत बताएको छ।

होङ्सी (हङकङ रेडलाइन)ले अहिले दाङ सिमेन्टको ८५ प्रतिशत सेयर खरिदको प्रक्रिया सुरु गरिसकेको छ। कम्पनीले त्यसको लागि १५ अर्ब रुपैयाँ लगानी गर्ने प्रस्ताव गरेको छ।

होङ्सीबाहेक चिनियाँ एक टोलीले पनि हाउजिङ इन्भेस्टमेन्ट कम्पनी दर्ता गर्न उद्योग विभागमा आवेदन दिएको छ।

यी दुई आवेदन परेपछि उद्योग विभागले बोर्ड बैठकमा इन्भेस्टमेन्ट कम्पनीलाई अनुमति दिने एजेन्डा प्रस्तुत गरेको हो।

बोर्डका सदस्य तथा उद्योग मन्त्रालयका प्रवक्ता समेत रहेका डा. नारायण रेग्मीले ऐनले यस प्रकृतिको उद्योग सञ्चालन गर्न बन्देज गरेपछि बोर्डमा यो प्रस्ताव आएको र सोअनुसार छलफल र अध्ययन अघि बढाएको बताए।

उनले नेपालखबरसँग भने, ‘आगामी बैठकमा अध्ययनसहित यो एजेण्डा प्रस्तुत हुनेछ। यसको अध्ययन गर्न उद्योग विभागको महानिर्देशकलाई जिम्मा समेत दिइएको छ।’

के हो इन्भेस्टमेन्ट कम्पनी?
इन्भेस्टमेन्ट कम्पनी भनेको लगानीहरु जुटाई विभिन्न उद्योगहरुलाई लगानी प्रदान गर्ने माध्यम हो।

यसले लगानीकर्ताहरुलाई एकीकृत गरेर लगानी जुटाउने काम गर्छ। विभागमा अहिले परेको आवेदनअनुसार नेपालमा लगानी गर्न चाहने विदेशी व्यक्ति तथा कम्पनीले यसमार्फत नेपालमा लगानी गर्न सक्नेछन्।

यसले सहजीकरणको भूमिका निभाउनेछ। तर यसको कुन–कुन क्षेत्रमा लगानी गर्ने, न्यूनतम र अधिकतम कति लगानी गर्नसक्ने व्यवस्था भने बोर्ड बैठकको निर्णयबाट हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .