कारोबार


ब्लुबर्ड मलमा सेफ सन्तोषले सुरु गरे पार्टीयार्ड, संकटको लगानीले दियो उत्साह

ब्लुबर्ड मलमा सेफ सन्तोषले सुरु गरे पार्टीयार्ड, संकटको लगानीले दियो उत्साह

सन्तोष न्यौपाने
फागुन ४, २०७७ मंगलबार ७:४२,

कोरोना संकटले कति व्यवसाय पलायन हुँदै थिए, कतिले राज्यको साथ र सहयोग खोजिरहेका थिए।

तर सेफ सन्तोष रिमाल भने अरुभन्दा फरक सोचिरहेका थिए। उनी त्यही विषम परिस्थितिलाई अवसरमा बदल्न चाहन्थे।

यही बेला लगानी गर्ने र नयाँ ‘स्पेस’ बनाउने उनको सोच थियो।

कोरोना संक्रमण सुरु भएसँगै उनले एक्जिक्युटिभ सेफका रुपमा काम गरिरहेको सोल्टी होटलको ‘क्यासिनो माझ’ अस्थायी रुपमा बन्द भयो।

partyard7

यसैबीचमा होटलक्षेत्रको २५ वर्षे अनुभवलाई प्रयोग गर्दै सन्तोष र उनका केही साथीहरु मिलेर यही क्षेत्रमा लगानी गर्ने योजना बनाए।

कोरोना महामारीले अँचेटेको बेला धेरै क्षेत्रमा हात हालेको ‘यति ग्रुप’अन्तर्गतको ब्लुस्टार इभेन्ट सञ्चालन गर्न उस्तै अप्ठ्यारो परिरहेको थियो।

लगानीको खोजीमा रहेको सन्तोषको समूहले त्रिपुरेश्वरस्थित ब्लु बर्ड मलको ‘ब्लुस्टार इभेन्ट’ १ करोड ६० लाखमा किन्यो। ब्लुस्टार इभेन्टलाई ‘पार्टीयार्ड रिसेप्सन’मा परिवर्तन गर्दै सन्तोषको समूहले तीन महिनादेखि ब्यांक्वेट, रेष्टुरेन्ट, मण्डप, सेमिनार हल सञ्चालन गरिरहेको छ।

partyard6

‘हामीले यो व्यवसाय सुरु गरेको तीन महिनामा चलिरहेको छ’, सोल्टीको क्यासिनो माझमा एक्जिक्युटिभ सेफमा समेत कार्यरत सन्तोषले भने, ‘एक वर्ष उठ्न सक्दैनौँ कि भन्ने लागेको थियो। सोचेभन्दा राम्रो भइरहेको छ।’

विवाह र पूजाआजाको सिजन आएसँगै व्यवसाय सोचेभन्दा राम्रो हुँदै गएको उनी बताउँछन्। उनका अनुसार फागुन महिनामा ४ वटा पार्टीको लागि बुकिङ भइसकेको छ भने वैशाख महिनाको लागि १८ वटा बुकिङ पुगिसकेका छन्।

उनले ब्यांक्वेटसहित सेमिनार हल, रेष्टुरेन्ट, डिजे हल सञ्चालन गरिरहेका छन्। ‘हलमा १२ सय र रेष्टुरेन्टमा २२० जना अट्ने क्षमता छ’, उनले भने।

partyard10

यति ग्रुपले ब्लुस्टार इभेन्ट चलाउनभन्दा पहिला यहाँ मुड्स नामको रेष्टुरेन्ट सञ्चालन थियो। मुड्सले पनि यस ठाउँलाई उपभोक्तामाझ चिनाइसकेको थियो।

काठमाडौंको केन्द्र त्रिपुरेश्वरमा रहेकाे ब्लुबर्ड मल उपत्यकाको पुरानो र चलेको मल हो। प्रशस्त पार्किङ सुविधा हुँदा धेरैको लागि यो ठाउँ रोजाइमा पर्ने सन्तोषको भनाइ छ।

१ करोड ६० लाखमा किनेको यस ठाउँमा उनले ७५ लाख रुपैयाँ लगानी थपेका छन्। रंगरोगन, साजसज्जा र आवश्यक सामग्री किन्दा थप ३५ लाखसम्म लगानी आउने उनको भनाइ छ।

ब्यांक्वेटमा आउने हरेक पाहुनाले फोटो खिच्न चाहन्छन्। उपभोक्ताको मागअनुसार यसलाई थप ‘फोटोजेनिक’ बनाउने उनीहरुको सोच छ।

partyard9

पार्टीयार्ड रिसेप्सनअन्तर्गत फ्राइङ प्यान रेष्टुरेन्ट सञ्चालन गरिरहेका सन्तोष लामो समय सेफका रुपमा काम गरेको अनुभव भएकाले खाना र हाइजिनमा विशेष ध्यान दिएको बताउँछन्।

‘कोभिडका बीच स्वस्थ खानालाई अझ बढी ध्यान दिनुपरेको छ’, नेपालखबरसँग उनी भन्छन्, ‘२२० जना अट्ने यस रेष्टुरेन्टमा अहिले थोरै बस्ने गरी टेबल सेटिङ गरेका छौँ।’

रेष्टुरेन्ट पारखीको लागि अझ बढी विश्वस्त बनाउन लाइभ किचनको व्यवस्था गरेको उनले बताए। ग्राहकले आफ्नो कुर्चीबाट किचनमा पकाएको देख्न सक्छन्।

रिसेप्सनको लागि पनि आफ्नै निश्चित मापदण्ड बनाइएको उनको भनाइ छ। रिसेप्सनमा आउने ग्राहकलाई न्यूनतम एक दर्जन खानाको परिकार राख्नुपर्ने मापदण्ड बनाइएको छ।

त्यसको लागि न्यूनतम १४ सय रुपैयाँ प्लेटबाट सुरु हुन्छ।

partyard2

‘रिसेप्सन सुरुको वर्ष भएकाले उच्च गुणस्तर परिकारलाई न्यून मूल्यमा दिएका हौँ’, उनी भन्छन्। उनको यो मापदण्डमा ३ ननभेज, ३ भेज, चियाकफी, १० वटा सलाद, १० वटा अचार, चारवटा स्विटलगायतका परिकार पर्छन्। यसमा चाइनिज, इन्डियन, कन्टिनेन्टल, नेपाली २/२ परिकार हुने उनी बताउँछन्।

अहिले उनको यो व्यवसायमा १८ जना काम गरिरहेका छन्। ब्यांक्वेट चलेपछि अरु २५ जना थपिनेछन्।

partyard3

२५ वर्षदेखि होटलमा
सर्लाही लालबन्दीका सन्तोष रिमाललाई सानैदेखि खाना पकाउनमा रुचि थियो। आफ्नो रुचिअनुसारको अध्ययन गर्न भन्दै उनले सीटीईभीटीईअन्तर्गत पोखरामा होटल म्यानेजमेन्ट पढे।

दुई वर्षको पढाइसँगै उनको काम पोखरामा चलेका होटलबाट सुरु भयो।

‘मैले पोखराको फूलबारी रिसोर्टबाट काम सुरु गरेको हुँ’, सन्तोष भन्छन्, ‘फूलबारीमा थर्ड कमीमा जागिर सुरु गरेको हुँ।’

थर्ड कम भनेकोे हेल्परभन्दा एक तह माथि हो। सेकेन्ड कमीले पकाउने काम र थर्ड कमीले काट्नेदेखि पकाउनमा सहयोग गर्ने काम गर्नुपर्छ। जति बेला उनको तलब २ हजार ८ सय रुपैयाँ थियो।

partyard5

फूलबारीमा डेढ वर्ष काम गरेपछि उनले फिस्टेल लजमा काम गरे। त्यसपछि सांग्रिला, चाइनिज रेष्टुरेन्ट त्यान्द्र, एभरेष्ट होटल, मल्ल होटल हुँदै उनी सन् २०१२ देखि सोल्टी होटलको क्यासिनो माझमा एक्जिक्युटिभ सेफ बनेका थिए।

बीचमा उनले एस कलेजमा क्यान्टिनसमेत सञ्चालन गरे। नेपाल कलेज र चौधरी ग्रुपको क्यान्टिन व्यवस्थापनको काम पनि उनले गरेका थिए। उनले सेफ एसोसिएसन अफ नेपालको होटल म्यानेजमेन्ट स्कुलमा चाइनिज र इन्डियन खानाको बारेमा ४ वर्ष पढाए।

partyard8

थर्ड कमीबाट किचनमा छिरेका सन्तोष २५ वर्षको अवधिमा एक्जिक्युटिभ सेफमा पुगेका छन्। एकपछि अर्को गर्दै फट्को मारेका सन्तोष होटल लाइनमा केही काम गरेर देखाउन चाहन्छन्।

‘यही काम गर्दै यहाँसम्म आइपुगियो’, उनी भन्छन्, ‘आफैँलाई मन पर्ने यस पेशामा केही नयाँ गर्ने रहर छ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad