प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय आगामी हप्ता आफ्नै पुरानो भवनमा सर्ने भएको छ।
२०७२ सालमा गएको भूकम्पले क्षति पुर्याएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको भवन रेट्रोफिटिङ (प्रबलीकरण) सकिएसँगै सार्ने तयारी भएको हो।
भूकम्पले क्षतिग्रस्त पुरातात्विक र ऐतिहासिक महत्वको सिंहदरबारको मुख्य भवन पुरानै स्वरुपमा फर्काउने गरी रेट्रोफिटिङ अर्थात् प्रबलीकरण गरिएको छ।
‘सिंहदरबारको उत्तर, दक्षिण र पूर्वी मोहोडाको काम सकिएको छ’, प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नेपालखबरसँग भने, ‘फागुन ३ गते प्रधानमन्त्री कार्यालयको उद्घाटन हुँदै छ।’
सन् १९०३ मा निर्माण भएको भवन सन् २०१५ को भूकम्पका कारण जीर्ण बनेको थियो। देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार युरोपेली शैलीमा तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरले आफ्नो निजी निवासका रुपमा बनाएका थिए।
सुरुमा निजी निवासको रुपमा बनाए पनि पछि सिंहदरबार देशकै प्रमुख प्रशासकीय केन्द्र बन्दै आएको छ।
११७ वर्ष पुरानो भवनको पुनर्निर्माण कार्यअन्तर्गत दुई भागमा विभाजन गरी पुनर्निमाण प्राधिकरणले प्रबलीकरणको काम सुरु गरेको थियो।
‘पूर्व, उत्तर र दक्षिण भागमा प्रबलीकरणको काम सकिएसँगै बाहिरी भागमा सरसफाइ तथा दुबो रोप्ने काम भएको छ’, केन्द्रीय आयोजना कार्यान्वयन इकाइ भवनका आयोजना उपनिर्देशक झप्पर सिंह विश्वकर्माले भने, ‘भित्र सजावट, सुरक्षा उपकरण, आधुनिक प्रविधिको जडान भइसकेको छ।’
विश्वकर्माले भवनको पुरानै डिजाइनमा नयाँ प्रविधि थप गरिएको बताए।
लकडाउनको समयमा करिब १ महिना बन्द भए पनि त्यसपछि कामले गति लिएको थियो। पुनर्निर्माण प्रधिकरणले उक्त भाग मंसिरभित्रै सक्ने लक्ष्य लिएको थियो। तर सजावटसहित विद्युतीकरणको कारण फागुनमा पुगेको हो।
‘२०३० सालमा आगलागी भएको सिंहदरबारमा फायर फाइटिङको (आगो निभाउने) नयाँ प्रविधि जडान गरिएको छ। जसमा अटोमेटिक र म्यानुअल दुवै तरिकाले त्यसको प्रयोग गर्न सकिन्छ’, उपनिर्देशक विश्वकर्माले भने।
उनका अनुसार देशको प्रमुख प्रशासनिक कार्यालय भएकाले आधुनिक प्रविधिका सुरक्षा उपकरणहरु जडान गरिएको हुनेछ। पहिला नभएको फर्निचरसहितको लेआउट बन्नेछ। हरेक कोठामा एयर कन्डिसनको प्रयोग गरिनेछ।
पुरातात्विक कलाकृति, स्मारकलाई जोगाउन कार्बन फाइबर प्रयोग गरिएको बताइएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सहसचिव तथा प्रवक्ता शंकर नेपाललले केही उद्घाटन आगामी हप्ता भए पनि पूरा सामग्री सार्न १५÷२० दिन लाग्ने बताए्।
उनले भने, ‘प्रधानमन्त्री कार्यालयको उद्घाटन केपी शर्मा ओलीले नै गर्ने योजना छ।’
उनका अनुसार कार्यालय सार्न थालेको १५÷२० दिनमा सबै सामग्री सार्न सकिन्छ। प्रधानमन्त्री कार्यालयमा केही डेकोरेसनको अझै भइरहेको बताए।
हाल प्रधानमन्त्री कार्यालय साँघुरो हुँदा कार्यालयअन्तर्गतका सबै निकाय अट्नसकेका छैनन्।

पश्चिम मोहोडा बन्दै
नेपालीको शान र चिनारीको रुपमा रहेको सिंहदरबारमा वि.सं. २०३० सालमा आगलागी भएको थियो। आगलागीमा मानवीय क्षति नभए पनि ठूलो भौतिक सम्पत्ति र महत्वपूर्ण कागजपत्र तथा दस्तावेजहरु जलेर नष्ट भएको थियो। आगलागी हुँदा पूर्व, उत्तर र दक्षिण मोहोडा जलेर नष्ट भएको थियो।
युरोपेली शैलीमा बनेको भवन आगलागीबाट समेत बचाउन सफल पश्चिम मोहोडा भूकम्पको कारण बढी क्षति भएको थियो।
यो भवन निर्माण गर्दा अधिकांश कामदार र निर्माण सामग्री निःशुल्क जुटाइएको थियो। काठको काम गर्ने सिकर्मी, गारोको काम गर्ने डकर्मीदेखि कुल्ली काम सैनिक, प्रहरी र कैदीहरुबाट गराइएको बताइन्छ।
उत्तर, दक्षिण र पूर्वतर्फका मोहोडा प्रबलीकरण गर्न सकिने निष्कर्ष निकाल्दै छिट्टै काम अघि बढाए पनि पश्चिम मोहोडा अघि बढ्न सकेको थिएन।
सुरुको अध्ययनले प्रबलीकरण गर्न नसकिने भने पनि प्राधिकरणले पुरातत्वविद्सहित फेरि अध्ययन गर्दा राणाकालमा बनेको भवन हुँदा प्रबलीकरण गर्ने निष्कर्ष निकाल्दै गत चैतबाट काम सुरु भएको थियो।
भूकम्पले अत्यधिक क्षति भएकाले प्रबलीकरणमा फलामको प्रयोग बढी गरिएको छ। प्राधिकरणले पुरानो गाह्रोलाई बलियो बनाउन फलामको प्रयोग गर्नुपरे पनि भवनको स्वरुपमा नदेखिने प्रष्ट पारेको छ। २०७८ सम्म पश्चिम मोहडाको काम समेत सक्ने लक्ष्य छ।
पश्चिमपट्टिको मोहोडामा सुर्खी, चुना, फलाम, सिसा, काठ प्रयोग गरी बनाइएकाले सोहीअनुसार नै पुनर्निर्माणको काम अगाडि बढाइएको छ। सिंहदरबार पुनर्निर्माणको ठेक्का शर्मा–न्यू टेक्निकल जेभीले गर्दै आएको छ।

प्रतिक्रिया