कारोबार


केबलकार र सुरुङमार्गले चन्द्रागिरिमा जग्गाको मूल्य तेब्बर

केबलकार र सुरुङमार्गले चन्द्रागिरिमा जग्गाको मूल्य तेब्बर

वसन्त अर्याल
माघ ३०, २०७७ शुक्रबार ६:१३,

थानकोटमा चन्द्रागिरि केबलकार सञ्चालनमा आएसँगै बढेको जग्गाको मूल्य भर्खर निर्माण सुरु भएको सुरुङमार्गको कारण झन् आकाशिएको छ।

यी दुई आयोजनाकै कारण चन्द्रागिरि नगरपालिकामा विशेषगरी चन्द्रागिरि केबलकार र सुरुङमार्गको काठमाडौंपट्टि सुरु विन्दु दहचोकवरपर जग्गाको मूल्यमा तेब्बर वृद्धि देखिएको हो।

अहिले नै दिन दुई गुणा रात चार गुणाका दरले बढिरहेको जग्गाको भाउ सुरुङमार्ग निर्माण सम्पन्न हुँदा चुलीमा पुग्ने जग्गा व्यवसायी बताउँछन्।

‘सुरुङमार्ग बन्नुअघि दहचोक फाँटमा प्रतिआना जग्गा मूल्य ८ देखि १० लाख हाराहारीमा थियो’, बुद्धम् रियलस्टेटका सञ्चालक रमेश खनालले नेपालखबरसँग भने, ‘सुरुङमार्गको काम सुरु भएपछि एकैपटक २० लाख पुग्यो, अहिले २५ लाख आसपास छ।’

उनका अनुसार दहचोकको भित्रपट्टि एक आनाको १२ लाखदेखि २० लाख रुपैयाँसम्म टुक्रा जग्गा खरिदबिक्री भइरहेको छ तर सुरुङमार्ग आसपासको क्षेत्रमा भने २५ देखि ३० लाख रुपैयाँसम्म पुगेको छ।

त्यसो त चन्द्रागिरिमा केबलकार बन्ने भएपछि आयोजना निर्माणको समयमा जग्गाको भाउ ह्वात्तै बढेको थियो। अहिले केबलकार बनेर सञ्चालनमा आइसकेको छ भने योसँगै जग्गाको मूल्य पनि स्थिर बनेको छ।

चन्द्रागिरि नगरपालिकामा यी दुवै आयोजना पर्छन्। तीमध्ये केबलकार आयोजना २०७२ मा सुरु भई २०७४ सालमा निर्माण सकिएको थियो। त्यस्तै धादिङ प्रवेशविन्दु भएको नागढुंगा सुरुङमार्ग गत वर्ष प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए। अहिले धमाधम काम भइरहेको छ।

सुरुङमार्ग निर्माण सकिएसँगै नागढुंगाको सधैँको जाम र उकालोबाट उन्मुक्ति मिल्नेछ। यसले सिस्नेखोला–नागढुंगा–थानकोटसम्मको यात्रालाई सहज बनाउनेछ।

मुआब्जाले बढायो मूल्य
सुरुङमार्गमा जग्गाको भाउ बढ्नुको कारण सुरुङमार्ग प्रभावितलाई चलनचल्तीको मूल्यभन्दा बढी मुआब्जा वितरण गर्नु रहेको घरजग्गा कारोबारीको भनाइ छ।

‘८–१० लाख प्रतिआना मूल्य रहेको जग्गालाई सरकारले मुआब्जाको रुपमा १५ लाख बढी दियो। त्यसपछि त्यो क्षेत्रका जग्गाको मूल्य आकाशियो’, खनालले भने।

चन्द्रागिरि क्षेत्रमा २०६२/०६३ को आन्दोलनसम्म भित्री सडक वा सहायक सडकवरपर एक आना जग्गा डेढ दुई लाख रुपैयाँ मूल्यमै खरिदबिक्री हुने गरेको थियो।

जग्गा व्यवसायीहरुका अनुसार २०६५ देखि ०७० सालसम्म ४–५ लाख प्रतिआना पुगेको जग्गा २०७५ सालसम्म आइपुग्दा १० देखि १५ लाख प्रतिआना पुगेको थियो।

२०७२ सालमा भूकम्पपछि भने मूल्य स्थिर भएको व्यवसायी बताउँछन्। तर फेरि नयाँ संविधान र दुई वर्षपछि भएको चुनावले जग्गाको मूल्य बढाएको एक स्थानीय जग्गा व्यवसायीले नेपालखबरलाई बताए।

‘चन्द्रागिरि क्षेत्रमा केबलकार र सुरुङमार्ग बन्ने भएपछि पछिल्लो दुई वर्षमा प्रतिआना मूल्य २२ देखि २५ लाख रुपैयाँ रहेको छ’, ती व्यवसायीले भने, ‘सुरुङमार्ग बन्ने भनेपछि मनोमानी बढेको छ। सुरुङमार्ग क्षेत्रमा ३५ लाख आना भन्नथालेका छन्।’

चन्द्रागिरी डाँडामा केबलकार बनेपछि थानकोटको गोदामचौर आसपास क्षेत्रमा चहलपहल बढेको थियो। गोदामचौर क्षेत्रमा व्यावसायिक क्रियाकलापदेखि बस्ती विकास हुँदै जाँदा जग्गाको भाउ पनि बढेको व्यवसायीहरुको भनाइ छ।

उपत्यका घुम्न जाने प्रमुख गन्तव्यहरुमा चन्द्रागिरि अहिले पहिलो नम्बरमा पर्छ। यसले पनि यहाँको जग्गाको मूल्य अझै आकाशिने स्थानीय बताउँछन्।

यद्यपि केबलकार निर्माणको समयमा जस्तो अहिले आकर्षण भने छैन। अहिले लगानी गरेर पछि बढी नाफा कमाउन उपयुक्त भए पनि तत्काल बढी नाफा नहुने एक जग्गा व्यवसायीले बताए।

‘यस क्षेत्रमा बस्ती पातलो छ। सडक पूर्वाधारको निर्माण भइसके पनि विद्यालय तथा स्वास्थ्य सुविधा अझै कम छ’, स्थानीय ती व्यवसायीले भने, ‘औषधि ल्याउनुपर्यो भने चेकपोष्टसम्म झर्नुपर्ने बाध्यता छ।’

केबलकार बन्ने निश्चित नहुँदा चन्द्रागिरि गोदामचौरको जग्गा ३ देखि ४ लाख आना रहेको थियो। चन्द्रागिरि आयोजना निर्माण हुने समयमा जग्गाको भाउ ह्वात्तै बढ्यो। केबलकार निमार्ण हुँदै गर्दा १२–१४ लाख रहेको जग्गा १८ देखि २० लाख पुगेको थियो। केबलकार जानेबाटोमा अहिले २२ देखि २५ लाखसम्म रुपैयाँ पुगेको छ।

व्यवसायीका अनुसार नागढुंगामा सुरुङमार्ग क्षेत्रमा जस्तो जग्गाको मूल्य चन्द्रागिरि हिल्सको आयोजनाले धेरै बढाउनसकेको छैन। चन्द्रागिरिको मातातीर्थ क्षेत्रमा अझै १० देखि १२ लाख आनामा जग्गा पाइँदै छ।

चन्द्रागिरि नगरपालिकाभित्रै पर्ने गुर्जुधारा, सतुंगल, चेकपोष्टको मुख्य सडकमा अहिले प्रतिआना ४० लाख आसपास रहेको जग्गा व्यवसायीहरुको भनाइ छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad