गैरआवासीय नेपाली संघ (एनआरएनए)को अग्रसरतामा पूर्वाधार क्षेत्रमा लगानी गर्ने गरी १० अर्ब रुपैयाँको कोष स्थापना गरी सञ्चालनमा ल्याउने तयारी गरिएको छ।
त्यसका लागि गैरआवासीय नेपाली संघले नेपालमा छुट्टै कम्पनी दर्ताको कार्य अघि बढाएको छ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, अर्थ सचिव शिशिरकुमार ढुङ्गाना, राजस्व सचिव रामशरण पुडासैनी, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, अर्थमन्त्रीका आर्थिक सल्लाहकार डा. प्रकाशकुमार श्रेष्ठ, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट समेतको उपस्थितिमा अर्थ मन्त्रालयमा बसेको बैठकमा यसरी स्थापना हुने कम्पनीमार्फत उक्त कोषमा नेपाल सरकारको तर्फबाट पूर्व सहमति बमोजिम पाँच प्रतिशत लगानी गर्ने निर्णय भएको छ।
सो अवसरमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ मन्त्रालयको तर्फबाट उक्त कोष सञ्चालन गर्ने सन्दर्भमा आवश्यक रकमका साथै अन्य सहयोग उपलब्ध गराउने प्रतिबद्धता प्रकट गर्दै एक हप्ताभित्र कम्पनीको दर्ता प्रकृया टुङ्गो लगाई तत्काल काम सुरु गर्न गैरआवासीय नेपाली संघलाई आग्रह गरे।
गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले अहिले कम्पनी दर्ताको प्रक्रिया छिट्टै टुङ्ग्याई दर्ता काम सुरु गर्ने प्रतिबद्धता व्यक्त गरे।
उक्त कम्पनीमा गैरआवासीय नेपाली संघको १० प्रतिशत रहनेछ भने ८५ प्रतिशत सेयर विदेशमा रहेका नेपालीहरुको हुनेछ। गैरआवासीय नेपालीहरुको लगानीका लागि आईपीओ जारी गरिने जनाइएको छ।
गैरआवासीय नेपाली संघका अनुसार लगानीका क्षेत्रहरुबारे पनि प्रस्तावहरु आइसकेको र विदेशमा रहेका नेपालीहरु नेपालमा पूर्वाधार विकासको क्षेत्रमा लगानी गर्न उत्सुक रहेको बताइएको छ।
Shares

प्रतिक्रिया