ad ad

कारोबार


परिषद्को आगामी बैठकमा जाँदै छ सिमेन्ट ग्रेडवृद्धिको प्रस्ताव, नेपाली उद्याेगलाई यस्ता फाइदा

परिषद्को आगामी बैठकमा जाँदै छ सिमेन्ट ग्रेडवृद्धिको प्रस्ताव, नेपाली उद्याेगलाई यस्ता फाइदा

वसन्त अर्याल
माघ २७, २०७७ मंगलबार १२:२,

नेपाल गुणस्तर परिषद्को आगामी बैठकमा नेपाल गुणस्तर तथा नापतौल विभागले सिमेन्टको गुणस्तर ग्रेड वृद्धिसम्बन्धी प्रस्ताव पेश गर्ने भएको छ।

विभागले परिषद्को बैठकको मिति नतोकिए पनि आगामी बैठकमा केही ओपीसी सिमेन्टको ग्रेड वृद्धि गर्ने प्रस्ताव लैजान लागेको हो। हालसम्म नेपाली सिमेन्टले ३३ ग्रेड मात्रै पाउँदै आएका छन्।

गत वर्ष नेपाल गुणस्तर परिषद्को १०२औँ बैठकले साधारण पोर्टल्यान्ड सिमेन्ट (ओपीसी)को ग्रेड ४३ र ५३ निर्धारण गर्ने निर्णय गरेको थियो। प्रस्ताव पारित भए नेपाली सिमेन्ट ३३, ४३ र ५३ ग्रेडमा बजारमा उपलब्ध हुनेछ।

सिमेन्ट उद्योगहरुले गुणस्तर तथा नापतौल विभागमा ग्रेड वृद्धिको निवेदन दिइसकेका छन्। तर कुनै पनि उद्योगले ४३ र ५३ ग्रेडको स्ट्यान्डर्ड भने पाउनसकेका छैनन्।

‘आगामी परिषद्को बैठकमा २/३ वटा सिमेन्ट उद्योगको ग्रेडवृद्धिको प्रस्ताव लैजाँदै छौँ’, गुणस्तर तथा नापतौल विभागका उपमहानिर्देशक ज्योति जोशी (भट्ट)ले भनिन्, ‘परिषद् बैठकले जुन–जुन सिमेन्ट उद्योगको प्रस्ताव पास गर्छ, उसले ग्रेड पाउँछ।’

उनका अनुसार करिब दर्जन उद्योगले ग्रेडवृद्धिको लागि निवेदन दिएका छन्।

‘उद्योगले दिएको निवेदनमा फिल्ड भिजिटको काम भइरहेको छ। उद्योगमा जाने नमूना संकलन गरिरहेका छौँ’, उनले नेपालखबरसँग भनिन्, ‘यसको लामो प्रक्रिया हुन्छ। अहिलेसम्म कुनै पनि उद्योगलाई ग्रेडिङ दिइएको छैन।’

ग्रेडवृद्धिको लागि नापतौल विभागले सिमेन्ट उद्योगमा दुईपटक भिजिट गर्ने उनको भनाइ छ।

‘निवेदन दिएका उद्योगको नमूना संकलनपछि परीक्षण गर्छौँ। त्यसमा उपयुक्त देखिएपछि मात्रै ग्रेड (स्ट्यान्डर्ड) दिने हो’, जोशीले भनिन्, ‘बैठकमा जानेबित्तिकै हामीले लगेको प्रस्ताव पास हुन्छ भन्ने छैन। ३/४ महिनाअघि पनि केही उद्योगको प्रस्ताव बैठकमा लगेका थियौँ। मापदण्ड पुगेन, फेरि परीक्षणपछि लैजाँदै छौँ।’

arghakhachi cement bh 2
भैरहवामा रहेकाे अर्घाखाँची सिमेन्ट उद्याेग। 

ग्रेडवृद्धि हुँदा सिमेन्ट उद्योगलाई के फाइदा ?
नेपालमा केही ठूला आयोजनाहरुले ४३ र ५३ ग्रेडको सिमेन्ट प्रयोग गर्दै आएका छन्। त्यस्ता आयोजनाले करछुटमा भारतबाट सिमेन्ट ल्याई प्रयोग गर्छन्।

नेपाल गुणस्तर तथा नापतौल विभागले ओपीसी सिमेन्टमा ३३ ग्रेडको मात्रै प्रमाणपत्र दिँदा ठूला आयोजनामा नेपाली सिमेन्ट प्रयोग हुन नपाएको उद्योगीले गुनासो गरिरहेका छन्।

ठूला उद्योगले आफूहरुले ४३ ग्रेडभन्दा माथिकै सिमेन्ट उत्पादन गर्दै आएको दाबी गर्दै आएका छन्। तर नेपालमा ३३ ग्रेडभन्दा माथि ग्रेड नै नदिइएका कारण सिमेन्ट निर्यात गर्न पनि नसकिएको उनीहरुको भनाइ छ।

विदेशी सिमेन्टसँग प्रतिस्पर्धाको लागि पनि ग्रेडिङ आवश्यक छ।

‘नेपालको सिमेन्ट राम्रोमध्येमै पर्छ। ग्रेडिङ पाएपछि कुनै पनि आयोजनाको लागि बाहिरबाट सिमेन्ट आयात गर्नुपर्ने बाध्यता हट्छ’, नेपाल सिमेन्ट उद्योग संघका अध्यक्ष इन्जिनियर ध्रुव थापाले भने, ‘कुनै आयोजनामा स्पेसिफिकेसन नै ४३ वा ५३ ग्रेडको सिमेन्ट प्रयोग हुने उल्लेख गरिएको हुँदा आयोजनाले बाहिरबाट सिमेन्ट ल्याउन बाध्य भएका छन्।’

पोखरा विमानस्थललगायत केही ठूला आयोजनाले लकडाउनको समयमा भारतबाट सिमेन्ट आउन नसक्दा काम रोक्नुपरेको गुनासो गरेका थिए।

विमानस्थलले नेपाली सेमेन्टको ग्रेड र आयोजनामा प्रयोगमा भएको ग्रेड नमिल्दा काम प्रभावित परेको बताएका थिए।

नेपाली उद्योगीले भने नेपाली सिमेन्टको गुणस्तरमा कुनै कमी नभए पनि आयोजनाले तोकेअनुसारको ग्रेड गुणस्तर विभागले नदिँदा समस्या परेको बताउँछन् ।

clinker cement bhairahawa
भैरहवाकाे एक सिमेन्ट उद्याेगमा सिमेन्टकाे लागि राखिएकाे क्लिंकर

‘जुन उद्योगमा बाहिरबाट सिमेन्ट ल्याउँदा करमा छुट पाएका छन्। उनीहरुले बाहिरबाट ल्याएका छन्’, थापाले भने, ‘कतिपय इन्जिनियरले ग्रेडिङ नलेखेको सिमेन्ट प्रयोग गर्न नमान्दा बाहिरबाट ल्याउनुपरेको हो। गुणस्तरमा हामी कुनै कमी छैन।’

उनले पछिल्लो समय अरुण तेस्रोजस्तो ठूला जलविद्युत् आयोजनामा समेत नेपाली सिमेन्ट प्रयोग भइरहेको बताए।

‘ठूला उद्योगले ग्रेडिङ बढाउनको लागि गुणस्तर विभागमा निवेदन दिएका छन्’, थापाले भने, ‘करिब १ महिनामा केही सिमेन्ट उद्योगले ग्रेडिङ पाउँछन् भन्ने विश्वास छ।’

३३ ग्रेडमा उत्पादन भएको सिमेन्टलाई ४३ र ५३ ग्रेडको सिमेन्ट उत्पादन गर्न चुनढुंगा र कोइला राम्रो हुनुपर्छ।

चुनढुंगा बढी समय पोल्दा ग्रेडिङ बढ्ने उद्योगीको भनाइ छ। सामान्य सिमेन्ट व्यक्तिगत घर बनाउन प्रयोग हुन्छ। ४३ र ५३ ग्रेडको सिमेन्ट ठूला पुल, जलविद्युत्, हाउजिङ, विमानस्थललगायतको निर्माण आयोजनामा प्रयोग गरिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .