कारोबार


वायुसेवा निगम सुधार्न पूर्वपर्यटन सचिवको संयोजकत्वमा कार्यदल गठन

वायुसेवा निगम सुधार्न पूर्वपर्यटन सचिवको संयोजकत्वमा कार्यदल गठन

नेपालखबर
साउन २२, २०७६ बुधबार ११:१४,

सरकारले राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)को व्यवस्थापन सुधारका लागि ‘नेपाल वायु सेवा निगम सुधार सुझाव कार्यदल’ गठन गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुरूप पूर्व पर्यटनसचिव सुशील घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको हो ।

कार्यदलका सदस्यमा लेखा विज्ञ (चार्टर एकाउण्टेण्ट) सुबोधकुमार कर्ण, व्यवस्थापन विज्ञ डिमप्रसाद पौडेल, क्याप्टेन सुधीरशम्शेर राई र पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने सदस्य सचिव रहेका छन्। कार्यदललाई एक महिनाभित्र निगमको समग्र सुधारका लागि ठोस सुझावसहितको प्रतिवेदन तथा उक्त सुझावहरुको कार्यान्वयन कार्ययोजनासमेत पेश गर्ने जिम्मेवारी दिइएको छ ।

उक्त कार्यदलले निगमको समग्र सुधारका लागि हालसम्म भएका विभिन्न अध्ययनको प्रतिवेदन विश्लेषण गर्ने, निगमको वर्तमान वित्तीय अवस्थाको अध्ययन गर्ने तथा निगमको कानूनी, संस्थागत संगठनात्मक, व्यवस्थापकीय एवम् व्यावसायिक क्षमतामा रहेका समस्याको पहिचान तथा विश्लेषण गर्नेछ । उल्लिखित सबै पक्षहरुमा गर्नुपर्ने तत्कालीन र दीर्घकालीन सुधारहरुको समयबद्ध ठोस कार्ययोजना पेश गर्ने, निगमको सुधारका लागि कार्यदलले उपयुक्त देखेका अन्य सुझावहरु दिनसक्ने पर्यटन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

व्यवस्थापकीय समस्याबाट निगम बाहिर निस्किन नसकेको अवस्थामा अन्तर्राष्ट्रियस्तरमा निगमको साख बढाउँदै व्यवसायिक क्षमतामा वृद्धि तथा आन्तरिक व्यवस्थापनका विभिन्न पक्षहरुमा तत्कालीन तथा दीर्घकालीन सुधार आवश्यक भएको मन्त्रालयको ठहर छ ।

यसअघि पर्यटन मन्त्रालयमा मन्त्री योगेश भट्टराईले निगमको विद्यमान व्यवस्थापनमा देखिएको अन्यौलग्रस्त अवस्थालाई सुधार गरी सेवालाई प्रभावकारी बनाउन सुधार योजना ल्याइने पत्रकार सम्मेलन गरी जानकारी दिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad