कारोबार


गुणस्तरीय सेवा दिन नेपाल टेलिकमले सार्वजनिक गर्‍याे ८ रणनीतिक योजना

गुणस्तरीय सेवा दिन नेपाल टेलिकमले सार्वजनिक गर्‍याे ८ रणनीतिक योजना

नेपालखबर
माघ २२, २०७७ बिहिबार ११:५३,

दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमकाे सेवा गुणस्तरलाई लिएर धेरै जनगुनासा आइरहेकाे सन्दर्भमा कम्पनीले यसकाे समाधान गर्ने उद्देश्यसहित भावी योजना सार्वजनिक गरेको छ।

आज कम्पनीकै १७औँ वार्षिकोत्सव कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले समेत मन्त्रालयमा यस्ता गुनासा आइरहेको भन्दै गुणस्तरमा ध्यान दिन निर्देशन दिएका थिए।

मन्त्री स्वयंले यस्ताे निर्देशन दिएपछि कम्पनीका प्रबन्धनिर्देशक डिल्लीराम अधिकारीले कार्यक्रममा यो वर्ष गर्नुपर्ने ८ वटा रणनीतिक योजनाहरु सार्वजनिक गरेका हुन्।

अधिकारीले नेपाल टेलिकमले आगामी दिनमा पूरा गर्नुपर्ने योजनाहरुको खाका तयार गरेको र त्यसलाई सम्पन्न गर्नुपर्ने चुनौतीहरु रहेको जानकारी दिए।

उनका अनुसार चालू आयोजनाहरुलाई स्वीकृत कार्ययोजनाअनुसार समयमा नै सम्पन्न गर्ने र गुणस्तरीय सेवा प्रदान गर्ने योजना रहेको, मर्मतसम्भारलाई थप वैज्ञानिक र भरपर्दो बनाउने र नेटवर्क एभाइलेबिलिटी बढाई गुणस्तरलाई सुनिश्चित गरिनेछ।

त्यस्तै, जीआईएसमार्फत पूर्वाधारहरुको अभिलेखीकरण तथा सोको प्रयोगबाट योजना तथा कार्यान्वयनमा प्रभावकारिता कायम गरिने, ड्राइभरलेस अप्टिमाइजेसनमार्फत मोबाइल सेवाको गुणस्तरलाई निरन्तर अनुगमन तथा सुधार गरिने पनि योजनामा उल्लेख छ।

यसबाहेक डिजिटल प्लेटफर्ममार्फत सेवा प्रवाह, गुनासो व्यवस्थापनलगायतका कार्यहरु गर्ने, नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणको सहकार्य र सहमतिमा दूरसञ्चार पूर्वाधार सेवा प्रदायक कम्पनी गठन गरी सञ्चालन गर्ने र पूर्वाधारको सहप्रयोगमार्फत लागत कम गराई सेवालाई सस्तो बनाउन कम्पनी अग्रणी भूमिका निर्वाह गर्ने योजना रहेका छन्।

त्यस्तै कम्पनीको कार्यशैली र व्यवस्थापकीय सुधार गर्नका लागि रणनैतिक साझेदार भित्र्याउन पहल गर्ने, सबै स्थानीय निकायहरुमा ब्रोडब्याण्ड सेवा पुर्याई डिजिटल डिभाइड कम गर्दै डिजिटल लिट्रेसीलाई प्रोत्साहन गर्ने वातावरण तयार गर्ने नेपाल टेलिकमले जनाएको छ।

आगामी दिनमा गर्नुपर्ने रणनीतिहरुमा बिगडाटा, आर्टिफिसियल इन्टिलाइजेसनको प्रयोगमार्फत सेवालाई बढी ग्राहकमैत्री बनाइनेछ।

फाइभजी सेवा सञ्चालनको लागि परीक्षण तथा अध्ययन गर्ने र व्यावसायिक सञ्चालनको लागि प्रारुप तयार गर्ने योजना समेत रहेको अधिकारीले जानकारी गराए।

कम्पनीको १७औँ वार्षिकोत्सवको अवसरमा नेपाल टेलिकमले आजदेखि मुलुकभर फोरजी मोबाइलमा चलाउन मिल्ने गरी आकर्षक सुविधासहित फोरजी वायरलेस होम ब्रोडब्याण्ड सर्भिस र मेसिन टु मेसिन डाटा र एसएमएस प्याक सेवाको सुरुवात गरेको छ।

एफटीटीएच वा तारवाला टेलिफोन नपुगेका वा वाइफाइ सेवा उपलब्ध नभएका तर वायरलेस माध्यमबाट धेरै डाटा चलाउने मुलुकभरका फोरजी ग्राहकहरुले सीपीई प्रयोग गरी सुलभ दरमा फोरजी वायरलेस होम ब्रोडब्याण्ड सेवाबाट इन्टरनेट प्रयोग गर्नसक्ने टेलिकमले जानकारी गराएको हो।

हाल यो सेवा प्रतिमहिना ९ सयमा ६० जीबी, १५ सयमा १२० जीबी र वार्षिक ९६ सयमा ७२० जीबी र १६ हजारमा १४ सय ४० जीबी उपलब्ध जानकारी दिइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad