आयोडिनयुक्त नुनको प्रवर्द्धन तथा यससम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सरकारले माघ १९ देखि एक महिनासम्म आयोडिन महिनाका रुपमा मनाउने भएको छ।
आयोडिन कमीबाट हुने विकृति निवारणसम्बन्धी जनचेतना जगाउने उद्देश्यअनुरुप साल्ट ट्रेडिङ कर्पोरेसनले सन् २०२१ फेब्रुअरी महिनालाई ‘आयोडिन महिना’ मनाउनलागेको हो।
यसअनुसार भोलिदेखिको एक महिना ‘आयोडिन महिना’ हुनेछ। युनिभर्सल साल्ट आयोडाइजेसन (युएसआई)को सदस्य राष्ट्रको हैसियतले नेपालमा सन् १९९८ देखि हरेक फेब्रुअरी महिनालाई ‘आयोडिन मन्थ’ घोषणा गरी आयोडिनसम्बन्धी चेतनामूलक गतिविधि सञ्चालन गरिँदै आएको छ।
आयोडिनको कमीबाट उत्पन्न विभिन्न विकृतिहरुमध्ये ‘भिजिवल गोइटर’ सन १९८५÷८६ मा ४४.२ प्रतिशत रहेकोमा सन् २००७ मा ०.४ प्रतिशतमा झर्न गएको र सो हाल समुदायमा देखिएको छैन।
नेपाल सरकारले दिएको निर्देशनअनुसार यस कर्पोरेसनले आयोडिनयुक्त नुनको आपूर्ति गर्दै आएको र नेपाल सरकारले लिएको सहस्राब्दी विकास लक्ष्यअनुरुप सन् २०१८ सम्ममा उचित मात्रामा आयोडिन भएको नून उपभोग गर्ने घर संख्या ९० प्रतिशतमा पुर्याउने लक्ष्य लिएकोमा सन २०१६ को नेपाल सरकारले गरेको सर्बेक्षणअनुसार ९१.० प्रतिशत घर परिवारले उपयुक्त मात्रामा आयोडिन भएको नुन उपभोग गरेको पाइएको छ।
सन् २०१६ मा नेपाल सरकारले गरेको सर्वे अनुसार ९४.५ प्रतिशत ५ वर्षमुनिका बालबालिकाले उपयुक्त मात्रामा आयोडिन भएको नुन उपभोग गरेको पाइएको छ।
यस वर्ष नेपाल कोरोनाको संक्रमणबाट अझै पनि जोखिमपूर्ण रहेकोले नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्दिष्ट गरिएको नियम पालना गर्दै १ महिनासम्म आयोजना गरिने कार्यक्रमहरुमा साल्ट ट्रेडिङ कर्पोरेशनले नेपाल सरकारको जनस्वास्थ्यसंग सम्बन्धित निकायहरुका साथै विद्यालय, समुदाय एवं गैर सरकारी संघ संस्था स्थानीय निकाय लगायत नागरिक समाजका व्यक्ति एवं संस्थासँग समन्वय गरी भौतिक दुरी कायम गरी कार्यक्रम संचालन गर्ने जानाकारी गराएको छ।
आयोडिनको कमीबाट हुने शारिरीक एवं मानसिक कमजोरीका सम्बन्धमा जनचेतनामूलक कार्यक्रमहरुबाट जानकारी दिन शिक्षक, विद्यार्थी, स्वास्थ्यकर्मी तथा जनसमुदायहरुलाई क्रमशः स्वास्थ्य चौकिहरुमा कार्यक्रम, बिद्यालयमा कार्यक्रम, हाटबजारमा माईकिङ्ग, चेतनामूलक सामग्री बितरण, प्रर्दशनी कक्ष(स्टल) राख्ने, जस्ता गतिविधि महिनाभरी संचालन गर्ने कर्पोरेशनले जानाकारी गराएको हो।
नेपाल सरकारले विगत ५७ वर्ष देखी साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिडेडलाई देशभर आयोडिनयुक्त नूनको आपूर्तिको जिम्मेवारी दिएको छ।
साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले ग्रामीणस्तर सम्म आयोडिनसम्बन्धी चेतनामूलक गतिविधिका साथै दुई बालवालिका चिन्ह अंकित पाकेट नुन सुलभ मूल्यमा बिक्री वितरण तथा जनचेतनाका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ। यस आयोडिन मन्थमा आयोडिन सम्बन्धी चेतनामूलक सन्देश लेखिएको सपिङ्ग झोला, स्कुल झोला, टीसर्ट, पम्पलेट, तथा फेस मास्क जस्ता सामग्री बितरण गर्न विभिन्न विद्यालय तथा हाट बजारमा टोली खटाईने कर्पोरशनले जानाकारी गराएको हो।
उक्त अवसरमा आयोडिनको महत्वबारे जनचेतना जगाउन कार्यक्रम सञ्चालन गर्न लागेको छ।

प्रतिक्रिया