आइतबार ‘कोरोना महामारीमा हाम्रो संयमता, समयमै कुष्ठरोग व्यवस्थापनमा सक्रियता’ भन्ने नारासहित ६८ औं विश्व कुष्ठरोग दिवस मनाइयो।
कुष्ठरोग विरुद्धको दिवस मनाइरहँदा सरकारले रोग निवारणमा लिएको लक्ष्य भने पूरा हुन सकेको छैन। मुलुकमा २०६६ माघ १० गते कुष्ठरोगीको संख्या प्रति दश हजारमा १ जनाभन्दा तल झार्ने गरी निवारणको घोषणा गरिएको थियो।
सरकारी लक्ष्यअनुसार सन् २०२० को अन्तसम्ममा प्रति दश हजारमा कुष्ठरोगीको संख्या एक जनामा झर्नु पर्ने हो। तर, रुपन्देहीमा भने त्यो रणनीति सफल हुन सकेन। रुपन्देहीमा प्रति दश हजार जनसंख्यामा कुष्ठरोगीको संख्या १.१९ पुगेको छ। जसले सरकारी लक्ष्य भेट्टाउन नै मुस्किल पर्यो।
जिल्लामा सरकारी लक्ष्यभन्दा ० दशमलब १९ प्रतिशतले रोगीको संख्या बढी छ। जिल्लामा अहिले १४१ जना कुष्ठरोगी विभिन्न अस्पतालमा उपचाररत छन्। चालु आवको पुस मसान्तसम्म ४६ कुष्ठरोगी थपिएका छन्। थपिएका विरामीमध्ये सबैभन्दा बढी बुटवल उपमहानगरपालिकाको भएको स्वास्थ्य कार्यालय रुपन्देहीका क्षय कुष्ठरोग निरीक्षक टीकाराम अधिकारीले बताए।
‘हामीले लक्ष्य पूरा गर्ने र रोगलाई निरुपण गर्ने गरी अभियान चलायौं तर विरामी नखुल्दा लक्ष्य भने पूरा हुन सकेन’ उनले भने। तथ्यांकअनुसार चालु आवमा बुटवलमा १०, तिलोत्तमा ५, देवदहमा ६, रोहिणीमा ५, सिद्धार्थनगरमा ४, मायादेवीमा २, कंचनमा ३, ओमसतियामा २, सम्मरीमाईमा २, लुम्बिनी सांस्कृतिकमा २, सियारी र कोटहीमाई गाउँपालिकामा १-१ कुष्ठरोगका विराी जना फेला परेका छन्।
सरकारले सवै जिल्लाहरुमा कुष्ठरोगको प्रकोप दर प्रति १० हजार जनसंख्यामा १ भन्दा तल झार्ने लक्ष्य लिए पनि तराईका जिल्लाहरुमा विरामी भने बढीरहेका छन्। सरकारले कुष्ठरोगीको निःशुल्क उपचार गर्दै आए पनि विरामीहरु रोगबारे खुल्न नचाहेका कारण निवारणमा समस्या आएको स्वास्थ्य कार्यालयले जनाएको छ।
‘हामीले कुष्ठरोगसम्बन्धी विभिन्न सचेतनामूलक कार्यक्रम गरिरहेका छौं। गाउँगाउँमा अभियान लगिएको छ। तथापी विरामीहरु खुल्न नचाहँदा पहिचान गरी उपचार गर्न समस्या परेको छ’, स्वास्थ्य कार्यालयका प्रमुख डा.राजेन्द्र गिरीले भने।
स्वास्थ्य कार्यालयका अनुसार कुष्ठरोगका विरामी तथा कुष्ठ प्रभावितहरु प्रति सामाजिक बेदभावलाई शून्य बनाउन नसक्दा पनि उनीहरु रोगबारे खुल्ने गरेका छैनन्।
‘कुष्ठरोग प्रतिको भ्रम र डरलाई हटाउन परिवार र समुदायमा रोगको बारेमा सही जानकारी दिने तथा प्रचार प्रसार गर्ने काम हामीले गरेका छौं’, डा. गिरीले भने, ‘रोगको शंकास्पद विरामीलाई रोग निदानका लागि स्वास्थ्य संस्थामा पठाउन आग्रह गर्दछौं।’
उनले कुष्ठरोगकोबारे सामाजिक भ्रम हटाई सत्य तथ्य जानकारी दिन सबैलाई आग्रह समेत गरे।
कृष्ठरोग लागेमा शरीरको कुनै भागमा छुँदा थाहा नहुने र फुस्रो वा हल्का रातो दागहरु देखा पर्ने सुरुको चिन्ह हो। यसबाहेक अनुहार र कानका लोतीमा गिर्खा देखिनु, छाला चम्किलो वा बाक्लो हुनु तथा आँखी भौं झरेर जानु कुष्ठरोगका चिन्हहरु हुन्। समयमै यसबारे पहिचान नगरे पछि गएर हात खुट्टाका औंलाहरु कमजोर हुँदै गई खुम्चने र अन्तमा अंगभंग हुनसक्ने सम्भावना हुन्छ।
सरकारकाले कुष्ठरोगसम्बन्धी विभिन्न सचेतनामूलक कार्यक्रम गरिरहेको भए पनि रोगबारे थाहा पाए पारिवारिक तथा सामाजिक बहिष्करण हुने डरले धेरै विरामी खुल्न चाहँदैनन्। यसले विरामीको पहिचान गरी उपचार गर्न समस्या पर्दै आएको छ।

प्रतिक्रिया