ad ad

कारोबार


२५० मेगावाटको सौर्य ऊर्जा परियोजनाका लागि समझदारीपत्रमा हस्ताक्षर

२५० मेगावाटको सौर्य ऊर्जा परियोजनाका लागि समझदारीपत्रमा हस्ताक्षर

नेपालखबर
माघ १३, २०७७ मंगलबार ११:३१,

लगानी बोर्ड र एक अन्तर्राष्ट्रिय कम्पनीबीच नेपालमा अहिलेसम्मकै ठूलो सौर्य ऊर्जा परियोजना स्थापनासम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ।

नेपालमा ४० मेगावाट क्षमताको ब्याट्री स्टोरेज प्लान्ट सहितको २५० मेगावाट क्षमताको ग्रीडमा जोडिने सौर्य ऊर्जा परियोजना स्थापनाको लागि विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन तयार गर्न नेपाल सरकार, लगानी बोर्डको कार्यालय र राइजेन इनर्जी सिंगापुर जेभीबीच समझदारीपत्रमा मंगलबार हस्ताक्षर भएको हो।

समझदारी पत्रअनुसार बाँकेको कोहलपुर र कपिलवस्तुको बाणगंगामा क्रमशः १२५ मेगावाटका दरले जम्मा २५० मेगावाट सौर्य ऊर्जा परियोजना र २० मेगावाटका दरले जम्मा ४० मेगावाट क्षमताको ब्याट्री स्टोरेज प्लान्ट स्थापनाका लागि अध्ययन गरिने लगानी बोर्डले जनाएको छ।

बोर्डका अनुसार उक्त परियोजनाको कुल अनुमानित लागत १८ करोड ९५ लाख अमेरिकी डलर रहेको छ।

उक्त परियोजना नेपालको हालसम्मकै ठूलो सौर्य ऊर्जा परियोजना भएको बोर्डले जनाएको छ। 

लगानी बोर्ड कार्यालयमा सम्पन्न सो सम्झौतामा बोर्ड कार्यालयका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र कम्पनीको तर्फबाट उक्त कम्पनीका दक्षिण एशियाका लागि विकास प्रबन्धक वाङ सियाङले हस्ताक्षर गरेका हुन्।

सो सम्झौताअनुसार कम्पनीले सर्वेक्षण अनुमति पाएको १२ महिनाभित्र प्रतिवेदन तयार गरी लगानी बोर्डको कार्यालयमा बुझाउनु पर्नेछ।

२०७७ असार ५ मा बसेको लगानी बोर्डको बैठकले उक्त कम्पनीलाई प्रतिवेदन तयार गर्न अनुमति दिने र यसका लागि सर्वेक्षण अनुमति प्रदान गर्ने निर्णय गरेको थियो।

भिडियोः  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .