ad ad

कारोबार


रोक्न नभ्याउँदै हराउँछन् मोटरसाइकल

रोक्न नभ्याउँदै हराउँछन् मोटरसाइकल

वसन्त अर्याल
माघ १३, २०७७ मंगलबार ११:२१,

काठमाडौंका सुरज गिरीले गत माघ २ गते साँझ साढे ६ बजे रातो पल्सर मोटरसाइकल प्रदर्शनीमार्गमा काम भएकाले फनपार्कबाहिर पार्किङ गरे। पुस्तक पसलमा सानो काम थियो। २–३ मिनेटकै बीचमा उनी आफ्नो मोटरसाइकल भएको ठाउँमा फर्किए। तर मोटरसाइकल थिएन। उनले हेन्डिल लक समेत गरेका थिए। त्यसपछि उनले माेटरसाइकल हराएको जानकारी ट्राफिक प्रहरी महाशाखामा गराए।
....
हाल काठमाडौंमै बस्दै आएका अजय तुलाधरले एफजेट भी३ बाइक कुदाउँदै आएका थिए। माघ ९ गते लगनखेलमा क्लिनिकमा औषधि लिन गएका थिए। हतारमा भएकाले क्लिनिकभन्दा केही पर पार्किङ गरेका थिए। औषधि लिएर फर्किँदा मोटरसाइकल नै थिएन। हतारमा चाबी नै छोडेर औषधि लिन गएका रहेछन्, मोटरसाइकल क्षणभरमै चोरी भयो।
.....
गत कात्तिकमा ईश्वरी लामिछानेका साथी बिरामी भए। साथी सामाखुसी मेडिकलमा भर्ना भएका थिए। लामिछाने आफ्नो रोयल इन्फिल्ड मोटरसाइकल लिएर बिरामी साथी भेट्न गए। हतारमा भएकाले ह्यान्डल लक गर्न बिर्सिएछन्। करिब १ घण्टामा मेडिकलबाट बाहिरिँदा पार्किङमा मोटरसाइकल थिएन। उनले प्रहरी महाशाखामा हराएको निवेदन दिए।
......
यी तीन जना प्रतिनिधि पात्र मात्रै हुन्। हरेक दिन काठमाडौं उपत्यकाबाट मोटरसाइकल चोरी हुने गरेका छन्। ट्राफिक प्रहरीले माेटरसाइकल चोरको गिरोह नै रहेको बताउँछ।

मोटरसाइकल चोर्ने गिरोहले नम्बर प्लेटसमेत परिवर्तन गर्ने गरेको छ। सोमबार मात्रै ट्राफिक प्रहरी महाशाखाले फेला परेका २४ मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ।

ट्राफिक प्रहरीले सवारीधनीको लापरबाहीको कारण अधिकांश मोटरसाइकल हराउने गरेको बताएको छ। लामिछाने र तुलाधरले जस्तै कसैले मोटरसाइकलमै चाबी छाडिदिने, कसैले हेन्डिल लक नगर्ने कारण धेरै मोटरसाइकल हराउने गरेको बताएको छ।

सवारी धनी आफैँ आफ्नै लापरबाहीको कारण मोटरसाइकल हराएको बताउँछन्।

सोही कारण ट्राफिक प्रहरीका प्रवक्ता एसपी श्यामकृष्ण अधिकारी मोटरसाइकल धनी पनि बढी चनाखो हुनुपर्ने बताउँछन्।

‘जहाँ पायो त्यहीँ पार्किङ गर्ने, बढी भीडभाड भएको ठाउँमा पार्किङ गर्ने जस्ता कारणले पनि चोरी हुने गरेका छन्’, प्रवक्ता अधिकारीले नेपालखबरसँग भने, ‘भीडभाडमा लामो समय पार्किङ गर्दा चोरी हुनसक्छ।’

आफ्नो मोटरसाइकल सकेसम्म पार्किङ स्थलमा पार्क गर्नुपर्ने बताउँछन् उनी। भन्छन्, ‘लक पनि राम्ररी लगाउनुप¥यो।’

ट्राफिक प्रहरी महाशाखाका अनुसार आर्थिक वर्ष २०७५/०७६ मा १ हजार ७ सय १० वटा मोटरसाइकल हराएको निवेदन परेका थिए। यसमा ४०६ निवेदन अनुसन्धानमा ल्याइएको थियो।

त्यसमध्ये ६० वटा अनुसन्धानबाट फेला पारिएको थियो भने २ सय ३२ वटा मोटरसाइकल सूचनाको आधारमा फेला परेको तथ्यांकले देखाएको छ। उक्त वर्ष मोटरसाइकल चोरीमा संलग्न ८१ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो।

गत आर्थिक वर्षमा मात्रै महाशाखामा १३ सय ७९ वटा उजुरी परेका थिए। यसमा ३७५ वटा निवेदन अनुसन्धानमा ल्याइएको थियो। सूचनाको आधारमा २ सय ९७ वटा मोटरसाइकल र अनुसन्धानपश्चात ३१ मोटरसाइकल फेला परेको महाशाखाले जनाएको छ।

चालू आर्थिक वर्षमा मात्रै ७ सय ५९ जनाले मोटरसाइकल हराएको निवेदन दिएका छन्। यसमा १ सय ३८ मोटरसाइकल फेला पारी सवारीधनीलाई जिम्मा दिइएको तथ्यांक ट्राफिक प्रहरीले उपलब्ध गराएको छ।

गत वर्ष मोटरसाइकल चोरीको मुद्दामा ३८ जनाविरुद्ध र यो वर्ष ३५ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो।

‘अरु चोरीजस्तै मोटरसाइकल चोरी पर्छ। कहाँबाट चोरी भएको त्यहाँको प्रहरी चौंकीमा पठाउँछौँ। प्रहरीले चोरी मुद्दामा अदालतमा मुद्दा दायर गर्छ’, एसपी अधिकारीले भने, ‘मुद्दा दायर गर्दा जति मूल्यको मोटरसाइकल चोरी गरेको हुन्छ। त्योअनुसारको बिगो र कैद माग गरिएको हुन्छ।’

चोरी पुष्टि भए अदालतले दण्ड जरिवाना गर्ने उनी बताउँछन्।

महाशाखाले कुनै सवारीसाधन चोरी भए अनलाइनमार्फत निवेदन दिनसक्ने व्यवस्था समेत गरेको जानकारी दिएको छ। चोरी भएको थाहा पाउनासाथ हटलाइन १०३ वा अनलाइन सेवा ‘लस्ट भेहिकल एप्लिकेसन’मा लगइन गरेर निवेदन दिन सकिने व्यवस्था गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .