सरकारी स्वामित्वको नेपाल टेलिकम र निजी क्षेत्रको एनसेल मुलुकका दुई ठूला दूरसञ्चार कम्पनी हुन्। यी दुई कम्पनीबीच सेवा विस्तारदेखि ग्राहकलाई ‘होल्ड’ गर्नमा समेत तीव्र प्रतिस्पर्धा छ।
दुई कम्पनीको पछिल्लो तथ्यांक हेर्ने हो भने डेटा खपत गर्ने थ्रिजी र फोरजी सेवामा एकअर्काले ‘लिड’ गरिरहेका छन्। थ्रिजी सेवाको पहुँचमा नेपाल टेलिकम अगाडि छ भने फोरजी सेवा विस्तारमा एनसेल अगाडि देखिन्छ।
नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको कात्तिक महिनाको एमआईएस रिपोर्टअनुसार थ्रिजी सेवामा नेपाल टेलिकमका ग्राहक एनसेलभन्दा तेब्बर धेरै छन्। फोरजी सेवामा भने एनसेलका ग्राहक नेपाल टेलिकमभन्दा दोब्बर धेरै छन्।
धेरै वर्षदेखि ग्रामीण भेगसम्म पुगेको थ्रिजी सेवामा दुई कम्पनीका कुल ग्राहक संख्या १ करोड ११ लाखभन्दा धेरै छ।
तथ्यांकअनुसार यी ग्राहकमध्ये नेपाल टेलिकमका थ्रिजी सेवा प्रयोग गर्ने ग्राहक ८४ लाख ३२ हजारभन्दा धेरै छन्। यता एनसेलको ग्राहक भने नेपाल टेलिकमभन्दा झण्डै तेब्बरले कम २६ लाख ७४ हजार रहेका छन्।
नेपालमा २०६४ सालदेखि थ्रिजी सेवा सुरुवात भएको थियो। सार्क मुलुकमै पहिलो थ्रिजी सेवा सुरु गरेको नेपालले ग्रामीण भेगसम्म यसको सेवा पुगेको छ। अझै पनि केही ठाउँमा यो सेवाको विस्तार हुँदै छ।
यो सेवाको विस्तार हुनु भनेको ग्रामीण भेगसम्म कुन कम्पनी पुगेका छन् भन्ने पनि देखिन्छ।
त्यस्तै, नेपालमा प्रयोग भइरहेको मोबाइल इन्टरनेटको पछिल्लो सेवा फोरजीका कुल ग्राहक संख्या ६३ लाख ३२ हजार छन्। यो संख्यामा दुई ठूला कम्पनीबाहेक स्मार्ट टेलिकमका झण्डै २ लाख फोरजी ग्राहक पनि जोडिएका छन्।
दुई ठूला कम्पनीको ग्राहक संख्या हेर्ने हो भने एनसेलका फोरजी ग्राहक ४० लाख ८२ हजारभन्दा धेरै छन्। नेपाल टेलिकमका भने एनसेलभन्दा ठीक आधा २० लाख ५० हजार रहेका छन्।
नेपालमा २०७४ पुस महिनादेखि फोरजी सेवा सुरु भएको थियो। नेपाल टेलिकमले एनसेलले भन्दा धेरैपछि मात्र फोरजी सेवा सुरु गरेको थियो।
फोरजी सेवा विस्तारका हिसाबले हेर्ने हो भने एनसेल धेरै अगाडि देखिन्छ। यसको अर्थ के हो भने एनसेलले आफ्ना थ्रिजी ग्राहकलाई फोरजीमा अपग्रेड गर्न सफल भइरहेको छ।
नेपाल टेलिकमका फोरजी र थ्रिजी कुल ग्राहक १ करोड ४ लाख ८२ हजार रहेका छन् भने एनसेलका फोरजी र थ्रिजीका कुल ग्राहक ६७ लाख ५६ हजार रहेका छन्।
यी दुई कम्पनीको फोरजी र थ्रिजी सेवा विस्तारसँगै मुलुकको ब्रोडब्यान्ड इन्टरनेटको पहुँच ८० प्रतिशतमा पुगेको छ।
जसमा मोबाइल ब्रोडव्यान्ड ५८.८३ प्रतिशत छ। त्यसबाहेक तारसहितको फिक्स्ड ब्रोडब्यान्ड २०.४८ प्रतिशत र ताररहित ०.७६ प्रतिशत रहेको प्राधिकरणले जनाएको छ।
अहिले २ करोड ३९ लाख २१ हजारभन्दा धेरै संख्याले ब्रोडब्यान्ड इन्टरनेट प्रयोग गरिरहेका छन्। यसमध्ये मोबाइल इन्टरनेटपछि सबैभन्दा धेरै केबल/एफटीटीएच ५२ लाख १७ हजार र एडीएसएल ९ लाखले प्रयोग गरिरहेका छन्।

प्रतिक्रिया