नेपाल विद्युत् प्राधिकरणमा क्रियाशील विभिन्न तीन कर्मचारी संगठनले डेडिकेटेड र ट्रङ्क लाइनको महसुल उठाउन नेतृत्वको ध्यानाकर्षण गराएका छन्।
प्राधिकरणका कामय मुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई आज एक ध्यानाकर्षण पत्र बुझाउँदै उनीहरुले विद्युत् भार कटौतीको समयमा डेडिकेटेड र ट्रङ्क लाइनमार्फत जोडिएका विद्युत् लाइनको महसुल हालसम्म पनि नउठेकामा ध्यानाकर्षण गराएका हुन्।
प्राधिकरण सञ्चालक समितिको २०७५ वैशाख ३१ गतेको बैठकले सञ्चाालक समिति सदस्य भक्तबहादुर पुनको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो। समितिले २०७६ असोज १६ गते प्रतिवेदन बुझाएको थियो। यस्तै, प्राधिकरण सञ्चालक समितिको २०७६ कात्तिक १६ गते बसेको बैठकले डेडिकेटेड र ट्रङ्क लाइनको महसुल उठाउने निर्णय गरेको थियो।
निर्णय भएको लामो समय भइसक्दा महसुल उठ्न नसकेको भन्दै प्राधिकरणका क्रियाशिल आधिकारीक टे«ड युनियन नेपाल विद्युत् प्राधिकरण राष्ट्रिय कर्मचारी युनियन, कर्मचारी सङ्घ र कर्मचारी कल्याण परिषद्ले आज ध्यानाकर्षण गराएको हो।
विद्युत्भार कटौतीको समयमा औद्योगिक, व्यापारिक तथा गैरव्यापारिक वर्गका उद्योग प्रतिष्ठानले डेडिकेटेड र ट्रङ्क लाइनबाट बिजुली लिएका थिए। त्यसरी लिएको बिजुलीको महसुल मात्रै झण्डै रु ११ अर्ब बराबर रहेको छ। रासस
Shares

प्रतिक्रिया