कारोबार


लुम्बिनीमा दैनिक १५ सय आन्तरिक पर्यटक

लुम्बिनीमा दैनिक १५ सय आन्तरिक पर्यटक

प्रकाश न्यौपाने
माघ ८, २०७७ बिहिबार ११:२५,

शान्ति र अहिंसाको प्रतीक मानिने गौतमबुद्धको जन्मस्थल लुम्बिनी घुम्न बौद्धमार्गी, अनुयायी र आन्तरिक पर्यटक मात्रै होइन्, भारतसहित तेस्रो मुलुकका सबै धर्मावलम्बी लालायित हुन्छन्। शान्त वातावरण, सुन्दर र मनोरम दृश्यले लुम्बिनी पुग्नेलाई मन्त्रमुग्ध पार्छ।

तर, कोरोना संक्रमणका कारण ८ महिनासम्म मायादेवी मन्दिर बन्द हुँदा लुम्बिनी सुनसान रह्यो। मंसिर तेस्रो साताबाट स्वास्थ्य मापदण्ड अपनाएर मन्दिर खुल्ला गरिएपछि आन्तरिक पर्यटकले गति लिन थालेको लुम्बिनी विकास कोषले जनाएको छ।

‘लुम्बिनी घुम्ने आन्तरिक पर्यटकको संख्या दैन्दिन वृद्धि भएको छ। मायादेवी मन्दिर खुल्ला गरेपछि त्यसयता लुम्बिनी आन्तरिक पर्यटकले भरिभराउ हुन थालेको हो’, कोषका योजना प्रमुख ई.सरोज भट्टराईले भने। नेपालका तराई र पहाडसँगै हिमाली जिल्लाबाट समेत लुम्बिनीमा रमाउन आउने धेरै छन्। लुम्बिनी घुम्नका लागि अहिलेको मौसम निकै राम्रो मानिन्छ। जसले गर्दा विभिन्न विद्यालयहरुले पनि विद्यार्थीलाई लुम्बिनी भ्रमणमा ल्याउने गरेका छन्।

lumbini pic 1

पछिल्लो समय मायादेवी मन्दिर पर्यटकका लागि खुल्ला गरेपछि केही भारतीय पर्यटक पनि लुम्बिनी घुम्न आउने गरेको कोषले जनाएको छ। मायादेवी मन्दिर खुलेपछि करिब एक लाख आन्तरिक पर्यटक लुम्बिनी आएको भट्टराईले जानकारी दिए।

‘अहिले सरदरमा लुम्बिनीमा दैनिक एक हजार ५ सयको हाराहारीमा पर्यटक आउने गरेका छन्, यो संख्या प्रत्येक दिन बढ्दो छ’, योजना प्रमुख भट्टराईले भने, ‘यो लुम्बिनीका लागि मात्रै नभई समग्र मुलुकका लागि राम्रो सन्देश हो।’

लुम्बिनीमा मन्दिर दर्शनसँगै विभिन्न बौद्ध गुम्बा, शान्तिदीप, ढुंगा सयर गरेर पर्यटक रमाउने गरेका छन्। योसँगै कतिपयले ध्यानसमेत गर्ने गरेका छन् भने शान्त र स्वच्छ बगैँचामा बसेर आनन्द लिने पनि कयौंँ छन्। सीमानाका बन्द हुँदा तेस्रो मुलुकका पर्यटक लुम्बिनी आउन भने पाएका छैनन्। भारतीयहरु भने न्यून मात्रामा भित्री बाटो हुँदै लुकीछिपी लुम्बिनी घुम्न आउने गरेका छन्। स्वास्थ्य मापदण्ड अपनाएर लुम्बिनी पर्यटकका लागि खुल्ला गरिएको भनिए पनि पर्यटकले भने स्वास्थ्यका मापदण्ड भने पालना गरेको पाइँदैन।

लामो समयपछि खुलेको लुम्बिनी घुम्न पाउँदा आन्तरिक पर्यटक पनि खुसी छन्। धरानबाट लुम्बिनी घुम्न आएकी सरस्वती परियार भन्छिन्, ‘लुम्बिनी कस्तो होला भन्ने लागेको थियो, यहाँ आउँदा निकै राम्रो लाग्यो। व्यवस्थित रहेछ। शान्त, सफासुग्गर र सुन्दर रहेछ। बसेर हेरिरहँुजस्तो लाग्न।’ उनले आन्तरिक पर्यटन बजार गुल्जार बनाउन घुमफिर जरुरी रहेको जनाइन्।

लुम्बिनीको मायादेवी मन्दिरको गेटमा भेटिएकी काभ्रेकी प्रतीभा श्रेष्ठले पनि विगतमा भन्दा लुम्बिनीमा धेरै सुन्दरीकरण र व्यवस्थित गरिएको बताइन्। उनले कोरोनाका कारण लामो समय घरमै बस्दा अत्तालिएको मन लुम्बिनी घुमेपछि रोमाञ्चित र हर्षित भएको सुनाइन्। ‘अब कोरोना भनेर सधैंभरी डराएर बस्नु हुँदैन। आन्तरिक पर्यटकीय गन्तव्य घुम्नुपर्छ। यसले पर्यटन क्षेत्रलाई चलायमान बनाउन सहयोग पुग्छ’, उनले भनिन्।

आन्तरिक पर्यटकको लुम्बिनीमा आगमन बढ्दै गए पनि सीमा नाका बन्द हुँदा बाह्य मुलुकका पर्यटक भने आउन सकेका छैनन्। जसले गर्दा बुटवल, भैरहवा, लुम्बिनीलगायत सहरी इकालाका पर्यटन व्यवसायीले फाइदा लिन भने सकेका छैनन्।

‘हाम्रो मुख्य ग्राहक भनेकै भारतीय र तेस्रो मुलुकका पर्यटक हुन्। जबसम्म उनीहरु लुम्बिनी घुम्न आउँदैनन्, तबसम्म हामीलाई आन्तरिक पर्यटकले थेग्दैन’, लुम्बिनीका पर्यटन व्यवसायी डिला रेग्मीले भने, ‘बाह्य पर्यटक ल्याउन सरकार सीमानाका खुल्ला गर्न जरुरी छ।’

सहरी इलाकाका पर्यटन व्यवसायी सुनसान बसे पनि ग्रामीण इलाकाका होटलहरुले भने पर्यटक लक्षित कार्यक्रम गरेरै आन्तरिक पर्यटक तानिरहेका छन्। सहरी क्षेत्रका पर्यटन व्यवसायी थला परिरहँदा रुपन्देहीको ग्रामीण क्षेत्रका होटलमा भने आन्तरिक पर्यटकको घुइँचो थेगी नसक्नु छ।

lumbini pic 2

जिल्लाको छपिया क्षेत्रमा खुलेका होटलमा खुट्टा राख्ने ठाउँ छैन। छपियास्थित लुम्बिनी प्यालेस रिसोर्टका संचालक अर्जुन भुसाल भन्छन्, ‘शान्त र पारिवारिक वातावरण दियो भने आन्तरिक पर्यटकले पनि पर्यटन क्षेत्र चलायमान हुन्छ भन्ने हामीले उदाहरण पेस गरेका छौं।’ उनले आफ्नो रिसोर्टमा दैनिक चार÷पाँच सयको हाराहारीमा आन्तरिक पर्यटक आउने गरेको सुनाए।

आन्तरिक पर्यटकले मात्रै पर्यटन क्षेत्र चलायमान नहुने भएकाले सीमानाका नखुल्दासम्म रुपन्देहीको पर्यटन व्यवसाय पूर्ववत अवस्थामा आउन सक्दैन। घुम्न आउने पर्यटक पनि संक्रमणको डरले हत्तपत्त होटलमा खान बस्न जाँदैनन्। यसले गर्दा व्यवसायी थप मारमा छन्। लामो समयदेखि थला परेको पर्यटन क्षेत्रलाई उकास्न सरकार र व्यवसायी स्वयम्ले पनि नयाँ कार्यक्रम ल्याउनु पर्छ नै स्वास्थ्य मापदण्डलाई कडाइ गरी सीमा क्षेत्रमा पर्यटक आगमनलाई सहज गर्नुपर्ने सम्बद्ध व्यवसायी बताउँछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .