नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा)ले ल्याएको हालसम्मकै ठूलो परिमाणको आईपीओ भर्ने मंगलबार अन्तिम दिन थियो।
यसमा हालसम्मकै धेरै जनाले बैंकको आईपीओ भर्ने पहिले नै निश्चित थियो। इतिहासकै ठूलो आईपीओमा १५ लाखभन्दा बढीले १८ अर्बभन्दा बढी रुपैयाँ लगानीका लागि आवेदन दिएको अनुमान छ।
नेपालको पुँजीबजारमा सर्वसाधारणलाई छुट्याइएको ७ करोड ५८ लाख ४० हजार कित्ता सेयर प्रवेश गर्दैगर्दा यसले पुँजीबजारमा प्रभाव पार्ने देखिएको छ।
कतिपय सेयर बजार विश्लेषक तथा विज्ञहरुले यसलाई ‘ट्रेन्ड चेन्जर’को रुपमा लिएका छन् भने कतिपयले पुँजीबजारमा बैंकहरुको कर्जा प्रभावको एकाधिकार क्रमशः कम हुँदै जाने बाटोमा लागेको विश्लेषण गरेका छन्।
इन्फ्रास्ट्रक्चर बैंक भनेको नेपालको इतिहासमै सबैभन्दा ठूलो आईपीओ भएको बैंक हो। फेस भ्यालुमा झन्डै आठ अर्बको आईपीओ छ।
नेपालमा यो नयाँ प्रकृतिको बैंक हो र अरु वाणिज्य बैंकहरुभन्दा फरक उद्देश्यका साथ स्थापना भएको हो। यसको लागि राष्ट्र बैंकले छुट्टै नीतिगत र कानुनी व्यवस्था गरेको छ।
अन्य वाणिज्य बैंकभन्दा भिन्न काम गर्नुपर्ने भएकाले यसको कर्जा प्रभाव केही फरक हुने अर्थविद् तथा सेयरबजार विश्लेषक अनलराज भट्टराई बताउँछन्।
अन्य मुलुकमा पनि पूर्वाधार विकासमा वाणिज्य बैंकहरुभन्दा पनि यस्तै किसिमका ठूला बैंकले लगानी गर्ने परम्परा छ। नेपालमा पनि यसको अवधारणा आएको छ। यसले बैंकिङ क्षेत्रमा नयाँ अवधारणा विकास गर्ने उनको भनाइ छ।
दीर्घकालीन लगानी राम्रो
बजारमा ठूलो मात्रामा सेयर निष्काशन भइरहेको बेला यसको बजार मूल्य कति होला भन्ने जिज्ञासा पनि धेरैमा छ। नाफाका हिसाबले दीर्घकालीन लगानीको लागि यो उपयुक्त कम्पनी भएको भट्टराई बताउँछन्।
‘तत्काल अन्य बैंकजस्तो यसको नाफा नहुन सक्छ’, उनले भने, ‘यसको जब प्रतिफल आउन थाल्छ, धेरै राम्रो हुन्छ। त्यसैले दीर्घकालीन रुपमा लगानी गर्न उपयुक्त छ।’
यसलाई केही समयअघि आएको पुनर्बीमा कम्पनीसँग तुलना गर्न सकिन्छ। पुनर्बीमा कम्पनी पनि सीमित दायरामा काम गर्ने हो तर सुरक्षित व्यवसाय हुन्छ।
यो बैंकले नेपालको वित्तीय क्षेत्र, औद्योगिक विकास, पूर्वाधार विकासको लागि दीर्घकालीन लगानीको लागि अवसर सृजना गर्छ। यो ठूलो हुँदै गएमा यसले बैंक संयन्त्रमा राम्रो हुने उनको भनाइ छ।
अहिले २० अर्ब रुपैयाँमात्र पुँजी भएको अवस्थामा खासै प्रभाव पर्न नसक्ने भएकाले दायरा कसरी वृद्धि हुन्छ, स्रोत कहाँबाट जुटाउँछ भन्ने पक्षले भविष्य निर्धारण हुनेछ।
नेपालको मात्र पुँजी नभएर बाह्य पुँजी परिचालन गर्न कति सक्षम हुन्छ भन्ने महत्वपूर्ण पाटो रहेको भट्टराई बताउँछन्।
‘यसको व्यवस्थापन कसरी गरिन्छ र भविष्यमा कसरी अगाडि बढाइन्छ भन्नेमा निर्भर हुन्छ’, उनले नेपालखबरसँग भने, ‘यसको अवसर भने ठूलो छ।’
पूर्वाधार विकासलाई चाहिने कर्जा, त्यसको वृत्ति विकास, प्रविधिमा यसले सहयोग गर्न सक्ने निश्चित क्षेत्र छ। यसको निर्भरता भनेको पूर्वाधारको जोखिम कस्तो रहन्छ भन्नेमा यसको आम्दानी निर्भर रहनु हुनेछ।
नेपालको सन्दर्भमा पूर्वाधार समयमा नबन्ने, बनेको पूर्वाधारमा अवरोध आउने जस्तो क्रियाकलापले यसलाई असर गर्छ कि भन्ने प्रश्न पनि उठ्छ तर यसले कर्जा दिने मात्र दिने भएकाले खासै असर नहुने भट्टराईको भनाइ छ।
‘ठूला पूर्वाधारमा कर्जा दिने भएकाले कर्जा, ब्याज, सावाँमा पुनर्तालिकीकरण गर्नेबाहेक अन्य प्रभाव पर्दैन’, उनले भने, ‘राष्ट्र बैंकको नीतिगत व्यवस्थाले यसको ब्यालेन्ससिटमा फरक पर्ने हो।’
सरकारी पूर्वाधारको तुलनामा निजी क्षेत्रले लगानी गरेको पूर्वाधार धेरै राम्रो भएकाले यसको लागि जोखिम क्षेत्र खासै नहुने विज्ञको भनाइ छ।
बजारमा चलखेल कम हुँदै जान्छ
जुन बेलामा सेयर बजारमा नेपाल टेलिकमको सेयर सूचीकृत भएको थियो, त्यो बेला यसलाई ‘ट्रेन्ड चेन्जर’को रुपमा हेरिएको थियो। निफ्राको आईपीओ पनि त्यस्तै अर्को ‘ट्रेन्ड चेन्जर’का रुपमा आएको सेयर बजार विश्लेषक तथा प्रशिक्षक केशव प्रसाद श्रेष्ठ बताउँछन्।
निफ्राको आईपीओ निष्काशन हुँदै गर्दा नेपाली सेयर बजारसँग सम्बन्धित केही महत्पूर्ण पक्षसँग यसलाई जोडेर हुर्न सकिने उनको भनाइ छ।
‘जब बजारमा निफ्राको जस्तो ठूलो मात्रामा आईपीओहरु निष्काशन हुन्छ, यसले यसले चलखेल (म्यानिपुलेसन) हुने सम्भावना कम हुँदै जान्छ’, श्रेष्ठले भने, ‘धेरै कित्ता भएको सेयर मूल्यमा चलखेल गर्न सकिँदैन।’ त्यसले बजारमा अनुशासन ल्याउँछ। धेरै मान्छेको हातमा स्रोत पुग्छ।
अहिले ५०, ६० कित्ताको दरले आईपीओ हात पर्नसक्ने आँकलन भइरहेको बेला १५ लाख जनाले आईपीओ भर्छन् भन्ने छ। यसले गर्दा सेयर मूल्य बढेपछि एकै पटक १५ लाख जनाले फाइदा लिन सक्नेछन्।
अर्को कुरा यसले कम्पनीको पुँजी वृद्धिमा सहयोग गर्नेछ। अहिले नेपालको पुँजीबजार मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) बराबर पुग्न लागेको छ। यसले पुँजीबजारमा बलियो उपस्थिति हुनलाई मद्दत पु¥याउने श्रेष्ठको भनाइ छ।
निफ्रा अन्य बैंकभन्दा फरक र पूर्ण रुपमा पूर्वाधारमा लगानी गर्ने बैंक हो। यसमा ठूलो आईपीओ आउँदै गर्दा धेरै सर्वसाधारणको सहभागिताले रियल सेक्टरतिर बैंकले आफ्नो लगानीलाई मोड्ने उनको भनाइ छ।
‘यसले रियल सेक्टर बढाउन पनि सहयोग पुग्नेछ’, उनले भने।
यसको अर्को सकारात्मक पक्ष भनेको यसैका कारण कतिपय नयाँ लगानीकर्तालाई नयाँ डिम्याट खाता खोल्न प्रेरित गरेको छ।
‘हातै खाली नजाने गरी आईपीओ पर्ने भएकाले सर्वसाधारणमा चासो छ’, श्रेष्ठ भन्छन्, ‘त्यसले गर्दा उनीहरुलाई नयाँ डिम्याट खोल्न प्रेरित पनि भएको हुनसक्छ।’
‘निफ्राकै कारण धेरै डिम्याट अकाउन्ट खोलिएका होइनन्’
यसले नेपालको पुँजीबजार प्रचारप्रचारमा सहयोग गरे पनि ठूलै प्रभाव नपार्ने कतिपय विज्ञको भनाइ छ। अहिले पनि कतिपय बैंकहरुको पुँजी २० अर्बभन्दा माथि भइसकेको अवस्थामा निफ्राको प्रवेशले तत्कालै खासै ठूलो प्रभाव नपर्ने भट्टराईको मत छ।
‘निफ्राकै कारण डिम्याट अकाउन्ट खोलिएको छ भन्नु उपयुक्त हुँदैन’, उनले भने, ‘पछिल्लो एक वर्षदेखि पुँजीबजारमा नयाँ पुस्ताको प्रवेश तीव्र छ।’
हुन पनि एक वर्षअघि डिम्याट खाता खोल्लेको संख्या १३ लाख थिए भने अहिले २५ लाख पुगिसके। कोरोना महामारीको लकडाउनको फुर्सद र पुँजीबजारमा अनलाइन कारोबार भइरहेको कारणले नयाँ पुस्ताको आकर्षण बढ्दै गएको छ।
जुन बेला पुँजीबजार अत्यन्तै तल पुगेको थियो त्यो बेला धेरै नै नकारात्मक प्रचार पनि भयो। कहिलेकाहीँ नकारात्मक प्रचारले सकारात्मक प्रभाव पर्ने भएकाले त्योे बेला पनि लगानीकर्ताहरु धेरै नाफा कमाउने उद्देश्यले बजारमा प्रवेश गरेका हुनसक्ने उनको भनाइ छ।
नेपालको जनसंख्याको हिसाबले हेर्दा युवाको संख्याको ७५ लाखसम्म डिम्याट अकाउन्ट पुग्नसक्ने स्थिति छ। हालसम्म जम्मा २५ लाख पुगेकोले मात्र उपलब्धि मान्न नसकिने उनले बताए।
कर्जा प्रवाहमा बैंकको एकाधिकार कम हुँदै
पछिल्लो समय पुँजीबजार पनि स्रोत परिचालन गर्नको लागि ठाउँ हो भन्ने स्थापित हुँदै छ। जसले गर्दा ठूलो लगानीमा कर्जा प्रवाहमा बैंक तथा वित्तीय संस्थाको मात्र एकाधिकार तोडिँदै जानेछ।
राम्रो कम्पनी बनाएर पारदर्शिता कायम गर्न सकेमा प्रिमियम भ्यालुमा वा बुक बिल्डिङमा पनि बजारबाट पैसा उठाउन सकिन्छ भन्ने कुरा स्थापित हुँदै छ। यसो भएमा बैंक तथा वित्तीय संस्थाले कर्जा दिने एकाधिकार पनि तोडिने भट्टराईको भनाइ छ।
‘पहिले पुँजीबजारमा गएर पुँजी उठाउँछु भन्ने अवस्था थिएन’, भट्टराईले भने, ‘यो उपलब्धि हासिल गर्नतर्फ हामी गइरहेका छौँ।’
यो एक प्रचार गर्ने मौका भएको र अझ धेरैलाई आबद्ध गराउन सक्यौँ भने कर्जा उठाउन र स्रोत परिचालन गर्ने ठाँउ पुँजीबजार पनि हो भन्ने स्थापित गराउन सकिने उनको भनाइ छ।
पहिले केही होटल र हाइड्रो पावरमात्र पुँजीबजारमा आएका थिए। अहिले शिवम् सिमेन्ट जस्ता उत्पादनमूलक उद्योगहरु पनि सेयरबजारमा छन्।
पहिले बैंक तथा वित्तीय संस्थाले कर्जा दिने एकाधिकार थियो। कुनै पनि व्यापार व्यवसाय गर्दा पुँजीबजार जान्छु भन्ने ठाउँ थिएन। बैंक तथा वित्तीय संस्थामा गएर कर्जा लिनुपथ्र्यो।
‘यसले सकारात्मक संकेत देखाएको छ’, भट्टराईले भने, ‘बैंक तथा वित्तीय संस्थामात्रै स्रोत परिचालन गर्ने संस्था होइनन्, पुँजीबजार पनि हो भन्ने स्थापित हुँदै छ।’
भर्खर सेयरबजारमा प्रवेश गर्दै हुनुहुन्छ? यो पनि पढ्नुहोस् :
- सेयरबजारबाट राम्रो नाफा कसरी लिने? लगानीकर्तालाई ६ सुझाव
- १० कित्ता आईपीओ बेच्दा फाइदा कि होल्ड गर्दा?
- सेयरबजारमा ‘सर्ट–टर्म ट्रेडिङ’ गर्दै हुनुहुन्छ? यी कुरामा ध्यान दिनुहोस्

प्रतिक्रिया